भकुण्डेबेशी–आगामी आर्थिक बर्षको बजेट निर्माणअघि नमोबुद्ध नगरपालिकाले योजना तर्जुमाका विषयमा एक दिवसीय गोष्ठी सम्पन्न गरेको छ । नवनिर्वाचित जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख, वडा सचिव लगायतलाई बजेट निर्माणको प्रक्रिया लगायतका विषयमा जानकारी गराउने उद्देश्यले विज्ञहरुसहितको सहभागितामा गोष्ठी आयोजना गरिएको हो । आज बिहीबार सम्पन्न गोष्ठीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव गोपीकृष्ण खनाल र स्थानीय विकासका विज्ञ विष्णुदत्त गौतमले बजेट निर्माणका विविध विषयमा प्रस्तुति दिएका थिए ।
कार्यक्रममा सहसचिव खनालले नमोबुद्ध नगरपालिकाको सम्भावना र चुनौतीका विषयमा प्रस्तुति दिएका थिए । उनले नमोबुद्ध नगरका स्रोतहरु, समस्या र चुनौती तथा चालु आर्थिक बर्षभित्रै गनुैपर्ने कामहरुका विषयमा जानकारी दिएका थिए । खनालले जनताको आम्दानीमा वृद्धि गर्न सकेमात्र विकासको योजनाले मुर्तरुप पाउने भन्दै त्यसका लागि पनि महिलाको आयस्तर वृद्धिमा ध्यान दिन जनप्रतिनिधिलाई आग्रह गरे । भौगोलिक अवस्था, ऐतिहासिक सम्पदा, कृषियोग्य भूमि लगायतका साथै काठमाडौं नजिक भएकाले पनि नमोबुद्धको विकासका लागि प्रशस्त सम्भावना रहेको भन्दै उनले निर्वाहमुखी नभई उत्पादनमुखी कृषिमा जोड दिन आग्रह गरे । नगरमा एउटा औद्योगिक ग्राम बनाउन, नदिहरुमा करिडोर बनाउन, स्रोतहरुको व्यवस्थापन र संरक्षण गरेर खानेपानीको समस्या समाधान गर्न उनले जनप्रतिनिधिलाई सुझाव दिए । अहिलेदेखि नै योजनावद्धरुपमा अघि बढ्ने हो पाँच बर्षमा नमोबुद्ध नगरपालिकाको मुहार फेरिने खनालको भनाई थियो ।
कार्यक्रममा स्थानीय विकासका विज्ञ गौतमले स्थानीय तहको राजस्व अधिकार तथा अन्तरसरकारी वित्तीय हस्तान्तरणबारे जानकारी प्रदान गरेका थिए । सो क्रममा उनले स्थानीय तह, प्रदेश र संघीय सरकारले उठाउन पाउने कर, त्यसको बाँडफाँड र परिचालन लगायतका विषयमा जानकारी प्रदान गरेका थिए । कार्यक्रममा नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुनसाङ लामाले देखिनेखालका र प्रभावकारी हुने खालका योजना ल्याउन वडाअध्यक्षहरुलाई आग्रह गरे । सबै वडाको समग्रमा विकास भएमात्रै नगरको समग्र विकास हुने भन्दै उनले आफूहरुको कार्यकालको सुरुको बर्ष भएकाले यही बर्षदेखि नै नगरको विकासको दीर्घकालिन योजनाको खाका बनाएर अघि बढ्ने बताए ।
यस्तै नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले आगामी आर्थिक बर्षको बजेट निर्माणका लागि वडावडामा योजना निर्माणको काम सुरु भइसकेको भन्दै वडाबाट योजना आएपछि त्यसलाई प्राथमिकीकरण गर्दै कार्यान्वयनमा लैजाने बताए ।। देशका अधिकांश स्थानीय तहजस्तै नमोबुद्ध नगरपालिकाले यही असार १० गते आगामी आर्थिक बर्ष २०७९÷८० का लागि बजेट ल्याउने तयारी गरिरहेको छ । नगरपालिकाका उपप्रमुख रत्न लामा, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, शाखा प्रमुखहरु वडा सचिव लगायतका कर्मचारीको उपस्थितिमा भएको कार्यक्रम योजना अधिकृत विष्णु अधिकारीले सञ्चालन गरेका थिए ।
