महिला जागरण समूहको आयोजना, प्रकृति रिसोर्स सेन्टरको सहयोग तथा बनेपा नगर स्तरीय बहुसरोकार मञ्चको सहभागितामा विश्व वातावरण दिवस विभिन्न कार्यक्रमका साथ नालामा मनाइएको छ । विश्व वातावरण दिवस २०७९ को उपलक्ष्यमा वातावरण संरक्षण सम्बन्धी सचेतनामूलक ¥याली, सरसफाइ तथा स्थानीय तहमा नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान कार्यक्रम गरिएको हो । साविक उग्रचण्डी नाला गाविस कार्यक्षेत्र रहि विगत २६ वर्षदेखि निरन्तर रुपमा महिलाहरुको क्षेत्रमा कार्य गर्दै आएको महिला जागरण समूहले आयोजना गरेको उक्त कार्यक्रममा संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, टोलवासी, वहुसरोकार मञ्चमा आवद्ध व्यक्तिहरु, समाजसेवी, युवा एवं स्थानीय तहका नेताहरुको उपस्थिति रहेको आयोजक संस्थाकी अध्यक्ष निर्मला श्रेष्ठले जानकारी दिनुभयो । जुन ५ अर्थात विश्व वातावरण दिवस “पृथ्वीको संरक्षण ः दिगो प्रकृतिमैत्री जीवन यापन” भन्ने नाराका साथ सम्पन्न भएको छ ।
यसैबीच जलवायुु परिवर्तन न्यूनिकरण अभियानमा सकृय रहेको प्रकृति रिसोर्स सेन्टर नेपालको सहयोगमा वहुसरोकार मञ्चमा आवद्ध सदस्यहरुले तारकेश्वर नगरपालिकामा रहेको सृजनशिल महिला समूहले गरेका विभिन्न गतिविधिहरुको स्थलगत अवलोकन भ्रमण बुधबार सम्पन्न गरेका छन् । सृजनशिल महिला समूह तारकेश्वरले ‘फोहोरलाई मोहोरमा’ बदल्ने अभिप्रायले संकलन गरिएका फोहोरको वर्गिकरण गरी लाभ लिई रहेको पाइएको छ । संस्थाका अध्यक्ष सुश्मा रेग्मी, सचिव सुभद्रा अधिकारी, कोषाध्यक्ष हेमा अधिकारी लगायत सृजनशिल समूहका पदाधिकारीहरुले क्याटरिङका सामाग्री भाडामा दिने, संकलन गरिएका कपडाहरुबाट कपास निकाल्ने, गार्मेन्ट सञ्चालन लगायतका विभिन्न कार्यहरु गरी रोजगारीका साथसाथै समुदायमा सरसफाईका माध्यमले आफूलाई बेग्लै पहिचान दिलाएको बताउनु भएको थियो । भ्रमणमा महिला जागरण समूह अध्यक्ष निर्मला श्रेष्ठ, सुजन के.सी, भवानी श्रेष्ठ, प्रकृति रिसोर्स सेन्टरबाट प्रज्ञा शेरचन लगायत अन्य संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागी रहेको थियो । यस्तै गत मंगलबार सृजनशिल महिला समूह तारकेश्वरले पनि नालामा रहेको महिला जागरण समूहले गरेका विभिन्न गतिविधिहरुको स्थलगत अवलोकन भ्रमण सम्पन्न गरेको थियो ।
