IMG-LOGO

राडीमा लुकेका नाङ्गा कुरा

 मंगल, पौष २६, २०७९  नरेन्द्रजंग पिटर

      अहिलेको चुनावमा जेजस्ता चित्र देखिए पनि चरित्र अझै उदांगो भइसकेको छैन । परिणामले घोत्ल्याउन बाध्य पा¥यो । देशी मूलका विदेशीले चुनावमा प्रत्यक्ष हस्तक्षेप गरे भने निराश जनमत सहयोगी बन्यो । सामाजिक सञ्जालले ठूलो भूमिका खेल्यो । फेर्छु भनेर सत्तामा पुगेकालाई भ्रष्ट सत्ताले पचाइदिएपछि प्रतिक्रियामा आवेगमा खेल्ने नयाँ शक्तिहरू जन्मिए । भूसंवेदनशील भूगोल युक्रेनमा जेलेन्स्की जन्मेझैँ यहाँ पनि उब्जिनु स्वाभाविकै हुन्थ्यो । एमसीसी र बीआरआईको भिडन्त हुनै थियो । अनुहारमा नेपाली भएर मात्रै नेपाली हुँदैनथे । को, कसका, कसरी प्रतिनिधि बने, अहिलेको मौनतालाई घायल इतिहासले भविष्यमा अध्ययन गर्ला । नयाँ शक्तिका विश्लेषण, प्रचार, योजना र कलामय अभ्यास अन्यत्रबाट भए । आवेगी भिडलाई मतपत्रमा फेरिएको मात्रै हो । खुसी बेचेर सुख खोज्न जानेको भिडले परिस्थिति तयार ग¥यो भने आदर्श कथनमा सीमित राख्ने प्रत्यक्ष भूमिका नखेल्ने पार्टी र नेताहरू उनका वैशाखी बन्न पुगे । दुःखान्त परिणामको मञ्चन सदन, नांगो तस्वीर सरकार ।

      धनाढ्य वा सत्तामा रहेका, पुग्न वा टिकिरहन चाहनेहरू अन्धविश्वासी हुन्छन् । चतुरे, महाधनाढ्य र सर्वहारालाई राष्ट्रियता र धर्मसँग कुनै साइनो रहँदैन । सिद्धान्त र विचारसँग कुनै सरोकार हुँदैन । कुनै पनि बेला आस्था फेर्न सक्छन् । कतिपय हाम्रै देशका उच्चाधिकारी एवं नेताहरू अन्यत्रका ग्रीन कार्डहोल्डर छन्, सन्तान विदेशी नागरिक । पहिला ब्रिटिस र भारतीय लाहुरे बने पनि अब त अमेरिकी र फ्रान्सेली सेनामा पनि पुगे । लाहुरे पैसाका लागि लड्छन् मात्रै, कुन राष्ट्रियता वा कसको हितमा लागि लडेँ भन्ने अर्थ रहँदैन । कैयौँ देशमा एउटै मान्छे अर्को देशको समेत नागरिक हुन सक्छ । नागरिकता राष्ट्रियतासँगै जोडिएको विषय हो । नागरिकताको प्राविधिक रूप र कानुनी हैसियतका कुरा छोडौँ, देशसँग संवेदना, अर्थ र महत्त्व गाँसिएको हुन्छ । पासपोर्टको भ्यालुले उसको नागरिकताको हैसियत जनाउँछ ।

      शक्तिका भाषा र भक्तिले गम्भीर विषयका बहस योजनाबद्ध विषयान्तर हुन्छन् । सत्ताधारीलाई सत्तामा रहिरहने र विपक्षलाई सत्ता भ¥याङ चढ्ने सुविधाअनुसारका शीर्षक बन्दै चर्चा हुन थाल्छ । जब नेतृत्व आदर्शवादी भूमिकाबाट चिप्लन्छन्, तब गद्दार र दलालले मौका पाउँछन् । विदेशीले विभिन्न आवरणमा चलखेल गर्ने अवसर पाएर सत्ता नै हत्याउँछन् । त्यसबाट कुनै पनि देश, समाज, सांस्कृति, इतिहास अछुतो रहेन । विश्वासमाथिको घात नै गद्दारी हो । निजी स्वार्थ, सत्ताभोग, परिवार अतिमोह वा आत्मरक्षाको भयले जन्मिने प्रतिक्रिया गद्दारीका मुहान बन्ने गर्छन् । सम्पन्न देशका नागरिकले पनि विपन्न देशको नागिरकता लिन्छन् । सुविधासम्पन्न देशको पासपोर्ट बोक्नेहरूले मातृभूमिमा हैसियत पाउन थाले । फर्केर फेरि नागरिकता लिँदै त्यहाँका शासक बन्छन् । उदाहरण हामी नै बन्यौँ ।

इतिहासका कुरा

      पश्चिमी देशका नागरिक पनि शासक बन्न साना देशमा आउने गर्छन् । सिक्किमका राजा चोग्यालकी अमेरिकी पत्नी होप कुक र  काजी लेन्डुप दोर्जेकी स्कटिस पत्रकार तथा साहित्यकार पत्नी एलिसा मारिया त्यसमध्येमा पर्छन् । आखिर स्वतन्त्र देश सिक्किम उनीहरूकै भूमिकामा जनमतसङ्ग्रहमार्फत भारतको २२औँ प्रान्त बन्यो । पञ्चायती व्यवस्था रहिन्जेल जर्मन नागरिक बनेकी सुजाता कोइराला बाबु गिरजाप्रसाद कोइराला नेपाली राजनीतिको केन्द्रमा पुगेपछि फेरि नेपाली भइन् । नोर्बेर्ट जोस्टसँग विवाह गरेकी सुजातालाई धर्मले छेकेन । बंगलादेशी नागरिक रुबेल चौधरीसँग वैवाहिक सम्बन्धमा रहेकी छोरी मेलानी रोशा जोस्टलाई राजकीय सुविधा दिन कुनै बाह्रसत्ताईस गर्नुपरेन । तर, छोरो आन्द्रेस र छोरी मेलानीलाई नेपाली नागरिकता दिलाएको जानकारी नभए पनि उनीहरूको राजकीय सानमा भने कुनै फरक परेको छैन । 

      नायक र खलनायक तत्काल छुट्दैनन् । सत्ताधारी बन्नेबित्तिकै कोही पूज्य वा नायक बन्दैन । गद्दारले मौकामा चौका हान्ने अवसर सङ्क्रमणकालीन अवस्था, क्रान्तिकारी आन्दोलन चलिरहेका बेला, विदेशी हस्तक्षेप वा सामरिक थलो बनाउन शक्तिराष्ट्र लागेको समयमा पाउँछन् । बहादुर र कायर, नायक र खलनायकका बीचमा सामान्य धर्सो भएजस्तै परीक्षा नदिईकन बहादुर बन्न पाउँछन् । संगीन मोडमा उनीहरूले खेलेका महत्त्वपूर्ण भूमिकाले बिक्री मूल्य बढेको हुन्छ ।

गद्दारीको राष्ट्रिय र अन्तर्राष्ट्रिय आयाम हुन्छ

      अहमद चलावीले इराकी नागरिकता त्यागेर अमेरिकी नागरिकता लिए । राजनीतिक शक्ति पाउने भएपछि फेरि इराकी बनेर अमेरिकी फौजसँगै बग्दादमा उत्रिए । उनी इराकी संस्कृति जान्दथे, फारसी बोल्थे । उनी धनी र पढेलेखेको अमेरिकी पीएचडी । उनैमार्फत अमेरिकी सत्ता र मिडियाले इराकी परमाणु बमको विश्वस्त गराए । न्युयोर्क टाइम्सकी जुडिथ मिलरबाहेक पश्चिमा मिडिया आत्मालोचनाको अवस्थामा छन् । अमेरिकी आक्रमणको मुख्य सहयोगी बेलायत । चिल्कट कमिटीले सात वर्ष लगाएर इराक आक्रमणसम्बन्धी ६ हजार पानाको रिपोर्ट बेलायती संसद्मा पेस गर्दा त्यहाँ मारिएका आफ्ना सन्तान सम्झिएर अङ्ग्रेजहरू रोइरहेका थिए भने दोस्रो विश्वयुद्धपछि सार्वभौम राष्ट्रविरुद्ध सहभागी भएकोमा तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरलाई सरापिरहेका थिए । सैनिक कमान्डरले उनलाई माफी माग्नसमेत भने ।

      सद्दाम मारिए, चलावी भ्रष्ट भनेर सत्ताबाट हटाइयो तर सद्दाम सुरक्षामा रहेका सुपर १२ अमेरिकी सेनाका विल बार्डेनवर्परले एक किताब लेखे, ’द प्रिजनर इन हिज प्यालेस, हिज अमेरिकन गार्ड्स, एन्ड ह्वाट हिस्ट्री लेफ्ट अनसेड’ । त्यसमा सद्दामको अन्तिम दिनहरूका विवरण छन्  । सन् २००३ मा सद्दामको मूर्ति ढालेर विश्वचर्चित  कदमि अल–जब्बौरी  अहिले पछुतो र लज्जाबोध गरिरहेका छन् । अफगान राष्ट्रपति असरफ गनी पनि अर्का शासक । मूलतः अफगानी, पस्तुन पनि बोल्थ्यो । तर, दुवैले अमेरिकी हितमा काम गर्थे । वैदिक साहित्यमा कुल र लंका ध्वस्त गराउने रामभक्त विभीषण ठूलो गद्दार थिए । समय, पात्र र भूगोल फेरिँदा गद्दारका रूप फेरिए पनि गुण फेरिँदैनन् । नयाँ अनुहारमा भिन्नभिन्न ठाउँमा विभीषण जन्मिरहन्छन् ।

शिक्षा इतिहासको

      इतिहास पुरानो हुँदैन, समय–सन्दर्भले थप अध्ययनको माग गरिरहन्छ । परिस्थतिअनुसार आफू ढल्ने कि परिस्थितिलाई विचारअनुसार ढाल्ने ? नेतृत्वसामु गम्भीर चुनौती बन्छ । व्यवहारवादी बन्न सिद्धान्तको अन्त्य भनिए पनि फेरि हामी राष्ट्रवाद, स्वाभिमान, इतिहासका गौरवगाथा, वैदेशिक, सहयोग, भ्रष्टाचारविरुद्धका खेलभित्रका झेलका बहसमा छौँ । एउटा विषय किनारा नलाग्दै अर्को विषयले साविक बहसलाई पचाइदिँदैछ । हरेक बहस सिर्जना गरिने समयले धेरै अर्थ राख्छ । मान्छेको स्वभाव सनातनमा नरमेर विकल्प रोज्ने हुन्छ । तर, कहिलेकाहीं त्यही स्वभाव राष्ट्रघात बनिदिएर गद्दार जन्माइदिन पनि सक्छ । पैतालामुनि कति जमिन धसिइसक्यो भन्ने पत्तै नपाउने शासकले आफूसँगै देशै ध्वस्त गराउँछन् पनि । नमरूञ्जेल सत्तामै रहन चाहने शासक गद्दार बन्ने र गद्दार जन्माउने कारक बन्दिन्छन् ।

      दलाललाई कालान्तरमा प्रभुले पनि नपत्याउने कुरा दिल्लीले कार्पेट ओछ्याउने लेन्डुप दोर्जेलाई इन्दिरा गान्धीको व्यवहारले जनाउँछ । जब निजी सचिव आरके धवनले लेन्डुप भेट्न पर्खेको धेरै बेर भयो, म्याडम भन्दा प्रधानमन्त्री गान्धीको जवाफ थियो, ’जुन मान्छे आफ्नै देशका लागि हुँदैन, त्यो हाम्रो हितको कसरी हुन सक्छ ? समय छैन भनेर फिर्ता पठाइदेऊ ।’ २६ अप्रिल १९७५ मा भारतमा विलय गराउने लेन्डुपको आखिर सन् २००७  कालिङपोङमा एक सय तीन वर्षको उमेरमा निधन हुँदा न उसको देश थियो, न नयाँ देशले उसको वास्ता गर्थ्यो, मलामीमा कुनै सिक्किमेली थिएनन्, न नयाँ पत्नी एलिसा मारिया नै ।

      प्रजा परिषद्बारे भेद खोल्ने शुक्रराज शास्त्रीकै भाइ वाक्पतिराज जोशी (रामजी जोशी) थिए । कांग्रेस र कम्युनिस्टहरूले गरेका आन्दोलन वा सशस्त्र संघर्षमा कैयन् गद्दार निक्ले । उनीहरूले सहयोद्धाको हत्या र गिरफ्तार गराए । कैयन् जनयुद्धका गद्दार त अहिले पनि सत्ता सुखभोग गरेर समयलाई जिस्क्याइरहेकै छन् । गद्दार सिँगार्ने छवि निर्माणमा मानार्थ पीएचडी र ‘पुरस्कार’का कथा संसारमा गज्जबकै छन् । ती सम्मान र पुरस्कारभित्रका रहस्य बुझिनसक्नाका हुन्छन् । संसारमै त्यस्ता दलाल र गद्दार उत्पादनमा पुरस्कार, एनजीओ फन्डिङ र बौद्धिक बहसका एजेन्डा सेटिङ यत्रतत्र देख्न सकिन्छ । नेपालकै द्वन्द्वउद्यम नियाले धेरैको जन्मकुण्डली ह्वाङह्वाङ्ती हुन्छ । 

      के गद्दारका पनि इतिहास हुन्छन् ? हो, पक्कै पनि गद्दारका नायकसँगै इतिहास पनि हुन्छन् । नायकले जब नायकत्व धान्न सक्दैन, व्यवहारवादी, परिस्थितिको अनुयायीका नाममा सुविधाको राजनीति गर्न थाल्छ, तब गद्दारी यात्रा सुरु हुन्छ । नायक मरेर इतिहासमा सम्मानित हुन्छन् भने र गद्दारलाई सत्ता रहिन्जेल हाई–हाई भए पनि कालान्तरमा थुथु गरिएर नकार पात्रका रूपमा सम्झिइन्छ । जसका लागि गद्दारी गरेको हुन्छ, उसले नै अपमान पनि गर्छ । गद्दारीको सबभन्दा ठूलो दृष्टान्त भनेको समाजमा विचार र सपनाको आवेग बढाउनु हो । तर, व्यवहारवादी बन्ने नाममा कालान्तरमा त्यसैलाई अस्वीकार गर्दै आफैँलाई मुर्दावाद भन्न पुग्छ । खुसी बेचेर सुख किन्ने हुन् वा स्वाभिमान अर्पेर दलाली र गद्दारी गर्ने, एकै वंशका हुने गर्छन् । अहिले विचार, व्यवहार, स्वाभिमान फेरिएर भ्रष्टाचारीका कीर्तिमान तोड्दै हितअनुसारका व्याख्या हुँदै गए इतिहासमा नेपाली ‘महान’ गद्दारमा थप नाम कसले पो लेखाऊलान् ? भन्ने मात्र हो ।

अन्त्यमा,

      यस चुनाव, चुनावी परिणाम, सरकार गठन, त्यसले इतिहासलाई पार्ने प्रभाव र यस संवेदनशील भूगोललाई अत्यन्तै ठूलो प्रभाव छोड्छ, असर राख्नेछ । ओपन सोसाइटी फाउन्डेसन र ज्वर्ज स्वराजको नेपाली भूमिका, चेमोनिक्स (अजझयलष्अक) र उनका नेपाली ताबेदारलाई सूक्ष्म अध्ययन नगरी अहिलेको अवस्थाको मिहिन अध्ययन गर्न सकिँदैन । 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्