भकुण्डेबेशी–विश्व वातावरण दिवसको अवसर पारेर नमोबुद्ध नगरपालिकाको मुख्य व्यापारिक केन्द्र भकुण्डेबेशीमा वृहत सरसफाई कार्यक्रम आयोजना गरिएको छ । विश्व वातावरण दिवस (जुन ५) को अवसरमा नमोबुद्ध नगरपालिकाले आइतबारदेखि नै सप्ताहव्यापी कार्यक्रम गरिरहेको छ । सोही क्रममा आज सोमबार भकुण्डेबेशीमा नमोबुद्ध नगरपालिकाको आयोजनामा वृहत सरसफाई कार्यक्रम गरिएको हो । भकुण्डेबेशी चोकदेखि नौबिसेसम्म विपी राजमार्गको आसपास सरसफाई गरिएको थियो । सो क्रममा राजमार्गको दायावाया फुटपाथ व्यवस्थापनको कामसमेत गरिएको छ ।
नगर प्रमुख कुनसाङ लामाको नेतृत्वमा भएको सरसफाई कार्यक्रममा नगरपालिकाका कर्मचारी, स्थानीयबासी, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यालयका शिक्षक÷विद्यार्थी, व्यवसायी, नेपाली सेना र नेपाल प्रहरीबाट सुरक्षाकर्मी लगायत सयौंको सहभागिता रहेको थियो । कार्यक्रममा नगर प्रमुख कुनसाङ लामाले स्वच्छ वातावरणका लागि सबै पक्षको सहकार्य जरुरी भएको भन्दै नगरपालिकाले सुरु गरेको सरसफाई अभियानमा साथ दिने सबैलाई धन्यवाद दिए । अब बजार व्यवस्थापनको कार्यविधि तयार पारेर बजारलाई व्यवस्थित बनाउने, सफा र वातावरणमैत्री बनाउने अभियान नगरपालिकाले सञ्चालन गर्ने पनि लामाले बताए । उनले जथाभावी फोहोर फाल्नेलाई कार्बाहीको व्यवस्था गर्ने, राजमार्ग क्षेत्रमा फोहोर फाल्न निषेध गर्ने लगायतका योजना ल्याउने पनि बताए ।
यस्तै उपप्रमुख रत्न लामाले सफा र स्वच्छ नगर बनाउन सबैलाई हातेमालो गर्न आग्रह गरे । यस्तै प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले वातावरणमैत्री नगर बनाउन नगरपालिकाले विशेष जोड दिएको र आगामी दिनमा सबै क्षेत्र, सबै वर्गलाई समेटेर स्वच्छ नगर बनाउने अभियान सञ्चालन गर्ने जानकारी दिए । यस्तै आज सोमबार नै नमोबुद्ध नगरपालिका वडा नं. ८ का वृक्षारोपण समेत गरिएको छ । वडा नं. ८ को डराउनेपोखरी र देवीस्थानमा धुपी, कपुर लगायतका बिरुवा रोपिएको नगरपालिकाका प्रवक्ता एवं वडा नंं ६ का वडाअध्यक्ष टिकाबहादुर केसीले जानकारी दिए । बृक्षारोपण कार्यक्रममा नगर प्रमुख कुनसाङ लामा, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा नं. ८ का वडाअध्यक्ष शेरवहादुर तामाङ लगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत हिजो आइतबार नगरपालिकाको फोहोर व्यवस्थापन क्षेत्रको व्यवस्थापन लगायतका काम भएको थियो भने मंगलबार नगरपालिका क्षेत्रको सरसफाई लगायतका काम गरिने नमोबुद्ध नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले जानकारी दिएका छन् ।
