राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचार र अस्थिरता अन्त्यका लागि शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेे माग गरेको छ । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बिहीबार धुलिखेलमा सम्पन्न बैठक पश्चात आयोजित पत्रकार सम्मेलनमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राजा रहने गरी शासकीय स्वरूप परिवर्तनको माग गरेको हो । राप्रपाले संघ र प्रदेशको चुनावमा लोकप्रिय उम्मेदवार छनौट गर्न पार्टी भित्र र बाहिरबाट समेत उम्मेदवारीका लागि सार्वजनिक आह्वान गर्ने निर्णय समेत गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले स्थानीय तहको चुनाव सफलताले पार्टीलाई उत्साहित बनाएको बताउनुभयो ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तीमा आगामी निर्वाचनमा उपयुक्त र लोकप्रिय उम्मेदवार समयमै छनोट गर्ने पार्टी हित विपरित काम गरेकालाई छानविन गर्न र आवश्यक निर्णय गर्न निरञ्जन थापाको संयोजकत्वमा समिति गठन गर्ने, साधारण तथा सक्रिय सदस्यलाई व्यवस्थित गर्ने जिम्मेवारी सचिवालयलाई दिने, भदौ मसान्त भित्र सबै जनवर्गीय संगठनहरुको महाधिवेशन सम्पन्न गर्ने, भ्रष्टाचार–महङ्गीका सम्वन्धमा आन्दोलन सञ्चालन गर्न बुद्धिमान तामाङको संयोजकत्वमा समिति गठन गर्ने, विज्ञ समुह निर्माण गर्ने, ध्रव वहादु प्रधानको संयोजकत्वमा प्रशिक्षण विभागलाई जिम्मेवारी दिने लगायत २० बुदे निर्णय गरिएको छ ।
