जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले संघ, प्रदेश तथा स्थानीय तहका कार्यालयहरुबाट हुने सेवा प्रवाहलाई छरितो, नागरिक मैत्री बनाउन नियमित अनुगमन र समन्वय गर्ने बताउनु भएको छ । जिसस काभ्रेको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै उहाँले पाँच बर्षे कार्यकालमा जनताको माग बमोजिम इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभयो । आफुले नीतिगत रुपमा पाएका अधिकारहरुलाई कार्यान्वयन गर्न दिन रात खट्ने प्रतिबद्धता जनाउदै उहाँले जिल्ला समन्वय समितिबाट सम्पादन गरिएका कार्यहरु र प्रगतिको विवरणको समिक्षा वार्षिक रुपमा गरिने उद्घोष गर्नुभयो । जिसस उपप्रमुख रिमवहादुर तामाङ लगायत ७ जना सदस्यहरु, नेपाल पत्रकार महासंघ काभ्रेका सभापति बद्रीराज तिमल्सिना, पूर्व सभापतिहरु, सञ्चारकर्मीहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन जिल्ला समन्वय अधिकारी भिम प्रसाद भट्टराईले गर्नु भएको थियो ।
