महाभूकम्प गएको पनि ८ वर्ष पुगेछ ।२०७२ वैशाख १२ मा गएको महाभूकम्पको त्रासदीले अझै नेपालीको मन मष्तिस्कलाई छाडेको छैन । हिजोआज बेला–बेलामा सानातिना स्केलका भूकम्प आउँदा पनि कतै ठूलै भूकम्पको संकेत त होइन ? भन्ने आशंकाले जनमानसलाई पिरोल्ने गरेको छ । सम्झदा पनि मुटु काप्छ । २०७२ साल वैशाख १२ गते शनिबार मध्यान्हको करिब १२ बज्न लागेको थियो। अचानक जमिन हल्लियो। ठूलो झट्का आयो। भूकम्प आयो। करिब एक मिनेटसम्म धर्ती निरन्तर हल्लिरह्यो । गोरखाको बारपार्क केन्द्रबिन्दु बनाएर ७.८ रेक्टर स्केलको भूकम्प आयो। एक मिनेटमा नेपालको अवस्था कहाली लाग्दो बनाइदियो। नेपालको मध्य भाग बढी प्रभावित हुन पुग्यो। गोरखा, धादिङ, रसुवा, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर लगायतका १४ जिल्ला बढी प्रभावित हुन पुगे। फेरि बैशाख २९ गते ठूलो भूकम्प गयो ।
नेपाल धेरै पहिलेदेखि भूकम्प गइरहने क्षेत्र हो । अतीतका भूकम्पबारे धेरै तथ्यांक र प्रमाणको अभाव भए पनि गोपालराज वंशावली अनुसार वि.सं. १३१२ को भूकम्पमा तत्कालीन राजा अभय मल्लको मृत्यु भएको उल्लेख छ । उतिबेला भूकम्पलाई ‘भुइँचालो’ भनिन्थ्यो । अभय मल्ल मारिदाको भूकम्पमा धेरै देवल र घरहरू भत्किएको र तीन भागको एक भाग ‘प्रजाहरूको मृत्यु भएको’ भन्ने विवरण इतिहासविदहरूले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । भूकम्पका पराकम्पहरू निरन्तर रूपमा आइरहे। धर्ती हल्लेको हल्यै भयो । १९९० सालको ठूलो भूकम्प भोग्ने भन्दा सुन्ने व्यक्तिहरू धेरै थिए । भोग्नु र सुन्नुमा धेरै फरक हुन्छ । अहिलेका पुस्ताले सुनेका मात्र थिए। साना–साना भूकम्प आए पनि ती भूकम्पले त्यति ठूलो मानविय तथा भौतिक क्षती पु¥याएको थिएन। तर २०७२ सालको भूकम्पले ठूलो जनधनको क्षति भयो ।
भूकम्पले ढुंगा र माटोले बनेका घरहरू पूर्णरूपमा ध्वस्त भए भने ऐतिहासिक धरोहर, मठ, मन्दिर, पुरातात्त्विक सम्पदाको अस्तित्व नै मेटियो। नेपालको धरोहरको रूपमा रहेको धरहरा पूर्ण रूपमा क्षति हुन पुग्यो । भौतिक संरचना तहसनहस भए । कति मान्छे घरमै पुरिएर मरे। कति हिँड्दा हिँड्दै। धनी एकाएक सडकमा आइपुगे। अधिकांश घरबारविहीन भए । पालमुनि दैनिकी काट्न बाध्य भए। न खानको राम्रो व्यवस्था न सुत्नकै। कति व्यक्तिलाई आफन्त गुमाएको पीडा थियो। कति बेपत्ता, कति घाइते थिए । भूकम्पले कति सडक चिरा– चिरा परेका थिए । पहाड पनि चिरिएका थिए अनि पहिरोको डर । सुगम स्थानका भूकम्प पीडितले राहत चाँडै पाए तर दुर्गम स्थानकाले राहत पाउन कति समय कुर्नु प¥यो ।
खुला आकाशमा भोकै बस्नु परेको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, तथा विभिन्न संघ संस्था उद्धार कार्यमा खटेका थिए। दर्दनाक अवस्था थियो । सबै नेपालीको मन रोएको थियो । अस्पताल मृतकका लास र घाइतेले भरिएको थियो । एम्बुलेन्स तथा हेलिकप्टरबाट विभिन्न जिल्लाका घाइतेहरू काठमाडौं ल्याइएका थिए । भूकम्पका कारण ८ हजार ६ सय ३३ जनाको मृत्यु भयो भने करिब २२ हजार व्यक्तिहरू घाइते भए । ती प्रभावित जिल्लामा बसोबास गर्ने व्यक्तिहरूले नराम्रोसँग मानविय तथा भौतिक क्षति व्योहोर्नुप¥यो ।
बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अति प्रभावित भनी घोषणा गरेको थियो । भूकम्पले करिब नौ हजार मानिसको निधन भएको थियो । अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लामा गरी आठ लाख बढी निजी आवासमा क्षति पुगेको थियो । भूकम्पले करिब एक हजार ५०० सांस्कृतिक सम्पदामा क्षति भएको थियो । अति प्रभावित र प्रभावित जिल्लाका विद्यालय, स्वास्थ्य संस्था, सुरक्षा निकायका भवन, सडक र खानेपानी आयोजनामा भूकम्पले क्षति पुगेको थियो । आठ वर्षअघिको भूकम्पले क्षति पुगेका संरचनाको पुनःनिर्माण गर्न २०७२ पुसमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको स्थापना भएको थियो । विसं १९९० माघ २ गतेको भूकम्पको सम्झनामा सरकारले २०५६ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको थियो । दिवसका माध्यमबाट चेतना जागृत गराई भूकम्बाट सुरक्षित बनाउने सरकारको लक्ष्य हो ।
नेपाल भूकम्पीय जोखिमको क्षेत्रमा पर्दछ । त्यसपछि वि.सं. १४०१ मा गएको भुइचालोचाहिँ नेपालकै पहिलो ठूलो मानिन्छ । गोपाल राजवंशावलीमा सो भूकम्प दशैँको फूलपातीका दिन गएका उल्लेख छ । भूकम्पको भोलिपल्ट महाष्टमीका दिन राजा अरी मल्लको मृत्यु भएको ऐतिहासिक तथ्य पाइन्छ । राष्ट्रिय भूकम्प प्रविधि समाजको तथ्यांक अनुसार नेपालमा विक्रम संवत् १८९० मा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प जाँदा पनि धेरै मानिस मारिएका थिए । हालसम्म प्राप्त विवरण अनुसार वि.सं. १२८० देखि वि.सं. १९९० हुँदै २०७२ सम्म कुल ५० वटा भूकम्प गएको पाइन्छ । बैशाख १२ को त्यो विपतको घडीमा नेपालीलाई सहयोग गर्न विभिन्न देशबाट सहयोग आए तर सहयोग र राहत पनि धाधली भयो । त्यो भूकम्प पछि सरकार, विभिन्न संघ संस्थाको सहयोगमा अस्थायी घरमा बस्न थाले र विस्तारै स्थायी घरमा । तर अहिले ४ वर्ष पुगिसक्दा पनि सबै भूकम्प पीडितको स्थायी घर पाएका छैनन्। ४ वर्ष पहिले भूकम्पले भत्केका घरहरू अहिलेसम्म पुनर्निर्माण भइनसके जस्तै भूकम्पका पराकम्प पनि अहिलेसम्म निरन्तररूपमा आइरहेका छन्। बैशाख १२ सम्झदा अझै नेपालीहरु भूकम्पबाट त्रसित छन् ।
१९९० माघ २ मा गएको विनाशकारी भूकम्पको ८० वर्षपछि पहिलो पटक अत्यधिक शक्तिशाली भूकम्प थियो, वैशाख १२ को महाभूकम्प । शनिबार दिनको ११ बजेर ५६ मिनेटमा गोरखाको बार्पाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ९ रेक्टर स्केलको त्यो भूकम्प नेपालमा मात्र नभएर विश्वकै ठूलो भूकम्पको सूचीमा पर्छ । यो भूकम्पमा १० हजार बढी मानिस मरे । धरहरालगायत वसन्तपुर दरबार क्षेत्रका काष्ठमण्डपसँगै रानीपोखरी आदि अनेक विश्व सम्पदा भत्किए । धेरै मानिस घरबारविहीन मात्र भएनन्, धेरैले आफन्त गुमाए । २० थर्मो न्युक्लियर हतियारबराबरको मानिने यो भूकम्पले नेपाली समाजकै मनस्थितिमा हलचल ल्याएको थियो । भूकम्पपछिका पराकम्पनहरूले महिनौंसम्म मानिसलाई तर्साइरह्यो । अब कहिल्यै त्यो वैशाख १२ नआओस् ।
