भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय बागमती प्रदेशको आयोजनामा मंगलबार होटल माउन्ट प्रिन्सिेस धुलिखेलमा एक दिने सहकारी ऐन, नियम, मापदण्ड र अनुगमन सम्बन्धी अन्तरक्रिया कार्यक्रम जिल्ला बचत तथा ऋण सहकारी संघ लिको समन्वयमा सम्पन्न भयो । भूमि व्यवस्था सहकारी तथा गरीवी निवारण मन्त्री बलराम पौडेलले २०१३ साल चैत्र २० गते चितवन जिल्लाबाट विपी कोइरालाले सहकारी संस्थाको गठन गरेको उल्लेख गर्नुभयो । सहकारी संस्थाहरु गाउँगाउँमा स्थापन गरेर जनताको ओठमा हाँसो र खुसी ल्याउने गरी जीवन पद्धती सुधारमा कार्य गर्नुपर्ने धारणा मन्त्री बलराम पौडेलले राख्नुभयो । सदस्य केन्द्रीत सेवा सुविधा प्रदान, सहकारी संस्थाहरुले ऋणको मात्र कारोवार नगरी उद्यमशिलता र उद्योगधन्दा सञ्चालनमा लगानी बढाएर रोजगारीको श्रृजना गर्नु पर्ने मन्त्री पौडेलको आसय रहेको थियो । सहकारीहरुले शेयर सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता परिपूर्ती गर्नुपर्ने मन्त्री पौडेलले उल्लेख गर्नुभयो ।
केही सहकारी सञ्चालकहरु साहुकारीको जस्तो व्यवहार गरी कमाउने धन्दामा लागेकाले दिगो विकास गरी सदस्यहरुको वृहत्तर हितमा कार्य गर्नेहरुको समेत अवमुल्यन भएको उहाँको कथन थियो । बागमती प्रदेश सरकार, केन्दीय सरकार, बचत, संघ र जिल्ला सहकारी संघ जिल्ला बचत संघको संयुक्त प्रयासमा संस्थाहरु नियम विपरित कार्य गर्नेहरुलाई हदै सम्मको कारवाही हुने कुरा मन्त्री पौडेलले राख्नुभयो । सहकारी विकास बोर्ड उपाध्यक्ष नारायण प्रसाद देवकोटा, बागमती प्रदेश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उद्धव सापकोटा, विसिष्टकृति सहकारी संस्था र विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रदिप थापा, सहकारी रजिष्टार नारायण प्रसाद ज्ञवाली, शाखा अधिकृत खगेन्द्र पौडेल लगायतले मन्तव्य राख्नु भएको थियो । जिल्ला बचत संघका अध्यक्ष जितेन्द्र नकर्मीले काभ्रे जिल्लामा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत आफ्नो पहिचान बनाउन सकेको सहकारी संस्थाहरु रहेको उल्लेख गर्दै जिल्लामा सहकारी संस्थाहरु १ हजार ४ सय ९५ रहेको बताउनुभयो । बचत तथा ऋण सहकारी सस्थाहरु ७ सय ५९ रहेको र जिल्ला बचत संघ काभ्रेमा भने २ सय ५३ सहकारी संस्थाहरु आवद्ध रहेको कुरा अध्यक्ष जितेन्द्र नकर्मीले बताउनुभयो ।
कोको मिस, करको दायरा बढाउने, बार्षिक प्रतिवेदन बुझाउन समेत हेटौँडा पुग्नुपर्ने अवस्थाले सहकारी संस्थाहरुका सञ्चालक र कर्मचारीहरुलाई समते निक्कै कठीनाई भोग्नु परेको कुरा जिल्ला अध्यक्ष नकर्मीले बताउनुभयो । कार्यक्रममा देशको आर्थिक विकासको एक खम्बा सहकारी भएको उल्लेख राज्यले गरेको भएपनि सहकारी क्षेत्रको दिगो विकास गर्नु, क्षमता, अभिबृद्धिको लागि कन्जुसाई गरेको कुरा सहकारी कर्मीहरुले बताएका थिए । ऐन, नियम, विनियम नियमावली बने पनि वर्षौ सम्म कार्यन्वयन नहुने कानुन बनाउँदा सरोकारवालासँग छलफल विनै निर्माण गर्ने सहकारी मैत्री कानुन बनाउने कार्यले गर्दा सहकारी संस्थाहरुको संख्यात्मक वृद्धि भएको वेथिती भने मौलाएको विषयहरु उठान भएका थिए । जिल्ला बचत संघका प्रवन्धक गुरुप्रसाद ढकाल,उपाध्यक्ष रवि केसीले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।
