एकाबिहानै श्रीमती मेनु दुलालले टीका लगाइदिँदै भनिन्, ‘उता विश्वास दाइ भारतको गेरु वस्त्र लगाएर महाकालेश्वर धामबाट फर्केर पशुपति पुगिसके । तिमी भने किन नास्तिक ?’ त्यसैबेला चितवन २ का राप्रपा सांसद उम्मेदवार रविन अधिकारीले भने, ‘तिम्रा अध्यक्ष त हाम्रो लाइनमा आइसके, तिमी भने किन ठयाइँठ्याइँ हँ ?’ एमाले युवानेता भीम ओलीले दिउँसो सुनाए, ‘सबै पार्टी र नेता एकैखाले भएपछि राजनीतिप्रति वितृष्णा भयो, निराशा जाग्यो । यसको परिणाम आगामी चुनावमा अझै देखिनेछ ।’ यी सामान्य गफगाफका विषय मात्र थिएनन्, समाजका प्रतिनिधि पात्र बोलिरहेका थिए । अहिले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई लिएर मेरा आफन्त मात्र हैन, समाजमा अनेकौँ तर्क, विचार, आग्रह, सोच छताछुल्ल भएर बाँडियो । समर्थन वा विरोधमा समाज कित्ताबन्दी भयो । माओवादी अध्यक्ष नभई नेपालको प्रधानमन्त्रीको हैसियतले उनको भारतको औपचारिक भ्रमण थियो भनेर व्याख्या विश्लेषण हुनुभन्दा उनीप्रतिको आग्रह हाबी भए । यसै विषयमा बिनाआग्रह एउटा विद्यार्थी वा अनुसन्धानकर्ताको रूपमा छोटो चर्चा गर्नेछु ।
कम्युनिस्ट प्रचण्ड बुर्जुवा आदर्शमा पनि टिक्न नसकेपछि पुष्पकमल दाहालमा फेरिएको जगजाहेर छ । हरेक सिद्धान्तले सोहीअनुसारको जीवन व्यवहारको माग गर्छ । कतिपय उनका निजी कारण, तोडिएका सम्बन्ध र सोच फेरि जोडिनुको कारण, आदेशले समाज खजमजिन त सक्छ, फेरिन भने सक्दो रहेनछ भन्ने स्वीकारोक्ति एउटा हुन सक्छ । अर्को, समाजको चेतनास्तरमा धेरै अगाडि जान सकिँदो रहेनछ भन्ने विश्वासका कारण उनी पछाडि फर्केका हुन् सक्छन् । त्यसै पनि असफल क्रान्तिको इतिहासबोध पीडादायी हुन्छ । परिवर्तनलाई अस्वीकार गर्ने एउटा शक्तिशाली तप्कासँग सहकार्य गर्नुपर्ने उनको विवशता छ । विद्रोहताका दर्शनका आदर्श फलाक्न त पाइन्छ तर सत्ताधारी बन्दा त्यसैलाई निरन्तरता दिन भने सकिँदैन । कसैले कसैलाई परास्त गरेर नभई ‘वीन–वीन’ सहमतिले माओवादी सत्तामा पुगेको मात्रै हो । राज्य सबैखाले सोचले बनेको हुन्छ । कुन पछ्याउने भन्ने कुरा हो । विरोधी र दुस्मनका नजरमा जो मान्छे सान्दर्भिक हुन्छ, आलोचना, बहस र विरोध पनि उसैमाथि केन्द्रित हुन्छ ।
युद्ध र शान्तिका विगत तीन दशकका भूमिकाले प्रचण्डप्रति धेरैका धारणा बने, भत्किए र फेरि नयाँ बने । उमेर छिप्पिँदा धारणा र मान्यतामा पनि बुढ्यौली लाग्दै जान्छन् । धारणा बन्न र बनाउन जति सहज हुन्छ, भत्काउन त्यतिकै कठिन । प्रचण्डमातहतका नेता र कार्यकर्ताको एउटा हिस्सामा उनको नायकत्वको विश्वास टुट्यो । त्यसैले म पनि बितेको ७ वर्षदेखि पार्टीमा छैन । ५० को दशकदेखि क्रियाको केन्द्रमा उनी छन् भने अरु प्रतिक्रियामा । ‘जनयुद्ध’ बहसको विषय हो, तर उनको केन्द्रीय भूमिकाले सरकार मात्रै हैन, सत्ताको चरित्रै फेरियो । त्यही फेरिएको सत्ता–चरित्र उपभोग हाम्रो समाजले गरिरहेको पनि छ । भूमिका अनुसार परिचय र जीवन अभ्यास फेरिँदै जान्छन् ।
गेरु वस्त्रधारी प्रचण्ड
रहेछ संसार निशा समान,
आएन ज्युँदै रहँदा नि ज्ञान ।
आखिर रहेछ श्रीकृष्ण एक,
न भक्ति भो, ज्ञान, न भो विवेक ।
– लक्ष्मीप्रसाद देवकोटा
हुन त उनी भन्लान्– तिमी तिम्रो तरिकाले विश्लेषण गर, म मेरै तरिकाले हिँडछु । तर, तर्कले परिणामलाई प्रभाव पार्न सके पनि उल्ट्याउन भने सक्दैन । केहीले जीवनको उत्तराद्र्धमा प्रचण्डमा पनि परिपक्वता आएको भन्न थाले भने कसैले विचलन । उनलाई माक्र्सवादी चस्माले, बुर्जुवावादी नजरले, धार्मिक आचरण, सत्ता निरन्तरताको नेताको रूपमा अथवा लोकप्रिय मतका लागि भिड राजनीतिको चतुर खेलाडीका रूपमा व्याख्या हुन थालेका छन् । युद्धबाट शान्तिपूर्ण राजनीतिमा आएर सरकार प्रमुख बनेका प्रचण्ड बहसको केन्द्र बन्नु र आग्रह अनुसारको धारणा बन्नु स्वाभाविक हुन्थ्यो । दृश्य कहाँबाट कुन चस्मा लगाएर हेर्ने ? त्यसैअनुसार वस्तुको आकार, प्रकार र सौन्दर्य देखिन्छ । विषयलाई विद्यार्थी वा अनुसन्धानकर्ताको नजरबाट हेर्ने कि ? बनेका वा बनाएका धारणाले नियाल्ने ? जीवन र भूमिकामा उनले विश्वास, निर्माण र प्रचण्डजस्ता अर्थपूर्ण नाम उपयोग गरे । भूमिकाअनुसार नै राजनीति, संस्कृति, धर्म, विचारमा तर्कना हुन्छन् । गेरु वस्त्रधारी प्रचण्डलाई अभिजात तप्का र धर्मान्धहरूले स्वीर्कानुपथ्र्यो, स्वीकारेनन् । सिद्धान्तनिष्ठ वा सम्बन्ध तोडेका हिजोका सहयोद्धा वा कार्यकर्तालाई भने प्रचण्डको रूप वज्रपातै भयो ।
अभिजात र गणतन्त्रका कुरा
हरेक समाजको मानसिकतामा अभिजात वर्ग निर्णायक भूमिकामा रहन्छ । परिवर्तनलाई प्रथम प्रहरमा ऊ स्वीकार्दैन, फेरिएको व्यवस्थाको हस्ताक्षरसँगै क्रमशः बाध्यात्मक परिस्थितिले गर्दा स्वीकार्न विवश हुन्छ । समय बित्दै जाँदा परिवर्तनलाई जीवन व्यवहार बनाउँदै पनि जान्छ । शहीद अर्काको घरमा जन्मियोस्, त्याग, कष्ट, अभाव र तनाव अरुले नै भोगून् तर परिवर्तनको पहिलो हकदार आफू हुन पाऊँ भन्ने एउटा थप तप्का समाजमा भइरहन्छन् । सन् १७८९ मा फ्रान्सेली राज्यक्रान्ति भए पनि अझै त्यहाँ एउटा सानो समूह गणतन्त्रको विरोध र राजतन्त्रको पक्षमा हरेक वर्ष सडकमा देखा पर्छ । समाजमा रगत देख्न नचाहने तर सेकुवा अत्यन्तै मन पराउने ‘शाकाहारी’ समूह पनि हुन्छ ।
हाम्रो चेतनालाई आवेगमा ल्याउने आग्रह हाम्रो मस्तिष्कको हार्डडिस्कमा सुरक्षित हुन्छ । त्यसले धारणा बनाएर भूमिकामा उतार्छ । १० वर्षे उथलपुथलकालमा खजमजिएको समाजमा प्रत्यक्ष वा परोक्ष आग्रह हावी भए नै । समकालीन राजनीतिको निरन्तरता नभई यो क्रमभंग काल थियो । त्यसले राजनीति मात्रै नभई सामाजिक, आर्थिक र सांस्कृतिक रूपमै फेरबदल ल्यायो । सामाजिक सौन्दर्य र जनविश्वासमाथि हस्तक्षेप ग¥यो । ठालु सौन्दर्यका भाष्यमा चोटिलो प्रहार गरेको थियो । त्यसको चुचुरोमा प्रचण्ड थिए । जुन चिन्तन, अभ्यास, मान्यताका अगुवाइ उनले गरे, त्यसैमा टिक्न नसकेपछि समर्थकको उग्र प्रतिक्रिया हुन्थ्यो भने विरोधी त्यसै छिद्रमा खेल्ने नै भए । संसारमै सत्ताले विद्रोहीलाई पचाइदिन्छ र भ्रष्ट पारिदिन्छ । सत्तामा पुगेर आदर्श बचाउन सक्ने इतिहासमा थोरै मात्र क्रान्तिकारीहरू रहे ।
निष्पक्षता र जिज्ञासा
मान्छे निष्पक्ष हुन सक्दैन, आग्रही सोचले धारणा बनाएर भूमिकामा उत्रिन्छ । समूह वा व्यक्ति स्वार्थले जिज्ञासु विद्यार्थी बन्न सक्दैन । बनिसकेका धारणा मस्तिष्कको हार्ड ड्राइभमा संकलित सोच भत्कन र भत्काउन औधी कठिन हुन्छ । विषय प्रधानभन्दा भावना प्रधान बन्न पुग्छ । मान्छे नित्य नयाँ त बन्छ, नयाँ बन्न सूचना, संगत, विकसित परिस्थितिले महत्व राख्छन् । विकसित घटनाक्रमलाई किन र कसरीको उत्तर खोज्न चाह्यो भने मात्र कुरो भित्रको चुरो पहिल्याउन सकिन्छ । तर, भिडमा बनिरहेको मान्छे नित्य नयाँ बन्न सक्दैन । सहमतिमा हिम्मत र विमतिमा विवेक प्रयोग गर्नु सामान्यजनलाई मुस्किल कर्म हो ।
तीव्र उथलपुथलको समयमा इतिहासले नायकको रूपमा व्यक्तिलाई भूमिकामा उतार्छ, कालान्तरमा तिनै व्यक्ति इतिहासलाई प्रभाव मात्रै पार्दैनन्, नायक वा खलनायक पनि बन्न सक्छन् । एउटा मानिस भित्र अनेकौँ मान्छे एकैपटक सक्रिय हुन्छन् । उसका विगत पनि सँगै जीवन यात्रामा हुन्छ । मान्छेले इतिहास बिर्सन चाहे पनि इतिहासले मान्छेलाई भने बिर्सदैन । यसैका आधारमा सडकदेखि सदनसम्म, प्रचण्डका जनयुद्धकालीन सहयोद्धा र कार्यकर्ता, सहकर्मीदेखि प्रतिस्पर्धी, विरोधी र दुस्मनका धारणा बन्नु भत्कनु, क्रिया प्रतिक्रिया आउनु स्वाभाविकै थियो । एउटै व्यक्ति भिन्नभिन्न व्यक्तिका लागि एकैपटक नायक वा खलनायक बन्न सक्छ । सत्य, सत्य नै भए पनि ग्रहण गर्नेमा भर पर्छ ।
यसरी बुझ्छु म
नेपालमा कुनै पनि पार्टी कम्युनिस्ट सिद्धान्त, विचार, आदर्श र भूमिकामा छैनन्, ट्रेडमार्किया मात्र छन् । तब भौतिकवादी चिन्तनले प्रचण्डको धार्मिक चियोचर्चा गरेर उछितो काढ्नुको कुनै अर्थ र औचित्य छैन । जो कम्युनिस्टका चस्माले जीवन र जगतलाई नियाल्छ, उसको भूमिका सुविधाको सिद्धान्तअनुसार राजनीति, संगठन र सरकार चलाउने जान्दाजान्दै विरोधको कुनै तुक रहँदैन । यो यसै हुनुपथ्र्यो, भयो । अन्यथा, गेरु वस्त्रप्रति सरोकार राख्नु आग्रह, कुण्ठा र विरोध मात्रै बन्न जान्छ ।
धार्मिक र उग्र हिन्दुवादीले त अझ प्रचण्डको रुद्राक्ष गेरु वस्त्र धारणलाई स्वागत पो गरिनुपर्ने हो । तर, अवचेतन मस्तिष्कमा रहेको आग्रही चेतले त्यसलाई स्वीकारेन् । उनले जिन्दगीभर नै शंख फुके वा घन्ट बजाए पनि धार्मिक अतिवादीको बनिसकेको धारणा भत्काउन सक्दैनन्, यसले आफन्तलाई टाढा पु¥याउने मात्र हो । एउटा धर्मनिरपेक्ष देशको कार्यकारी प्रमुख बहुसंख्यकवादको मानसिक दबाबमा परेर कुनै धार्मिक संघ–संस्थामा औपचारिक भूमिका निभाउँदैनन्, निभाउनु हुन्न । भारतको फेरिँदो विश्व कूटनीतिमा हिन्दु अतिवाद महत्त्वपूर्ण हिस्सा बनेको हुँदा महाकालेश्वर दर्शन आतिथ्यता प्रदानकर्ताको इच्छामा भर पर्छ । उज्जैनमा खरानीले पूजा गरेपछि पशुपतिको दर्शन गर्ने हिन्दु मान्यताअनुसार प्रचण्ड महाकालेश्वरको जल चढाउन पशुपति गए ।
भारत अहिले सांस्कृतिक राष्ट्रवाद उन्मुख (हिन्दु तालिबानीकरण) छ । नयाँ बनेको संसद भवन उदघाट्नमा वैदिक इतिहासमा रहेको अखण्ड भारतको चित्र र सेङ्गोल राजदण्ड उसको विगतवादी र विस्तारवादी नीति छर्लङ्गिँदै छ । त्यसको प्रतिकार अफगानिस्तान, पाकिस्तान, बंगलादेश, भुटान, म्यानमार, बंगलादेशले गर्नुपर्छ र जनस्तरमा हुँदैछ पनि । यस ख्याली पुलाउ राष्ट्रिय स्वयंसेवक संघको एजेन्डा हो । भारतीय जनता पार्टी त उसको राजनीतिक अनुहार मात्रै न हो । मूर्ख र फासीवादीका लागि धर्म र राष्ट्रियता अन्तिम शरणस्थल हुन्छन् । शक्ति र धनाढ्य अत्यन्तै डरपोक भएर धर्मको शरणमा पुग्छन् । देशभक्ति र राष्ट्रियता फरक विषय हुन् । नन इस्युलाई इस्यु बनाएर बहसमा उत्रिनु भनेको गम्भीर इस्युलाई बहसबाट कटाएर अपराधी सुरक्षित गर्नु हो । देशद्रोह बनेको भुटानी नक्कली शरणार्थी प्रकरणलाई ओझेल पार्ने अपराधीको सिन्डिकेटको खेल नै गेरु वस्त्रधारी प्रचण्डको बहस चिया कपको तुफान हो ।
जब वामपन्थ मात्रै हैन, बुर्जुवा आदर्श र भूमिका पनि नभएका पार्टीहरू आफूलाई कम्युनिस्ट भन्छन् भने कम्युनिस्ट नजरबाट बुन सकिँदैन । त्यसैले माओवादीबाट धेरै उनका सहयोद्धा र कार्यकर्ता अलग भए । जब उनीसँग जे छैन भनिसकियो, त्यसैको आशा गरेर आलोचना गर्नुको कुनै अर्थ छैन ।
