धुलिखेल, धुलिखेल नगरपालिकामा विहिबार बेलायती राजदुत निकोला पोलिट आई शुत्र सरवर सञ्चीतकोष व्यवस्थापनको अनुगमन गर्नु भएको छ । देशको ७ सय ५३ पालिकामा नै प्रयोग भएको शुत्र सरवरको प्रयोगबाट के कस्तो किफायती भयो, समस्या के रहेको छ, सुधार गर्नुपर्ने सवालहरु के–के छन् भन्ने प्रश्न नगरपालिकाका लेखा अधिकृत धनवहादुर बस्नेतलाई राजदुत पोलिटले जिज्ञासा राख्नु भएको थियो । लेखा अधिकृत बस्नेतले बजेटीङ एकाउन्टीङ र रिपोर्टीङ कार्य गर्न शुत्र सरवरले किफायती पूर्वक कार्य गर्न सकेको र यसलाई थप व्यवस्थित गरेर सम्पन्न योजनाहरुको तथ्यगत विवरण राख्नु सके थप प्रभावकारी हुने धारणा राख्नुभयो । नयाँ संघीय संरचना पछिको स्थानीय निर्वाचन पछि २०७४ साल देखि स्थानीय पालिकाहरुमा शुत्र सरवर प्रयोग हुँदै आएको सञ्चीतकोष व्यवस्थापन प्रणाली जडानको लागि बेलायत सरकारको प्राविधिक र आर्थिक सहयोग रहेको कुरा प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेलले बताउनुभयो ।
आम्दानी खर्च, बजेटिङ एकाउन्टीङ र रिपोर्टीङको अवस्था एक क्लिकैमै जानकारी लिन सकिने शुत्र सरवर अर्थ मन्त्रालयको निगरानीमा रहने छ । स्थानीय सरकार र संघ सरकारले आवश्यक पर्दा तुरुन्त अवस्था बुझ्न सक्ने निर्धारित तोकिएको बजेट दायाँबायाँ गर्न नसकिने भएको हुँदा शुत्र सरवरले कार्य सम्पादनमा स्तरीयता कायम गर्न सकिने कुरा प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेलले बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख निराजन जंगमले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा शुत्र सरवरको सल्लाहकार सरिता सापकोटा धुलिखेल नगरपालिका वडा अध्यक्षहरु र जिल्लाका क्रियाशिल सञ्चारकर्मीको सहभागीता रहेको थियो । कार्यक्रमको अध्यक्षता नगर प्रमुख अशोक व्याञ्जुले गर्नु भएको थियो ।
