IMG-LOGO

आगलागी नियन्त्रणबारे तीन दिने तालिम

 मंगल, बैशाख १३, २०७९  --

 

      भकुण्डेबेशी–आगलागीबाट बर्सेनी हुने गरेको क्षति न्यूनिकरणका लागि अग्नि नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी तीन दिने तालिम आज मंगलबार भकुण्डेबेशीमा सम्पन्न भएको छ ।

      नमोबुद्ध नगरपालिकाको आयोजनामा भएको तालिममा नगरपालिकामा कार्यरत नगर प्रहरी तथा सवारीचालक १५ जना, नेपाली सेनाबाट १५ जना तथा जिल्ला वन कार्यालयबाट खटिएका अग्नि नियन्त्रक ५ जना गरी ३५ जनाको सहभागिता रहेको थियो । सहभागीहरुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणका बरिष्ठ अधिकृत अरुणकुमार आचार्य, जुद्ध वारुणयन्त्र भक्तपुर कार्यालय प्रमुख विजय धौभडेल र जुद्ध वारुण यन्त्रमा कार्यरत अग्नि नियन्त्रकहरुले प्रशिक्षण दिएा थिए । उनीहरुलाई सैद्धान्तिकका साथै व्यवहारिक प्रशिक्षण दिइएको थियो ।

      सहभागीहरुलाई घर तथा जंगलमा आगलागी हुँदा तथा पेट्रोलियम पदार्थमा आगलागी हुँदा, ग्यास चुहावटका कारण हुने आगलागी नियन्त्रणको तरिका सिकाइनुका साथै आगलागीका घटनाबाट घाइते हुनेहरुको उद्धार गर्ने तरिकाका विषयमा प्रशिक्षण दिइएको थियो । नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाले नमोबुद्ध नगरपालिकामा बर्सेनी आगलागीका ठूला घटना हुने गरेको भन्दै यस्तो किसिमको तालिमका कारण त्यसको न्यूनिकरण र नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

      तालिम समापन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले आगामी दिनमा आउनसक्ने विपदका घटनाबाट हुने जोखिम न्यूनिकरणका लागि तालिम फलदायी हुने बताए । उनले आफूले पाएको ज्ञान र सीपलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न तालिमका सहभागीहरुलाई आग्रह गरे ।

      नमोबुद्ध नगरपालिकामा यस बर्षको हिउँदयता मात्रै पाँचवटा आगलागीका घटना भइसकेका छन् । अघिल्लो बर्ष नगरभित्रका सार्वजनिक तथा सामूदायिक वनमा दुई दर्जन भन्दा बढी आगलागीका घटना भइसकेको नगरपालिकाका सामाजिक परिचालन संयोजक श्याम खनालले जानकारी दिए । तालिमका सहभागीहरुले नगरपालिका परिसर तथा जनक माविमा आगलागी नियन्त्रण, घाइतेको उद्धारका विषयमा नमुना प्रदर्शनीसमेत गरेका थिए ।

      तालिमको क्रममा सहभागीहरुसँग लिखित एवं अभ्यासमुलक परिक्षासमेत लिइएको थियो । जसमा दीपक मैनाली पहिलो, विशालकाजी श्रेष्ठ दोस्रो र शंकर अधिकारी तेस्रो भए । सोही क्रममा जनक माविमा अध्ययनरत विद्यार्थीहरुलाई समेत आगलागी नियन्त्रणका विषयमा प्रयोगात्मक अभ्यास गराइएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्