नेकपा एमाले धुलिखेल नगरकमिटीले स्थानीय तह निर्वाचन २०७९ नेकपा एमाले धुलिखेलको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । एमाले धुलिखेल नगर कमिटिले विहिबार सञ्चारकर्मी र २०७४ मा नगरमा निर्वाचित जनप्रतिनिधिका बीच सुखी नागरिक, समृद्ध धुलिखेल बनाउने प्रतिवद्धता सार्वजनिक गरेको हो । नेकपा एमाले काभ्रे अध्यक्ष एवं धुलिखेल नगरपालिका नगर प्रमुखको उम्मेदवार अशोक व्याञ्जुले प्रतिवद्धता पत्र सार्वजनिक गर्दै २०७४ को स्थानीय निर्वाचनमा आफू सहित निर्वाचित जनप्रतिनिधिहरुले धुलिखेल नगरको समग्र विकासमा योगदान गरेको उल्लेख गर्नुभयो । नगर प्रमुखका उम्मेदवार अशोक व्याजुले जनप्रतिनिधिहरु शासक नभई सेवक भएर कार्य गर्ने बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, पर्यटन उद्योग र उद्यमशिलताको विकासलाई विशेष जोड दिँदै प्राथमिककरणको आधारमा नगरको नमुना विकास गरेको कुरा नगर प्रमुखमा उम्मेदवार व्याञ्जुले बताउनुभयो । पूर्ण साक्षरता नगर, ८९ प्रतिशत नगरवासीहरुलाई एक घर एक धारा पिउने पानीको प्रवन्ध, १३ प्रतिशत गरीवीको रेखा मुनि रहेका ४ दशमलव ३६ प्रतिशतमा झार्न सफल भएको नगर प्रमुखका उम्मेदवार व्याञ्जुले बताउनुभयो । ३८ हजार जनसंख्या रहेको धुलिखेल नगरपालिकामा सुखी नागरिक समृद्ध धुुलिखेल बनाउने अभियानको पुरा नेकपा एमालेबाट निर्वाचित स्थानीय सरकारले मात्र गर्न सक्ने कुरा नगर प्रमुखका उम्मेदवार व्याञ्जुले बताउनुभयो ।
गुुणस्तरीय दिगो र उत्थानशील विकास सबै वडा केन्द्र सम्म जोड्ने सडक कालोपत्रे गरिने छ । सबै वडालाई जोड्ने चक्रपथ निर्माण, एक घर एक धारा सम्पूर्ण नगरवासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउने, अति विपन्न परिवारलाई १० युनिट सम्मको पानी निःशुल्क उपलब्ध गर्ने, फोहोर मैला व्यवस्थापन, सबै वडामा व्यवस्थित ढल निकासको प्रवन्ध, अति विपन्न परिवालाई १० युनिट सम्मको विजुली निःशुल्क उपलब्ध गराउने, धुलिखेलका सबै वडा प्रविधिमैत्री बनाइने, उद्योग तथा पर्यटन क्षेत्रको विकास, महिला सशक्तिकरण, बालमैत्री, जेष्ठ नागरिक मैत्री व्यवस्थित शहर निर्माण गर्ने लगायतका प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । ु
कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमीटी सदस्य केशव वडाल, विमला शर्मा, नेकपा एमाले धुलिखेल नगर कमीटी अध्यक्ष दयाराम महत, धुलिखेल नगरपालिकाको उपप्रमुखकी उम्मेदवार लालतारा अधिकारी, इन्चार्ज कमला काफ्ले लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन नगर सचिव विष्णु काभ्रेलीले गर्नुभएको थियो ।
