IMG-LOGO

नेपाली मिडियाले सीमान्तकृतको आँशु मात्रै देख्छ अनि अखबारमा टाँसेर बेच्छ

 मंगल, फागुन २३, २०७९  - राजु स्याङ्तान

      नेपाली मिडियाले पुरानो सत्ताले सीमान्तकृत वर्गमाथि थोपरेको गलत भाष्यलाई मलजल गरिरहेको छ । जस्तो, पञ्चायतकालले तामाङहरुलाई ‘छोरी बेच्ने’ समुदाय देख्थ्यो, दलितलाई कथित अछुत देख्थ्यो, थारुलाई दास बस्न ‘लायक’ जाति देख्थ्यो, मधेसीलाई ‘अराष्ट्रिय’ देख्थ्यो, महिलालाई दोस्रो दर्जाको नागरिक देख्थ्यो, अहिलेको मिडियाले पनि त्यस्तै देख्छ । त्यस्ता गलत भाष्य हटाउन अहिलेको पत्रकारिताबाट निकै गाह्रो छ । किनकी नेपाली पत्रकारितामा गम्भीर दृष्टिदोष छ । हामी हिन्दुवादी, भाग्यवादी पत्रकार हौं । गरिबीको कारण गरिबकै थाप्लोमा हाल्छौं । अहिलेकै जस्तो समयचेत र समाजचेत बोकेको बिजोग पत्रकारिता लोकतन्त्रका लागि घातक छ । गणतन्त्रपछि पनि यो न्यारेटिभ किन बदल्न सकिएन ? के तामाङले पेट पाल्नकै निमित्त छोरी बेच्छ त ? समाजले, सत्ताले बसालेको गलत भाष्यलाई चिरेर मिडियाले लेख्नुपर्ने होइन ? किन लेखिएका छैनन् ? अहिलेपनि काठमाडौंका डाँडामा घर भएका आदिवासी जनजातीहरु ऐलानी जग्गामा बसिरहेका छन् । पहिलेदेखि थिचोमिचोमा पारिएकाहरु बारे राज्य संरचनाले कसरी लुट्यो ? उनीहरुको गरिबी, भोकमरी, बेराजगारी, अशिक्षा, स्वास्थ्यमा पहुँचविहिनताको अवस्था बारेमा कहिल्यै छलफल भएको छ, मिडियामा ?

      मिडियामा जहानियाँ राणा शासन कायम छ । सीमित जातको पुरुषले सीमित र उही जातको पुरुषले चलाएको सत्ता र सत्ताको लागि भएको खिचातानी बाहेक अन्य कुरा के नै लेखेको छ ? यसको अर्थ केही पनि लेखिएकै छैन भनेको होइन तर सत्तालाई प्रभाव पर्ने ढंगले लेखिएको छ त ? जस्तो निकुञ्जको नियमले गर्दा आदिबासी जनजातिको खोसिएको अधिकार, विस्थापित भएका आदिवासी जनजाति, पेलानमा परेका दलित, दमनमै परेका महिलाबारे घटना भएमा लेख्ने तर इस्यु नै उठाएर भने नजाने देखिन्छ हाम्रो मिडिया । सीमान्तकृत समुदायको दृष्टिकोणबाट हेर्दा देशमा राणा शासन अन्त्य भए पनि नेपाली मिडियामा भने राणा शासन, पञ्चायतकाल कायमै छ । यसको एउटै ज्वलन्त उदाहरण हो, सम्पादक सहित निणर्य गर्ने तहमा एउटै समुदाय, जात, लिङ्ग र क्षेत्रका मानिसहरु हुनु । नेपाली मिडिया असमावेशी मात्रै होइन, घोर अलोकतान्त्रिक छ । ७० वर्षे लोकतान्त्रिक इतिहासमा कहिले लोकतान्त्रिक हुन नसकेको क्षेत्र पत्रकारिता नै हो । मिडियाको सत्तामा उही समुदाय, लिङ्ग, जात र क्षेत्रका मानिसहरु मात्रै हुनु दुःखद छ । यसबाट त्यो समुदायलाई आफ्नो क्षमताले नभ्याए पनि काम गरिरहनु पर्दा ओभरलोड भएको छ ।

नागरिकको दौतरी हुनुपर्ने मिडिया सत्ताको पो भयो ।

      २०७० साल देखि हो मैले पत्रकारिता गरेको । आवाजविहीनको आवाज मिडियाले बोल्छ भन्ने स्लोगान सुनेदेखि हो मलाई मिडियामा काम गर्न मन लागेको । मिडियामा काम गरेपछि पो थाहा भयो यो स्लोगान त अर्धसत्य पो रहेछ । करिब करिब झुठो नै रहेछ । जे कुरा बिक्छ त्यो सुनाउने र सत्ताको कुरा सुनाउने माध्यम पो रहेछ मिडिया । आफूलाई मन लागेको कन्टेन्ट दिने पाठकलाई क्रेता बनाउने गर्दो रहेछ मिडियाले । सीमित जातको सत्ता र त्यसैको भजनमण्डली हाबी भए हाम्रा मिडियामा । नेपाली मिडियाले कुर्सीमा बस्नेहरुलाई लो एंगलबाट फोटो खिचेर ‘भयंकर’, ‘महान’ देखाउँछ  । कुर्सीमा र्पुयाउने आम मानिसलाई हाई एंगलबाट तलतिर खिचेर ‘तुच्छ’, ‘निमुखा’ र ‘निम्छरा’ देखाउँछ । लो एंगलबाट निरिह देखाइएका व्यक्तिहरुको आँसु बिकाउने रहेछ मिडियाले । गहिराइमा गएर रिर्पोटिङ नै नगर्ने रहेछौं । उनीहरुको आत्मस्वभीमान उनीहरुको बौद्धिकतालाई सम्मान नै नगर्ने रहेछौं । उदारहणका लागि सुकुम्बासीको समाचार आउँछ । उनीहरुले आइफोन बोके, सिक्रि लगाए भनेर । उनीहरु आफैं सुकुम्बासी भएका हुन्?

      १९१० को मुलुकी ऐनले कस्तो व्यवस्था गरेका कारण किन, केही निश्चित जात र धर्मको बारे मात्रै पक्ष पोषण भयो र निश्चित जातको मात्रै जमिन भयो? अन्यको भएन भनेर ठूलो दृष्टि लगाएर हेरेकै छैनौं । सत्तालाई प्रश्नै नगर्ने दयनीय जिन्दगीलाई उतार्ने मात्र भयौं । आम मान्छेको गरिब प्रति हेर्ने दृष्टिकोण र पत्रकारको फरक हुनुपर्ने होइन? तर यहाँ त एउटै भयो । मिडिया त नागरिक र नेताको पुल बनेर एकअर्काको कुरा सुनाउने हो नि, एकोहोरो नेताको मात्रै प्रचारप्रसार त गर्ने होइन नि । यहाँ त जनताको कुरा भन्दा नेताको कुराले प्राथामिकता पाइरहेका छन् । जसको डाँको ठूलो छ उसैको कुराले मिडिया भरिने भएपछि कसरी आवाजविहिनको आवाज भन्नु? लोकतन्त्रलाई मजबुत बनाउन मिडियाको महत्वपूणर् भूमिका हुनुपर्ने, जनताको साथी, दौतरी हुनुपर्ने । नेताको दौतरी पो भयो मिडिया । नेता पिच्छेको मिडिया र उनीहरुको प्रचार प्रसारबाहेक मिडियाले काम गर्न सकेको देखिंदैन । यसरी त मिडियाले जनताको आबाज बोल्यो कि थुन्यो त ? हाम्रो मिडिया नेता, व्यापारी र राज्यबाट पहिलेदेखि नै प्राथामिकता पाइरहेको व्यत्तिका मात्रै भयो । सीमान्तकृत समुदाय र तिनका आवाजलाई झिनो स्थान दिइयो । जसले गर्दा जति प्रभाव पर्नुपर्ने हो त्यति परेको देखिंदैन ।

      समाजमा सीमान्तमा परेका समुदाय मिडियामा पनि सीमान्त मै छन् । कोरोनाको बेला जागिर गुमाउने पहिलो पत्रकार महिला थिए, त्यसपछि दलित, जनजाति र मधेसीले जागिर गुमाए । त्यो क्रम जारी छ । यसो हुँदा बल्ल बल्ल पत्रकारितामा प्रवेश गरेका सीमान्त समुदाय पुनः ढोका बाहिरै भयो । सीमान्तकृत समुदायको राजनीतिमा आफ्नो प्रतिनिधि नभएजस्तै पत्रकारितामा पनि आफ्नो पत्रकार छैन । सीमान्तकृत समुदायबाट कोही मुस्किलले पत्रकारिता गर्न पुगे भने उनीहरु आधा दशकसम्म इन्टर्न मै सिमित हुन्छन् । सीमान्तकृत समुदायका मानिसहरु र पहुँचवाला समुदायका मानिससँगै पत्रकारिता प्रवेश गरेका छन् भने पहुँचवाला समुदायका मान्छे सम्पादक, सिनियर रिर्पोटर भइसक्छन् । सीमान्तकृत समुदायका मानिसहरुलाई हात दिने कोही हुँदैन । उनीहरुका लागि र्भयाङ बन्द गरिएको छ, अरुका लागि खुला छ । सीमान्तकृत समुदायका मानिस पत्रकारितासम्म आइपुग्न कति लामो यात्रा पार गरेर आयो, त्यो हेरिंदैन । लोकतन्त्रको जहाजलाई भ्रष्ट नेताहरुसँगै मिलेर प्वाल पार्न हामी मिडियाकर्मीहरु पनि लागिरहेका छौं ।

      सीमान्तीकृत समुदाय प्रष्ट हुनुपर्छ किअहिलेको मिडिया सीमान्तकृतहरुको होइन । सीमान्तीकृतको आफ्नै वैकल्पिक मिडिया चाहिन्छ । यसको लागि ब्लगहरु चलाउन र आफ्ना कन्टेन्टहरु क्रिएट गर्न सक्नुपर्छ ।अहिले प्रकाशक, सम्पादक, व्यापारी, नेता र केही पत्रकार, यिनै ५ जनाको वरिपरि छ चौथो अंग । ‘आवाजविहीनको आवाज’ भजनमै सीमित छ । कोही पत्रकार, लेखकले सीमान्तका आवाजहरु ल्याउँदा जसरी सीमान्तकृतका पक्षमा वकालत गर्नेलाई देश बाहिरका अदृश्य स्रोतबाट परिचालित भन्दै आरोप लगाइन्छ, यहाँ पनि त्यस्तै गरिन्छ । व्यापारीसँग सेल्फी खिच्ने पत्रकारले ल्याएका समाचार प्राथमिकताका साथ छापिन्छ । आफ्नो कथा लेखिदिउन भन्दै मानिसहरु मिडियालाई साथी ठान्छन्, तर मिडियाले सीमान्तकृतका संघर्ष, आत्मसम्मान, गौरव र राज्यलाई खास भन्न के खोजेको हो त्यो देख्दैन, आँशु मात्रै देख्छ र आफ्नो अखबारमा टाँसेर बेच्छ ।

      मूलधारका मिडियाले वास्ता नगरेपछि पीडितहरु युट्युबका तमासाहरुतिर मोडिएका छन् । नेताका टाउका मात्रै छापेपछि आम मानिस उता लागेका हुन् । उनीहरुका दैनिक अप्ठ्याराहरुमा मिडिया साथी बन्ने बित्तिकै युट्युबको तमासा बन्द हुन्छ । जबसम्म हामी मिडियाले बैंकको मुखपत्र जस्तो बनेर एटियम बुथ उद्घाटन भएको समाचार छाप्छौं तबसम्म त्यही बैंकले उठिबास गरेको किसानको समाचार छाप्दैनौं । बरु उल्टै ऋणीहरुलाई १५ दिनमा ऋण तिर्न आउ भन्दै धम्कीपूणर् भाषाका विज्ञापनहरु छाप्छौं । आत्महत्या गर्न बाध्य किसानको मर्म कहिल्यै छाप्दैनौं । तबसम्म हामी आवाजविहीनको आवाज हुनै सक्दैनौं । फ्रिल्डमा नजाने चलन सिनियरले नै बसालेका हुन् ।

      सीमान्तकृतका समाचार, लेख, इमेल नखोल्दै डिलेट गरिन्छ, काठमाडौंमा बस्ने हामी पत्रकारले बुझ्न सक्दैनौं कि इमेलसम्म आइपुग्न सीमान्तकृत समुदाय कति हजार, कति सय वर्षको पीडादायी यात्रा पार गरेर आइपुगेको छ ।त्यसकारण हामी ‘राष्ट्रिय दैनिक’ होइन, ‘काठमाडौं दैनिक’ चलाइरहेका छौं । हाम्रो पत्रकारिता कीर्तिपुरदेखि बागबजारसम्म र बागबजारदेखि कोटेश्वरसम्म मात्रै सीमित छ । पत्रकारहरु फिल्डमा जाँदैनन् । फिल्डमा नजाने किन भए त ? यो परम्परा नै हो नेपाली पत्रकारिताको । सिनियरहरु फिल्ड गएनन्, अहिलेकाले त्यसलाई निरन्तरता दिए । अधिकांश अग्रज पत्रकारहरुले सिंहदरबारमा मात्रै समाचार देखें । नेतासँग व्यापरीको वरपर मात्रै भए अधिकांश । चक्रपथ भित्रै रुमल्लीरहे । अहिले अधिकांश पत्रकार काठ क्षेत्रमा टेक्दैन । अधिकांश जिल्ला रिर्पोटर सदरमुकाम भन्दा बाहिर जाँदैन । फिल्ड मै जाँदैन त स्टोरी कसरी देखोस् ? सधैं त्यही केही थान सत्तामा आसिन पुरुषका कर्कशबाहेक मिडियाले के देखेको छ? उखु किसानको समस्या यही माइतिघर मण्डला आएपछि निरन्तर लेखिएको हैन? मिटर ब्याजीहरु पनि काठमाडौं आएसी देखेको हैन मिडियाले?

      सीमान्तकृत समुदाय आफैं राजधानी आए समाचार बन्ने नत्र फिल्डमा नजाने यस्तो परम्परा बसाल्ने अग्रज पत्रकारले जिम्मेवारी लिनुपर्दैन? अग्रज पत्रकारले बसालेको यो प्रथालाई अहिलेका पत्रकारले तोड्नुपर्ने होइन ?  समाचार सडकमा छ । सडकमा नओर्लने, सत्ताको पहरेदार भइदिने । यसरी त लोकतन्त्र कसरी बलियो हुन्छ र? यसको अर्थ अग्रज पत्रकारले गम्भीर गर्नु ुभयो भनेको होइन । उहाँहरुले सकेको गर्नुभयो केही कमजोरी छन्, सुधार्ने हो । पहिलेका पत्रकार र अहिलेका पत्रकारमा एउटा फरक छ । पहिलेका पत्रकारमा समझदारी धेरै थियो, इस्यु बुझ्ने मामिलामा । अहिलेका पत्रकार पूर्वाग्रह राखेर बुझ्छ जस्तो मलाई लाग्छ । समझदारीमा कमी देखिन्छ हामी पत्रकारहरुमा । हाम्रो जस्तो लोकतन्त्र धराशायी भएको देशमा मिडिया सोखको कुरा भयो । जबकी यो त अनिवार्य तत्त्व हुनुपर्ने हो । यो देखिएन । हामी संघिय लोकतान्त्रिक गणतन्त्रका नागरिक त भयौं तर हाम्रो चरित्र बद्लिएन ।

      मिडियामा पञ्चायतकाल कायमै छ । दलित र जनजातीले गाई मारेर खाए भने गाई काट्ने पाँच जना पक्राउ भनेर समाचार लेख्छौं । पहिले सत्ताले एक देश एक भेष भनेर गलत भाष्य सिर्जना गर्यो, अहिले हामी त्यसैको पक्ष पोषण गरिरहेका छौं । उदाहरणका लागि मधेसमा डाँकाको गाउँ भन्ने टोल छ । हामी मिडिया यो गाउँका स्थानीयलाई डाँकाका सन्तान भनेर ‘ग्लोरिफाइ’ गर्दैमा रमाउँछौं । तर उनीहरुलाई डकैती गर्न लगाएर त्यहाँका सामन्तले कसरी लुटिएको सामान भित्र्याउँथे भनेर कहिल्यै खोज्दैनौं । यसमा सम्पादकदेखि रिर्पोटर सम्मको कमजोरी देखिन्छ ।

समावेशी भएन मिडिया

      जसरी सत्ता सीमित जातको वरपर घुमेको छ त्यसरी नै मिडिया पनि त्यही जातको छ । विविधता छैन मिडियाको । २० जना सम्पादक उभिए भने एउटै समुदायको एउटै लिंगबाहेक अन्य देखिंदैनन् । जात र लिंग एकै भए पनि समाजका घटनासँग र रिर्पोटरको क्षमतासँग अपडेट भइदिए त हुन्थ्यो तर प्रकाशक र अन्य व्यक्तिहरुसँग पो अपडेट हुने भए । रिर्पोटरको वृत्ति विकास गर्ने, समाचारमा लगानी गर्ने, कतै रिर्पोटर समयमै तलब नआएर भेटघाट गर्न पाएको छैन की, किन स्टोरी लेख्न सकिरहेको छैन? भन्नेमा सम्पादकहरुले ध्यान दिएको देखिंदैन । अहिले मिडियामा जसको हालीमुहाली छ, त्यसैको समाचार बढी आएको छ । समाबेशी नभएकैले समाबेशी समाचार आउन सकेको छैन । सम्पादकले मिडिया हाउस समावेशी बनाउने बारे त सोच्न अब ढिला गर्न हुन्न ।

      राजनीति नयाँ पुस्तालाई छाडौं भन्छौँ, अब नेपाली मिडियामा पनि पुरानो पुस्ताले छाड्ने बेला भयो । उहाँहरु सल्लाहाकार बस्नुभए हुन्छ । हामीबिना मिडिया चल्दैन भन्ने धङधङी त्याग्नुपर्छ । कहिलेकाही त कुन पेशामा आइएछ नि भन्ने लाग्छ । मिडियामा समयमा तलब नआउने, आएपनि निकै कम हुने । स्टोरीमा लगानी नहुने हुँदा अहिले भइरहेको काम पनि पत्रकारले धन्न गरेको छ ए भन्ने त नलाग्ने होइन । त्यसकारण मिडिया हाउसले तलब समयमा नदिए पनि हामीले आवाजविहीनको आवाज उठाउन छाड्नु हुँदैन । बाटो बिराएको मिडियालाई सही बाटोमा ल्याउने जिम्मेवारी हाम्रै हो ।   (उकेराबाट)

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्