केवल तिनै इतिहासकारलाई अतीतबाट आशाका ज्वाला भड्काउने वरदान प्राप्त हुन्छ, जो पूरै तरिकाले सजग हुन्छन् कि दुस्मनले यदि जित्यो भने त्यसमा हाम्रा मारिएका मान्छेहरू पनि सुरक्षित बच्ने छैनन् र दुस्मनले अझै चढाइ अभियान रोकेकै छैन । -वाल्टर बेन्जामिन
भूमिका र अवस्थासँगै उनले आफ्नो नाम फेर्दै गए । तर, विश्वास भत्किए, तोडिए, भाँच्चिए र च्यातिए पनि हामीले उनलाई ‘विश्वास’ दाइ भन्दै गयौँ । विगत २५ वर्षदेखि नेपाली राजनीतिको बहसको केन्द्रमा रहेका ‘प्रचण्ड’ पछिल्लो १६ वर्षदेखि संसदीय राजनीतिको ‘किङमेकर’ खेलाडी बने । ‘विश्वास’, ‘निर्माण’हुँदै प्रचण्ड बनेका पुष्पकमल दाहाललाई अहिले प्रचण्ड र दाहालको रिमिक्स गराउने चुनौती पछिल्लो अदालत प्रकरणसँगै थपिएको छ । केपी ओलीले जस्तै उत्तराधिकारी जन्माउन भने उनले सकेनन् । केपीको उत्तराधिकारी बनेर विद्या भण्डारी आउने भइन् तर प्रचण्डको उत्तराधिकारी को ?
प्रधानमन्त्री दाहालको नित्य नयाँ निणर्य लिन सक्ने र जोखिम उठाउन सक्ने परिचय र विशेषता बन्यो । भावनामा नबगी मित्र र वैरी समयअनुसार छान्न सक्नु कला र अभ्यास हो । त्यसलाई नेकपा एमालेका उदीयमान नेतृत्व केपी ओलीले बुझेरै नेपालगन्जको छैठौँ महाधिवेशनको समयमा मालेका संस्थापक केन्द्रीय सदस्य गोविन्द न्यौपानेमार्फत २०५४ मा प्रदीप नेपालले दमन श्रेष्ठको घरमा छलफल गरे । पोष्टबहादुर बोगटी ‘दिवाकर’को निर्देशनमा पङ्तिकारमार्फत कुरा भयो । स्वास्थ्यका कारणले ओलीलाई पहाड चढ्न असहज, सुरक्षा कारणले दाङ वा बर्दिया प्रचण्डका लागि असुविधा । त्यो प्रयत्नले मूर्त रूप लिन पाएन । त्यसपछि मात्र माओवादी नेतृत्वसँग प्रत्यक्ष राजनीतिक भेट रोल्पामा वामदेव गौतमको टिमले गरेको थियो ।
समय फेरियो, शक्ति सन्तुलन फेरबदल हुँदै गयो । राजनीतिक घटनाक्रम तीव्र वेगमा बढे । अनेकौँ प्रकारका अभ्यास र गठबन्धन बने, भत्किए । अब भने भर्खरकै कुरा गरौँ- धोका खाएकाले धोका दिन सक्छन् भन्ने हेक्का चतुर एमाले अध्यक्ष केपी ओलीले प्रचण्डसँग पढ्न सकेनन् । धोका दिनेलाई विश्वास दिलाएर देउवालाई जिल्याउँदै शक्तिमा फेरि प्रचण्ड पुगे । संख्याले साथ नदिँदा पनि कलाले शक्तिपासा पल्टाउन सके । शक्तिको केन्द्रीकरण गरेर मियोमा रहने ओलीको राजनीतिक क्यालकुलेटरले काम गरेन । तरिसके पछि कसैले पनि वेगमय नदी पार गराउने डुँगा नै हो भनेर म्वाइँ खाँदै किनारामा बसिरहँदैनन् । यात्री लम्किन्छन् । यो हेक्का उनले राखेनन् । शक्तिसँगै नजिकिएर झण्डै जनवर्गीय संगठन बनेका राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि राष्ट्रपति चुनावमा उनलाई साथ दिएनन् । पार्टीभित्रै पनि ओलीको पहिलो रोजाइमा सुवास नेम्वाङ र अष्टलक्ष्मी शाक्य थिएनन्, लोकप्रियताको अन्तिम तुरुप मात्र प्रयोग गरिएको थियो । त्यसअघि नै कांग्रेस र माधव नेपाललाई फ्याँकिएको तुरुप काम लागेन ।
ओली र प्रचण्डको उमेर घर्किंदैछ । आफन्त र सहयोद्धाले साथ छाड्दै गए । म पनि प्रचण्डसँगै रहन सकिनँ । प्रचण्डले न परिवारमा, न पार्टीमा नै उत्तराधिकारी जन्माउन सके । प्रदूषित सपनाका भारी बोकेका युद्धकालीन साथीहरू कम्युनिस्ट आन्दोलनको शुद्धीको राप अलापे पनि जीवनकथा र अभ्यासमा भने महाबुर्जुवाभन्दा कम देखिएका छैनन् । अभाव र तनावमा रहेको समाज, परिवर्तनको सुखभोग गर्ने तर परिवर्तनलाई नै धारे हात लगाउने जमातको आग्रह र आक्रमण प्रचण्डमाथि नै केन्द्रित थियो र छ । अभिजातले दुस्मन सोच्छन्, आग्रही निशाना बनाउँछन्, भुईंमान्छेले पत्याउन छोडे । युद्ध, विद्रोह र सामाजिक अन्तरविरोध र टसल फुट्टी थाहा नहुनेले गालीको सौन्दर्यकरण गर्ने भइहाले । द्वन्द्व व्यवसायीका रोजाइ शीर्षकको पहिलो व्यक्ति उनै हुन् । स्थायी सत्ता उनको पक्षमा छैन । सामरिक संवेदनशील भूगोलमा सबै रोगको कारक प्रचण्ड नै हो भन्ने सोच्ने भए ।
मान्छे त्यही रहे पनि भूमिका फेरिएसँगै चरित्र र परिचय भने फेरिन्छ । समयसँगै फेरिने कि परिस्थितिलाई अनुकूलतामा फेर्ने भन्ने प्रश्न सामुन्ने उभिन्छ । वैज्ञानिकहरू अनुसन्धानलाई परिणाममा पुरानै तरिकाले र्पुयाउन सकेनन् भने न अनुसन्धान छोड्छन्, न प्रयोगशाला ध्वस्त । बरु नयाँ तरिका खोज्छन् । समाज परिवर्तन अरूभन्दा फरक हुन्छ । तर, कसले के भन्छ भन्दा पनि के गर्छ भन्ने समाजसँग सूक्ष्म दृष्टि हुन्छ ।नैतिक पुँजीसहितको इच्छाशक्ति हिजो प्रचण्डको परिचय थियो । जब एउटा मान्छेले देखेका सपना एकैपटक समूह वा समाजलाई देखाउन सक्छ, तब त्यो विद्रोह अन्दोलनमा फेरिएर युगान्तकारी घटना बन्छ । व्यक्ति नायकमा फेरिन्छ । सिद्धान्तको राजनीति सुविधाको राजनीतिमा फेरिएर बुजुर्वा आदर्शमा पनि टिक्न सकेन भने सपना ध्वस्त हुन्छन् ।
नोस्टाल्जिया
अहिले पुराना कुरा सम्झिरहेको छु । मलाई फेरि नोस्टाल्जियाले सताइरहेको छ । जनयुद्धको केन्द्र पश्चिम नेपाल थियो । धम्बोझी नेपालगञ्जको मेरो घर सेल्टर र मित्र एग्रो पसल अघोषित हेडक्वार्टर । २०४९ सालमा जनयुद्धको तयारी क्रममा नेपालगञ्ज पुग्दा प्रचण्डलाई १९९३ मार्चमा प्रकाशित हिमाल अङ्कको स्टेफिन यफ माइकसेलको लेख र प्रो। अभयकुमार दुबे लिखित क्रान्तिका आत्मसंघर्ष (नक्सलवादी आन्दोलनका उद्भव, विकास र विखराव) पुस्तक दिएँ । समयले ती दुवै लेखको अवस्थामा अहिले माओवादी पुगेको छ । १३ वैशाख २०६३ पछिको कुरा हो- सबभन्दा ज्यादा छापिने पुस्तक र पत्रिका माओवादीका हुन्थे तर सबभन्दा कम पढिन्थे । युद्धका चरित्र र एसाल्ट ग्रुप फेरिएसँगै सबैको दौड सिंहदरबारतिर भयो । अहङ्कारको व्यवस्थापन हुन सकेन । दर्जनौँ एफएम रेडियो बन्द हुँदै गए । ८० हजार प्रतिभन्दा ज्यादा छापिने जनादेशलगायत पत्रिका बजारमा थिएनन् । मिडिया कर्म नगर्नेहरू क्रान्तिकारी पत्रकार र नेता बने । मिडियामा नयाँ भाष्यकार खोजिँदै थियो ।
आलोचनात्मक चेतले असल कार्यकर्ता बन्ने सुविधा मलाई दिँदैनथ्यो । जनार्दन शर्मा ‘प्रभाकर’ साक्षी छन् । मैले प्रचण्डलाई सोधेको थिएँ, ‘कमरेड अध्यक्ष, जनयुद्धको धरापबाट त उम्कियो तर मनोयुद्धको एम्बुस छिचोल्न भने सकिएन, हैन त ? उनको जवाफ थियो, ‘समय र आन्दोलनको चरित्र बुझ्न नसक्दा मनोयुद्धबाट त तपाईं पो ग्रसित हुनु भो त ।’ नेतृत्वसँग सवालजवाफ गर्नु ‘आ बयल मुझे मार’ हुन्छ भनेझैँ चुप रहनु नै उपयुक्त हुन्थ्यो ।
अदालतलाई अहिले फेरि धन्यवाद दिनुपर्छ । यो मुद्दा प्रचण्डलाई मात्र नभई २०६३ वैशाख १२ गतेसम्मका सबै माओवादीमाथि हो । इतिहास बिर्से पनि इतिहासले कसैलाई बिर्सिंदैन । पार्टीविहीन म पनि उपलब्धिको हिस्सेदार र कमजोरीको जिम्मेवार हुँ । त्यसैले यो मुद्दा ममाथि पनि हो, बुझ्छु । विभिन्न ट्रेडमार्कमा रहेका माओवादी मात्रै नभई एमालेमा सामेल तत्कालीन कमान्डर रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साहहरूमाथि पनि हो ।
फेरि अर्को नोस्टाल्जिया- लाजिम्पाटको क्वार्टरमा पुगेको बेलाको कुरा हो । छतमा सीता भाउजू चामल केलाइरहनुभएको थियो । अध्यक्ष प्रचण्ड छेवैमा हुनुहुन्थ्यो । हामीले शिवनगरका पुराना दिन सम्झियौँ । सरस्वती दिदी (युवराज पन्थीकी श्रीमती) सुत्केरी बस्न त्यहाँ पुग्नु भएको थियो । हाम्रो भण्डारा एरिया कमिटीले दुईवटा हर्लिक्स पठाएको थियो । त्यतिबेला डा।बाबुराम भट्टराई प्रधानमन्त्री थिए । त्यसैले हुनुपर्छ, प्रचण्ड केही फुर्सदिला थिए । त्यसैले धेरै अनौपचारिक कुरा गर्ने मौका मिलेको थियो ।
प्रचण्डको प्रश्न थियो, ‘बाहिर के कस्तो छ ?’
मैले भनेको थिएँ, ‘तपाईं जे सुन्न चाहनुहुन्छ, त्यही फुलबुट्टा भरेर सुनाउँछु ।’
शक्ति केन्द्रमा नयाँ कमरेडहरूको घेराबन्दीमा रहेका प्रचण्डजस्तो खल्ली मान्छेलाई त्यसो भन्नु ठूलै कुरा थियो । त्यसपछि कसरी आफूले आलोचना सुन्ने, विरोधी र विपक्षलाई सहने र हैसियतमा पुर्याउने, अझ महाअपराध गर्ने एक जना निजी स्टाफलाई कार्यक्षेत्र परिवर्तन गरेको कुरा सुनाएँ । मैले पनि ती स्टाफका चर्तिकला घुइरोघुइरो त सुनेकै थिएँ ।
कुरा मनोयुद्धको
मैले प्रचण्डसँगको भेटमा त्यसै मनोयुद्ध भनेको थिइनँ । सामरिक अत्यन्तै संवेदनशील यस भूगोलमा मनोयुद्ध नियाल्न नेपालमा ज्वर्ज स्वरोजको ओपन सोसाइटी फाउन्डेसन र तिनका सुकिला कारिन्दाका लोकप्रिय आवरण र भूमिका नियाल्नुपर्छ । दाताको हुकुममा छमकछल्लो गर्ने नागरिक समाज, मिडिया, ककस, न्यायिक र बुद्धिजीवी क्षेत्रको सक्रियता हेरिनुपर्छ ।‘जनयुद्ध’ थालनीपहिले नै भेरी-कणर्ालीमा केबट प्रोजेक्ट र राप्ती अञ्चलको राप्ती एकीकृत योजना मिहीन अध्ययन गर्नैपर्छ । अहिले बढ्दो क्रिश्चियनिटी र चर्च, उत्तरी सीमामा बढ्दो एनजीओ र आईएनजीओका गतिविधि, फेरिएको अमेरिकी तिब्बत नीति, बढदो तिब्बती सक्रियता ननियालेर विषयको चुरोमा पुग्नै सकिँदैन । प्रकाशमा आइसकेको नर्वेजियन मिडिया मिसन नियाल्नु पर्छ । मनोयुद्धको मूललक्ष्य दिमाग व्यवस्थापन हो भने मारक हतियार-मिडिया ।
मान्छेको अगस्ती भोक भनेको खाना र मैथुन मात्र हैन । नित्य नयाँ कुरा थाहा पाउने हुन्छ । सूचना र ज्ञानको प्यास र जिज्ञासाको उत्तर खोज्ने उत्सुकताले मान्छेलाई सामान्यवाट विशिष्ट बनाइरहन्छ । अझ मिडिया विशेषज्ञ र विश्वग्रामका स्वप्नकार हर्मन म्याकलुहन त मिडिया हरपल नयाँ मान्छे बनाइरहेको हुन्छ भन्छन् । नयाँ सूचनाले नै उसका अघिल्ला धारणा भत्किँदै नयाँ नौला बन्छन् । सूचनाको भोकले सताइएको मनुवा प्यासी भएर मिडियामा पुग्छ । कालान्तरमा झुटो सावित भयो भने सत्यतथ्य थाहा पाउनुपहिल्यै समाचारले विध्वंस त गरिसकेको हुन्छ । तब प्रभावितहरू समग्र मिडियाप्रति आक्रोश, गुनासा र अविश्वास बनाउँछन् । त्यो भनेको मिडिया उद्यमी र मिडियाकर्मी लागि पनि अपूरणीय घाटा हो । रवि लामिछानेले गलत समयमा १२ भाइ त भने तर थप एक छुटाए ।
मिडियाको ठूलो पुँजी र हतियार विश्वास हो । समाचार र विचार सिर्जना गर्ने मिडिया र मिडियाकर्मी आफ्ना उत्पादन प्रचारप्रसार र प्रसारण त गर्न सक्छन् , कलामय प्रस्तुतिले क्षणिक भ्रम र आवेग उत्पन्न गर्न पनि सक्छन् । तर, उपभोक्ताको विश्वास नै आर्जन गर्न सक्छन् भन्ने छैन । जब लक्षित समूहको विश्वास आर्जन गर्न सक्दैनन्, मिडियाको मृत्यु हुन्छ र गम्भीर सामग्रीहरू पनि प्रोपोगाण्डा सोचिन्छन् ।
जब चितवन क्यान्सर अस्पतालका डा. भक्तमान श्रेष्ठ अपहरण भए, माओवादी त्यसमा पनि रामबहादुर थापा बादलकेन्द्रित भयो मिडिया । जनकपुरकी उमा सिंहको हत्या होस् या रुकुमको टीका विष्टमाथिको ‘आक्रमण’, सबै माओवादी लक्षित थिए । सत्यतथ्य आउँदा कुनै लेखक, प्रकाशकको न अनुहार अँध्यारो भयो, न माफी माग्नुपर्यो । सञ्चार मन्त्रालयमा थिएँ, मडिया मिसनप्रति बेवास्ता भएकोमा कानुनी कारबाही गर्न मैले सजग गराएँ । तर, सुन्ने कसले ?
अन्त्यमा,
समय घर्कंदै गयो । विश्वासमाथि विश्वास टुट्दै गयो । बाटाहरू फेरिए । तर, मैले गाली बकिनँ । र, बक्दिनँ पनि । मैले त्यो बाटो समातेँ, जहाँ सुविधा र परिचय सकिएका हुन्थे । भूमिकाले दायित्व किटान गर्छ, दायित्वसँगै क्षमता वृद्धि हुन्छ । संगठन भिडमा फेरिइसकेको बेला कसैलाई कसैको पनि वास्ता नहुनु, गर्न नसकिनु स्वाभाविकै हुन्थ्यो । तब म त्यस बाटोमा हिँड्न सुरु गरेँ, जहाँ थोरै मान्छे मात्रै हिँड्थे । हो, त्यहाँ आफ्नै मस्तिष्क र भूमिकाको मालिक आफैँ हुन पाइन्थ्यो । पुराना मित्र क्रमशः छुट्दै गए । आफन्त भन्न थाले, ‘अभागीलाई खाने बेला ज्वरो आउँछ ।’ उनीहरूलाई के थाहा ? खण्डखण्डमा मर्दै जानुको व्यथा के हुन्छ ? घायलपनाले मूच्र्छित हुने अवस्था के हुन्छ ? साथीकोे चिहानमा रिसोर्ट बनाएर कक्टेल पार्टी गर्नु कस्तो पत्थरिलो हृदय हुनुपर्छ ? स्मृतिले खेद्छ र मान्छे विगत बिर्सन चाहन्छ ।
यति ठक्कर हानेकोमा धन्यवाद !
हे जिन्दगी, दगुर्न नजाने पनि सम्हालिएर हिँड्न त सिकाइस, तैँले ! शिलापत्रबाट
