पछिल्लो निर्वाचनको परिणामले संसदमा सबैभन्दा ठूलो राजनीतिक दलका रुपमा स्थापित नेपाली कांग्रेस र दोस्रो ठूलो दल एमाले यतिबेला निकै ठूलो छटपटीमा देखिएका छन् । यी दुबै पार्टीको अवस्था पुच्छरमा गोली लागेको जनावरको जस्तो छ । यिनका सबै अंग–प्रत्यंग र शारीरिक र मानसिक अवयव शिथिल देखिएका छन् । कांग्रेस सरकारमा छ । सत्ता देखेर ¥याल चुहाउँदै सिंहदरवारको ढोका कतिबेला खुल्ला भनेर ढुकेर बसेको छ एमाले । उता, कांग्रेसकै समर्थनको बलमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नेतृत्व गरेका छन् । उनलाई आफनो गन्तब्य थाहा छ । आफना अप्ठेराहरुको पनि ज्ञान छ । बेला बेलामा जानी जानी भड्किने उनको बानीले उनलाई अप्ठेरोमा पार्न सकेको छैन । साँच्चै हो, प्रचण्ड कुदरती छन् । राजनीतिमा आँट र सामथ्र्य, शीप र कारिगरी, प्रकृति र प्रेमलाई खेलाउन सक्ने विलक्षणता रहेको छ उनीमा । यी गुणहरुका कारण उनी चलायमान भएका छन् ।
प्रधानमन्त्री प्रचण्ड स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर आपूmले ठूलो गल्ती गरेको बिस्मात र पश्चाताप गर्दछन् गिरिजाप्रसाद कोइराला विश्व विद्यालयको समारोहमा । उनी यो गल्ती कबुल गर्दछन् । गिरिजाप्रसाद कोइराला बाहेक अरु पनि थुप्रै व्यक्तित्व छन् । अर्थात, कांग्रेसका लागि अतीतमा गरेको राजनीतिक योगदानको ‘मान’ खाने साइडलाइन थुप्रैछन् । तर, व्यवहारिक राजनीतिमा यस्ता साइडलाइनका कुनै अर्थ हुँदैनन् ।
पहिलो जन–आन्दोलनले निर्दलीय पञ्चायत हटाएर संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको जरो गाडे पनि परिवर्तनका दुई प्रमुख पार्टी कांग्रेस र एमालेले राजनीतिक पद्धति र प्रणाली मिलाउन सकेनन् । हिजो राजाले चलाएकै फ्रेममा कांग्रेस एमालेले लोकतन्त्र चलाउन खोजे । गिरिजाप्रसाद कोइरालाले आपूm जन निर्वाचित प्रधानमन्त्री भएपछि राष्ट्रिय योजना आयोगको सभागृहमा बी.पी. कोइरालाले भन्नु भएजस्तो गरीब किसानको तस्वीर झुण्ड्याए । पछि थाहा भयो – फ्रेमभित्र गरीब किसानको तस्वीर थिएन । ठाउँ खाली थियो ।
राजनीतिक दलहरुको सिद्धान्तहीन र सत्तालोलुप चरित्रका कारण अस्थीर बनेको अहिलेको अवस्थामा प्रचण्डको नेतृत्व अपरिहार्य बनेको छ । क्रान्तिकारी नेताका रुपमा देशभित्र उनको क्षमता र छविको कडा आलोचना हुने गरेको भएपनि उनको अन्तर्राष्ट्रिय साख यथावत रहेकोछ । उनको सरकारले शुरु गरेको भ्रष्टाचार बिरुद्धको अभियानले अन्तर्राष्ट्रिय चर्चा पाएको छ । अन्तर्राष्ट्रिय जगतमा इण्डो प्यासिफिक र चीन – दुबै रणनीतिलाई समान रुपले हाँक्नसक्ने ठहरिएका छन् प्रधानमन्त्री प्रचण्ड । विवाद, हिंसा र प्रतिहिंसाको दावानलमा संसार सल्किइ रहेको बेला नेपालबाट केही नयाँ प्रारम्भ होस् भन्ने चाहना सबैले राखेको देखिन्छ ।
नेपालको हकमा, यतिवेला कांग्रेस, एमाले, माओवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, जनमत, राप्रपा र नवागन्तुक राष्ट्रिय स्वतन्त्र पार्टी सबै संसदमा छन् । कांग्रेसको हातमा रहेको सत्ताको साँचो प्रधानमन्त्री प्रचण्डको मजबूत पकडमा छ । पछिल्लो समय नेपाली राजनीतिमा देखा परेको यो एकदमै नौलो र अनौठो अवस्था हो । यो अवस्था ल्याउनका लागि प्रथमतः सभापति शेरबहादुर देउवा नै जिम्मेवार छन् । आफनो हातमा रहेको सत्ताको साँचो अर्को पार्टीको नेताको हातमा सुरुक्क दिनुपर्ने यो अवस्थामा कांग्रेस किन र कसरी पुग्यो ? के सभापति देउवाले कहिल्यै आत्ममन्थन गरेका छन् ?
कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालापछि मात्र कांग्रेस सभापतिमा निर्वाचित हुने अवसर पाएका शेरबहादुर देउवाले अहिलेसम्म सत्ता प्राप्तिको प्रयोजनका लागि मात्र पार्टीलाई प्रयोग गरेका छन् । आपूm सभापति नरहँदा पनि देउवाले २०५२ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको मिलेमतोमा कामरेड मनमोहन अधिकारी नेतृत्वको ‘अल्पमतको सरकार’ गिराएर आफनो नेतृत्वमा सरकार गठन गरेका थिए । अहिले उनले संसदमा रहेका नेपाली कांग्रेसका ८९ सदस्यको अख्तियारी प्रचण्डको नेतृत्वमा सरकार बनाउन दिएका छन् ।
सभापति देउवाले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको यो अख्तियारी आफ्नै मनोज्ञानले दिएका पक्कै होइनन् । त्यसो हुन्थ्यो भने चुनावपछि प्रचण्डले एमालेको समर्थनमा सरकार बनाउन पर्ने थिएन् । उनले राष्ट्रिय सहमतिको कुरा उठाउँदै आएका थिए । एमालेसँग मिलिजुली सरकार बनाएपछि पनि उनले राष्ट्रिय सहमतिको कुरा छुटाएनन् । राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमतिको नारा प्रभावकारी भयो । रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभयो । राष्ट्रपति पदमा रामचन्द्र पौडेलको विजय शेरबहादुरका कारण होइन, प्रचण्डका कारण भएको हो । प्रचण्डले खेलेको राष्ट्रिय सहमतिको पाशाले सभापति देउवा रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन बाध्य भए । सत्य यही हो ।
कुनैपनि राजनीतिक पार्टीको सभापति वा अध्यक्षमा निर्वाचितहुने नेताको कर्तव्य विधि सम्मत हिसावले पार्टी संचालन गर्नु हो । पार्टी सभापति वा अध्यक्षको काम पूर्णकालीक हुनुपर्दछ । अधिकांश लोकतान्त्रिक देशमा नेपालको जस्तो पार्टी सभापति नै प्रधानमन्त्री हुने चलन छैन । तर, नेपालको कुरा बेग्लै छ । यो देशमा पार्टी र सरकार दुबैतिरको म्याण्डेट लिएपछि जे गर्दा पनि हुन्छ भन्ने अवधारणा स्थापित गरिएकोछ । त्यसैले पार्टीको नेतृत्वमा जो रहेको हुन्छ त्यो नै संसदीय दलको नेता हुन्छ । उसको बिरुद्ध प्रतिस्पध्र्दामा उत्रिन चाहने अरु कसैले स्रोत र साधनको जोहो नै गर्न सक्दैन । यो चलन माथि–देखि तलसम्म चलेको छ । राजनीतिमा लागेको कुनैपनि व्यक्ति जतिसुकै योग्य कार्यकर्ता भएपनि उसको टाउकोमा नेताहरुको ‘वरदहस्त’ परेन भने उसको उन्नतिको बाटो रहँदैन । गएको निर्वाचनका समयमा नेताहरुको ‘छडके नजर’कै कारण कांग्रेसका कतिपय समर्थ नेताहरु स्थानीय, प्रदेश र संघीय तहका पार्टी नेतृत्वबाट हताहत भए त्यसको लेखाजोखा गर्नु सजिलो छैन । यो चलन कांग्रेसमा व्यापक छ ।
पहिलो राष्ट्रिय जन–आन्दोलनपछि नेपाली कांग्रेस पार्टी कसैका लागि बपौति, कसैका लागि अपुताली, कसैको अंशियारी र कसैको जमिन्दारीका रुपमा प्लटिंग गरिएको छ । जो सिध्दान्ततः कांग्रेस हो, उसका लागि पक्कै पनि राजनीतिगर्ने ठाउँ खुम्चिएको छ । त्यति लामो इतिहास, आदर्श र जीवनमूल्य बोकेको कांग्रेसको यो अवनतिको कारण के हो ? कांग्रेसका प्राज्ञिक भनेर परिचित महानुभावहरुले मनन र मन्थन गरेर निष्कर्ष निकाल्न सकेभने कांग्रेसको लागि राम्रो हुने थियो । आत्मालोचना नगर्ने, आलोचना नसहने र आफनो स्वार्थमा चुर्लुम्म डुब्ने नेताहरुका कारण कांग्रेसको गतिशील स्वभाव अवरुध्द भएकोमा कुनै शंका छैन । नेता भनेका राजा होइनन । अझ, नयाँ जमानाका नयाँ नेताले राजशी ठाँटको खोजीगर्नु भ्रष्टाचारको प्रारम्भ हो ।
पछिल्लो समयमा प्रचण्ड नेतृत्वको मिलिजुली सरकारका बिरुध्द कांग्रेसभित्र केही प्रभावशाली छलफल भएका छन । आफनै पार्टीको समर्थनमा बनेको सरकारका बिरुध्द दलका नेताहरुको गुटुर–गुटुर सुनिनुका खास कारण देखिदैनन । यो कुरा कांग्रेसीहरुले बुझनैपर्छ कांग्रेसमा आपूmलाई ‘प्रभावशाली’ ठान्ने जो जति नेताहरु निर्वाचित भएर आएका छन ती सबै मन्त्री पदका आकांक्षी छन । मन्त्री नबनेसम्म स्वर्गको ढोका नखुल्ने किम्बदन्तीमा अडकिएकोछ तिनको जीवन । मन्त्री परिषदमा ठाउँ भै दिएको भए प्रधानमन्त्री प्रचण्ड कांग्रेसको, आफनै पार्टीका सदस्यहरुको वा मिलिजुली समूहका सबैको मन्त्री–पदीय आकांक्षाको ‘एडजष्टमेन्ट’ मा लाग्नु हुन्थ्यो पनि होला । तर अहिलेका लागि संबैधानिक हिसावले पनि जनताभन्दा धेरै मन्त्री बनाउनु सम्भव भएन ।
‘प्रचण्ड’ कामरेडहरु जतिबेला युध्दरत थिए त्यतिबेला तिनका बिरुध्द बीष वमनगर्ने अराजनीतिक प्राणीहरु अहिले प्रचण्ड नेतृत्वप्रति वफादार रहेको देखिन्छन भने शान्तिवार्ताका समयमा प्रचण्डसंग काम गरिसकेका कांग्रेसका नेता शेखर कोइराला र उनीसंग जोडिएका केही मानिसहरुमा मन्त्री पदको चाहना अविचलित रहेको देखिन्छ । कांग्रेसका सदावहार युवानेता गगन थापाका बारेमा यसै भन्न सकिदैन । उनी सभापति देउवाको बिरुध्द छन कि प्रधानमन्त्री प्रचण्डको ? यो कुरा थाह हुन सकेको छैन । धेरैलाई यो कुरा थाह छैन होला ः प्रधानमन्त्री प्रचण्ड र गगन थापाका बीच राजनीतिक रुपले सुमधुर सम्बन्ध रहेको छ । प्रधानमन्त्री गगनलाई मन्त्री बनाउन तयार हुनुहोला । तर, गगन मन्त्री मात्रै बन्न तयार छन त ?
धेरैलाई यो कुरा थाह छैन ः नेता शेखर कोइराला र गगन बीचको मेलमिलाप टुंगिइ सकेको छ । गगन एकपटक मन्त्री बनी सके । स्वास्थ्य मन्त्रीका रुपमा उनले काम गरेर देखाए पनि । शेखर मन्त्री बन्ने मूडमा छैनन । देशभरि रहेका गिरिजाप्रसाद कोइरालाका अनुयायीहरु, बिशेषगरी सुनसरी–मोरंगका कार्यकर्ताहरु ‘सानोबुवा’ गिरिजाप्रसाद कोइरालाको उत्तराधिकारीका रुपमा शेखर स्थापित भएको हेर्न चाहन्छन । शेखरले बेला बेलामा आपूmलाई कोइराला परिवारको उत्तराधिकारीका रुपमा प्रस्तुतगर्न नचाहेको देखाएपनि उनलाई आफनो बास्तबिक स्थानको ज्ञान छ । जसरी अहिले भारतीय जनताले भारतीय कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री स्वर्गीय राजीब गान्धीका छोराका रुपमा राहुल गान्धीलाई हेरेका छन त्यही ‘नजरिया’ ले शेखर कोइरालालाई हेर्ने नेपालीहरुको पनि कमी छैन । शेखर प्रधानमन्त्री भए के गर्नेछन ? अथवा, गगन प्रधानमन्त्री भए के गर्नेछन ? हिजो प्रधानमन्त्री भएकाले के गरे ? यो प्रश्नको जवाफ कतैबाट आउँदैन ।
माओवादीका अध्यक्ष प्रचण्डलाई कांग्रेसका सभापति देउवाले काँध थापेका छन । तर, माओवादी र कांग्रेस दुबैले एक अर्काप्रति भरोसागर्न सकेको देखिएको छैन । सभापति देउवाका लागि प्रचण्डसंगको राजनीतिक सम्बन्ध एकप्रकारको राजनीतिक बाध्यता बनेकोछ । उनी स्पष्ट बोल्न सक्ने अवस्थामा छैनन । उनी प्रचण्डले देशबाट भ्रष्टाचारको ‘दवदवा हटाउन’ चलाएको अभियानको बिरोधगर्न सक्दैनन । उनलाई यो कुरा स्पष्ट थाह छ ः प्रधानमन्त्री प्रचण्डको अभियानले दिल्ली, वाशिंगटन, पेकिंगलाई एकैसाथ तरंगित तुल्याएकोछ । र, सत्य पनि यही हो । यो काम देउवा र एमालेका अध्यक्ष खडगप्रसाद शर्मा ओलीले पनि गर्न सक्थे । उनीहरुले किन गरेनन ? जवाफ त दिनु पर्यो नि कसैले ।
