चार दशकअघि मैले एउटा निबन्धमा काठमाडौं सहरको शान्त, शुभ्र, मायालु र आत्मीय व्यक्तित्वको चर्चा र प्रशंसा गरेको थिएँ । साँच्चै सर्वोत्तम मानवीय गुणले परिपूर्ण सहर थियो, त्यो समयको काठमाडौं । मेची–महाकाली र भोट–मधेसका नेपाली आश्रयकोे खोजीमा दिनहुँ काठमाडौं पस्थे । दुःखजिलो गरेर आफ्ना केटाकेटी हुर्काउँथे, पढाउँथे र सरकारी सेवामा रहेका ठूला मानिसको सेवा–टहल गरेर आफ्ना सन्तानलाई जागिर खुवाउँथे । त्यो समयमा जागिर खानु भनेको सरकारको सिन्दुर लाउन पाउनु हो भन्ने मानिन्थ्यो । त्यसलाई निकै ठूलो कुरा या प्राप्ति ठानिन्थ्यो । त्यो समयमा मानिसको बस्ती पातलो भए पनि सहर सफा थिएन । सहरियाहरूले अहिलेको जस्तो सहरी सभ्यतामा सफाइको महत्वबोध गरिसकेका थिएनन् । त्यतिवेला पनि सफाइ मजदुर हुन्थे । उनीहरूको सानोतिनो फौजले यो संसारकै अप्रतीम साँस्कृतिक सहरको सभ्यता जगेर्ना गरेको थियो ।
नयाँ सडक सहरको केन्द्र थियो– डाउनटाउन या हब, जे भने पनि । मानिसहरू न्युरोड भन्न रुचाउँथे । पीपलको बोट न्युरोडको केन्द्रबिन्दु थियो । म पहिलोपटक नयाँ सडक कहिले पुगेको थिएँ ? त्यसको त सम्झना छैन । तर, पहिलोपल्ट त्यहाँ पुग्दा दंगदास परेको थिएँ । पीपलको बोटलाई केन्द्र बनाएर साहित्यकार, पत्रकार, राजनीतिज्ञ, समाजसेवी, प्रतिपक्षसँग नजिक भएका मानिस त्यहाँ जम्मा हुन्थे । उनीहरूबीच त्यहीँ कुराकानी हुन्थ्यो– प्रतीकात्मक ढंगले । पीपल चौतारालाई घेरेर बसेका हुन्थे जुत्ता मर्मत र पालिस गर्नेहरूको जमात । चौताराको सडकतर्फको छेउमा स्थानीय पत्रपत्रिका बिक्री गर्ने जमात हुन्थ्यो । मानिसहरू भन्थे, सरकारले विपक्षको सूचना र गतिविधि थाहा पाउन नयाँ सडकभरि जासुस खटाइएको हुन्छ । त्यो सत्य पनि थियो ।
त्यो समय निर्दलीय पञ्चायत व्यवस्थाको उत्कर्षको समय थियो । त्यो समयमा हरेक विषय राजा र राजतन्त्रको सुरक्षामा केन्द्रित हुन्थ्यो । राजनीतिक पार्टीहरूमाथि प्रतिबन्ध लगाइएको थियो । तर, प्रतिबन्धित दलका नेताहरू चुप लागेर बसेका थिएनन् । कतिपय नेताहरू निर्वासनमा थिए । कतिपय नेताहरू देशभित्रै गाउँ र सहरका अनकण्टारमा लुकिछिपी बसेका थिए । त्यो समयमा न्युरोडको पीपलको बोटमा आउनु पनि एक प्रकारको विद्रोह नै थियो । त्यहाँ विद्वानहरूबीच हुने विचारको आदान–प्रदान देशभरि फैलिन्थ्यो ।
राजाको नाम र नेतृत्वमा चलेको तत्कालीन सरकारमा विद्रोहीका संकेतलाई पछ्याउन सक्ने खुबी थिएन । त्यो काम तोपका गोला बोक्ने सेनाले गथ्र्यो । त्यसका लागि पुलिस थियो । गुप्तचर थियो । राजाको दरबारभित्र रोयल इन्टेलिजेन्स ब्युरो थियो । त्यो ब्युरोले पढेलेखेका हजारौँ हजार नेपालीको पृष्ठभूमि पत्ता लगाउँथ्यो । जागिरको खोजीमा लागेकालाई जागिरमा लगाइदिन्थ्यो । जो अलिकति भाउ खोज्थे, तिनको समायोजन निर्दलीय व्यवस्थाको कुनै न कुनै राजनीतिक तहमा हुन्थ्यो । जो अटेरी गर्थे, ती जेल जान्थे । बढी नै अटेरी गर्ने राम–लक्ष्मण, लीला–ठगीजस्ता युवक मारिन्थे ।
भारतमा निर्वासित कांग्रेस नेता सुवर्ण शमशेरको नेतृत्वमा सुरु भएको विद्रोहले राजनीतिक समाधानको बाटो खोजिरहेको थियो । निर्वासित वामपन्थी नेता पुष्पलाल श्रेष्ठ भारतबाटै विद्रोहको अर्को विगुल फुकिरहनुभएको थियो, चर्को स्वरमा । राजाको नेतृत्वको सरकार समस्याको प्रतिष्ठापूर्ण समाधानका लागि तयार थिएन । राजाको पाउमा रैतीले झुक्नैपर्छ भन्ने मानसिकता र मान्यतामा टिकाइएको थियो पञ्चायती व्यवस्थालाई । न्युरोड पीपलको बोटको छेउमा रहेको इन्दिरा रेस्टुराँमा बसेर भूपि शेरचन र मोहन कोइरालाजस्ता कविहरू, गोपालप्रसाद भट्टराई, चन्द्रलाल झा र उत्तम कुँवरजस्ता सम्पादकहरू र अरू धेरै भलाद्मी बुद्धिजीवीहरू अभिव्यक्ति स्वतन्त्रताको बाटो कसरी खोल्न सकिन्छ भनेर प्रत्येक दिन विचार विमर्श गर्थे । त्यो एउटा अद्भूत कालखण्ड थियो ।
राजाको आवश्यकताअनुसार उनकै कल्पनामा सुरु भएको निर्दलीय पञ्चायत व्यवस्थाविरुद्धको संघर्षमा नेपाली जीवनका दुई पुस्ताको भविष्य सखाप भयो । राजा महेन्द्रको निधनपछि पनि सामाजिक, आर्थिक र राजनीतिक परिस्थितिमा कुनै परिवर्तन आएन । जनताले युरोप–अमेरिका पढेका, चीन–जापान चिनेका, भारतमा जवाहरलाल नेहरूको परिवारसँग हित्तचित्त मिलेका नयाँ राजा वीरेन्द्रले देशलाई आधुनिकीकरणको दिशामा लैजान्छन् भन्ने सोचेका थिए । तर, उनले आफ्ना पिता महेन्द्रकै परम्परा पछ्याए । जनताको त्यो उज्यालो आशा समयको तरंगमा हरायो ।
त्यतिवेलाको नेपालको समस्या थियो, राजनीतिक दलहरूबीचको एकता । अन्ततः गणेशमान सिंहको सुझबुझले कांग्रेस–कम्युनिस्ट मिले । मिल्नु ती दुवैको बाध्यता थियो । र, गणेशमानकै नेतृत्वमा भएको पहिलो जन–आन्दोलनले निर्दलीय पञ्चायत व्यवस्थाको अन्त्य र्गयो । त्यसपछि, नयाँ सडकको ‘चार्म’ पनि मलीन हुँदै गयो । खरीको बोट छेउछाउका पसलहरू छरिन लागे । हामी साथीभाइहरू पनि छरियौं । नियमित नयाँ सडक नगएसम्म खाएको नपच्ने हामी नयाँ सडक जान छाड्यौँ । न्युरोडको रौनक दरबारमार्गतिर स¥यो ।
न्युरोड उदास भयो
गएको साता बुधबार मेरो मनस्थितिमा अलिकति परिवर्तन आयो । न्युरोडको आकर्षणले मलाई तान्यो । म न्युरोड पुगेँ । आफ्ना परिचित स्थानहरूको खोजीमा लागे । महानगरपालिकाले ऐतिहासिक इन्दिरा रेस्टुराँ भवन भत्काएको त थाहा थियो । त्यो भवन नभएकाले भूगोलपार्कको रौनक जमेको थिएन । इन्द्रचोकपट्टीको न्युरोडको अवस्था त माछाबजारको भन्दा पनि खराब थियो । इन्द्रचोकबाट हनुमान ढोकातिर लाग्ने सडकको दायाँबायाँ पसलहरूको भिड थियो । मर्मतका लागि होला, सडक खनिएको थियो । इन्द्रचोक र यस वरपरका बस्तीले धान्नै नसक्ने हिसाबले बजारको विस्तार भएको थियो । पहिलो चोकपछि अर्को चोक, अर्कोपछि अर्को, अर्कोपछि अझ अर्को ।
महानगरले बाटो मर्मत गर्दै थियो क्यारे, काठमाडौं गणेशबाट जैसी देवलतिर जाने बाटो बन्द थियो । फर्केर भीमसेनस्थान जाने बाटोतिर लाग्दा थाहा भयो– यतातिरको बाटो पनि बन्द छ । केन्द्रीय सरकारले वार्षिक बजेट प्रस्तुत गरेपछि देशैभर मर्मत–सम्भारको सिजन सुरु हुन्छ । काठमाडौं त्यसको अपवाद थिएन । ढल खन्ने, सडक मर्मत गर्ने, पाइप टाल्ने जस्ता कामका लागि साउन–भदौका महिना प्रसिद्ध नै छन् । देश संघीय शासनमा गइसकेपछि पनि बजेटमा संघीयताको प्रभाव नदेखिनु अनौठो होइन । यो देश हजारौँ–हजार वर्षदेखि एकात्मक हिसाबले चलेको छ । अहिले पनि व्यवस्था मात्रै बहुदलीय छ, काम गर्ने ढर्रा र ढाँचा पुरानै छ । यो एउटा अवस्था हो । यो अवस्थाबाट हामी मुक्त हुन अझ धेरै वर्ष लाग्नेछ ।
यसपटक काठमाडौंमा एउटा चमत्कार भयो । स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह काठमाडौंका मेयर चुनिए । त्यसपछि उनले अभियान चाले, काठमाडौंको संकुचन हटाउने अभियान । उनी बुल्डोजर लिएर सडकमा निस्किए । पार्किङका लागि बनाइएका घरहरूमा खोलिएका अनियमित पसलहरू हटाए । सडकपेटीका पसलहरू विस्थापित भए । हिँड्नेहरूलाई सुविधा भयो । मानिसहरूले भने, बालेनले केही गर्छन् । उनले केही गरे । अझै केही गर्नेछन् । प्रारम्भमा सफाइ अड्डा भनेर चिनिन्थ्यो काठमाडौं महानगरपालिका । अहिले यसको नाम र रूप दुवै फेरिएको छ । यो राम्रो संकेत हो ।
मेयर बालेनले सहरमा पार्किङको सुविधा बढाउन ठूलो मिहिनेत गरेका छन् । सहरका ती घरहरू, जसको छिँडीमा किराना पसल र गोदाम थिए, अब पार्किङका लागि प्रयोग हुनेछन् । मोटर चढ्ने औकात भएकाहरूले सुविधा पाउनेछन् र घरपतिहरूले पार्किङ शुल्क उठाउन पाउनेछन् । महानगरमा आर्थिक स्रोत जम्मा हुनेछ सफाइका लागि । बाटो, ढल र खानेपानी नियमित हुनेछन् । सहर सफा हुनेछ । हामी सफा सहरका सफा मानिसका रूपमा चिनिनेछौँ ।
यो अर्कै प्रश्न हो, सडक पेटीको आश्रयमा बाँचिरहेका परिवारको भविष्य अब के हुन्छ ? काठमाडौं सहरलाई घेरेर नदीका किनारमा सुविधासम्पन्न जीवन बिताइरहेका सुकुमवासीबाट अब सहर कसरी जोगाउने हो ? कोरोनापछि चम्किएको डेंगुलाई कसरी मत्थर बनाउने हो ? डेंगुपछि चम्किने मलेरियाबाट सहरले कसरी मुक्ति पाउने हो ? यस्ता प्रश्नमा पनि सायद बालेन मथिंगल खियाउँदै होलान् । महानगरवासीको विश्वास छ– बालेनको हातमा काठमाडौं सुरक्षित छ ।
