IMG-LOGO

गणतन्त्र नेपालको तेश्रो राष्ट्रपति रामचन्द्र पौडेल

 मंगल, फागुन १६, २०७९  ---

      नेकपा एमाले अध्यक्ष केपी ओलीले पुस १० गते हानेको चमत्कारिक राजनीतिक मास्टरस्ट्रोक जम्माजम्मी ६१ दिनमा फास्सफुस्स भएको छ । यथार्थमा त्यो कुनै मास्टरस्ट्रोक नै थिएन । आम निर्वाचन २०७९ मा मिलेर चुनाव लडेको पाँच दलको तत्कालीन सत्ताधारी गठबन्धनलाई तोड्न ओलीले जुन किसिमका दाउपेच चलाएका थिए र जे–जस्ता तत्वहरूलाई साथमा लिएका थिए तिनलाई हेर्दा त्यतिबेला गज्जबको ठानिएको त्यो चाल उनकै लागि उल्टो साबित हुने सम्भावना शुरूदेखि नै बलियो थियो । प्रचण्डलाई पाँच दलको गठबन्धनबाट फुटाएर उनले आफ्नो दलको प्रमुख प्रतिद्वन्द्वी नेपाली कांग्रेसलाई केही समयका लागि हतप्रभः बनाएको भने पक्कै हो तर कांग्रेस सभापति शेरबहादुर देउवाले अख्तियार गरेको “पर्ख, हेर, धैर्य गर र उचित अवसर आएपछि पलटवार गर“ भन्ने नीतिका सामुन्ने उनको चालबाजी लामो समयसम्म टिक्न सकेन ।

      ओलीको सर्वसत्तावादी सामन्ती मनसुवा उदाङ्ग हुन थालेपछि प्रचण्डलाई ओलीको साथ ’सास गनाउँने पार्टनरसँग एउटै बेडमा सुत्नु’ जस्तै असह्य हुनेछ र उनी अर्को त्राणदातातर्फ मुखातिब हुनेछन् भन्ने कुरा देउवाले राम्रोसँग बुझेका थिए । त्यसैले उनले प्रचण्डले गरेको ठूलो विश्वासघातप्रति पनि कुनै किसिमको भद्दा टिप्पणी गरेनन् । त्यसको ठीक उल्टो प्रचण्डले प्रधानमन्त्रीको रूपमा सदनको विश्वासको मत माग्दा देउवाले आफ्नो पार्टीको समग्र मत दिलाइदिए । संसदीय अभ्यासका दृष्टिले देउवाको त्यो निर्णय विवादास्पद मात्र होइन आलोच्य पनि थियो । तर राजनीतिक रूपमा भने स–सानो झड्का दिने खालको प्रहार । त्यतिबेला अन्यौल र असमञ्जसमा पर्ने पालो थियो चालबाजीमा अद्भूत मानिएका नेता ओलीको । अर्कोतर्फ ओलीले घाँटी अठ्याउँन थाले भने देउवा छँदैछन् भनेर प्रचण्डलाई ढुक्क रहने बाटो पनि बनेको थियो नेकांले प्रचण्डको सरकारलाई विश्वासको मत दिएपछि । त्यसको सार्थक परिणाम आउँन प्रचण्डले धेरै दिन पर्खिनु परेन ।

      गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति कुन दलको उमेदवारलाई बनाउँने भन्ने मुद्दामा केपी ओलीद्वारा प्रायोजित र नियंत्रित सत्ता गठबन्धन भत्किएको छ । प्रधानमन्त्री प्रचण्ड फेरि एकपल्ट नेपाली कांग्रेसको वर्चस्ववाला नयाँ गठबन्धनको हिस्सा भएका छन्। यस पटक त्यस गठबन्धनमा ५ होइन ८ दल सामेल भएका छन् र त्यस गठबन्धनले नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्व सभामुख रामचन्द्र पौडेललाई राष्ट्रपतिको साझा उमेदवार बनाएको छ । प्रतिनिधि सभा, प्रदेश सभा र राष्ट्रिय सभाका सदस्यहरूको मतबाट चुनिने राष्ट्रपतिको उमेदवारले कुल मतभार ५२ हजार ५४९ मध्ये चुनाव जित्न २६ हजार २७५ मत ल्याउँनु पर्दछ । अहिले नेपाली कांग्रेस सहित ८ दलले एक गठ भएर उमेदवार बनाएका रामचन्द्र पौडेलले गठबन्धनमा सामेल दलका सांसदहरूबाट क्रस भोटिङ भएन भने ६१ प्रतिशत मतभार प्राप्त गर्ने अनुमान गरिएको छ । क्रस भोटिङ हुने सम्भावनालाई भने पूर्णतः नकारिएको छ ।

      यस प्रसङ्गको रोचक पक्ष चाहिँ दुई महिनामै इतिहास दोहोरिनु हो । पुसको पहिलो हप्तामा सरकार बनाउँने कसरत चलिरहेको बेलामा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई पहिलो अवधि प्रधानमन्त्री दिने कबूल गरेर पनि नदिएर जसरी लगभग सबै कुरा गुमाएका थिए त्यसैगरी एमाले अध्यक्ष ओलीले राष्ट्रपति मेरै खल्तीको प्यादा हुनु पर्दछ भन्ने लिँडेढिपी गरेर आन, मान, शान सबै थोक गुमाएका छन् । यसले सिकाएको पाठ हो, सर्वसत्तावादी हठले कसैलाई पनि फाइदा गर्दैन । राजनीतिमा सधैँ लिने मात्र होइन कहिले काहीँ त्याग पनि गर्न सक्नु पर्दछ ।

      कुनै अकल्पनीय दुर्घटना भएन भने कांग्रेसका वरिष्ठ नेता, शालीन व्यक्तित्व रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति चुनिने छन् । आजको घडीमा पौडेल त्यो संवैधानिक आलंकारिक पदका लागि सर्वथा योग्य पात्र हुन् । निवर्तमान राष्ट्रपतिले त्यो उच्च ओहोदाको गरिमालाई जुन ढिट्याइँ र मूर्खताका साथ धूलिसात बनाएकी छिन् रामचन्द्रले त्यसमा सुधार गरि संविधानको मूल्य, मान्यता र मर्यादालाई पुनर्स्थापन गर्ने छन् भन्ने प्रत्याशा गर्नु अनुचित हुने छैन ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्