काभ्रे जिल्लाको दुर्गम गाउँपालिका महाभारतमा अब भने पहिलो सडक कालोपत्रे हुने भएको छ । आगामी २०७९ असार ३० गते भित्र सम्पन्न गर्ने गरी २०७७ असार ३० गते सम्झौता गरिएको सडकको शिल्यान्यास बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले गर्नु भयो । बागमती प्रदेश सरकारले रोशी गाउँपालिकाको पिगंथली रजवास हुँदै महाभारत गाउँपालिकाको बुढाखानी, चारकिल्ला, तिनखुट्टे, देवीटार, घर्तिछाप, गोकुले सडक निर्माणका लागि बहुबर्षिय योजनामा समावेश गर्ने गरी ५० करोड रकम विनियोजन गरेको थियो । सोही योजना अनुसार तीनखुट्टे देविटार ८.७ किलोमिटर सडक कालोपत्रे हुने भएको हो । उक्त कालोपत्रे गर्नको लागि पहिलो सडक खण्डको लागि २५ करोड ८२ लाख १० हजार ३ सय १६ रुपैयामा सम्झौता भएको छ । कार्यक्रममा सघिय सांसद गंगबहादुर दोङ्ग, पुर्व उर्जाराज्य मन्त्री सुर्यमान दोङ्ग,पूर्व सासंद रामहरी सुबेदी, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, उपाध्यक्ष चेतकुमारी माझी लगायतले डाँडापारी क्षेत्रको विकासका लागि आ–आफ्नो भनाई राख्नु भएको थियो ।
