स्थानीय तह २०७९ को निर्वाचनमा निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम नगर्दा अत्याधिक मत बदर भएको छ । निर्वाचन कार्यालय धुलिखेल नगरपालिका प्रमुख निर्वाचन अधिकृत मोहनराज भट्टराईका अनुसार धुलिखेल नगरमा १ सय ९६ मत पूर्ण रुपमा बदर रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार निर्वाचन आयोगको सिस्टममा पालिकाको कुन वडामा कति मत बदर छ भन्ने उल्लेख गर्ने प्रवन्ध नभएकोले कुन पदको कति बदर मत त्यसको लेखाजोखा नभएको बताउनुभयो ।
यसै गरी बनेपा नगरपालिकामा खसेको कुल मतमा पूर्ण बदर मत ८६, नगर उपप्रमुखका उम्मेदवार कलमको मात्रै ५ हजार ५ सय ५७ मत बदर भएको छ । त्यस्तै गरी नगरप्रमुख उम्मेदवारको २ हजार २ सय ७५ मत बदर भएको कुरा बनेपा नगरका आइटी अफिसर शुरेश कुमार थापाले जानकारी दिनुभयो । बनेपा नगरपालिका निर्वाचन अधिकृत शारदा भण्डारीका अनुसार राजनीतिक दलका कार्यकर्ताहरुले आ–आफ्नो क्षेत्रमा मत माग्न चाँहि जाने मत राख्ने तरिका नसिकाउँदा र निर्वाचन आयोगले पनि मतदाता शिक्षा नदिदाँ बदर मत धेरै भएको उल्लेख गर्नुभयो ।
