जिल्ला निर्वाचन कार्यालय काभ्रेले निर्वाचन आचारसंहिता तथा निर्वाचन तयारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम शुक्रबार धुलिखेलमा सम्पन्न गरेको छ । बैशाख ३० मा हुने स्थानिय निर्वाचनका लागि तय गरिएकोे आचारसंहिताको पूर्ण पालना गर्न निर्वाचन कार्यालय काभ्रेले ध्यानाकर्षण गराएको हो । जिल्ला न्यायाधिश एवं मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईको प्रमुख आतिथ्यता एवं प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा निर्वाचन कार्यालय काभ्रेका प्रमुख उमेश कुमार राईले स्वागत मन्तव्य राख्दै निर्वाचन आचारसंहिताले राजनीतिक दलको जुलुस, आमसभामा भाग लिने, प्रचार प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह वा झण्डा अङ्कित लोगो वा स्टिकर, कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने व्यवस्था गरेको बताउनुभयो ।
उम्मेदवारको कार्यालयमा तुल (कपडा) मा बनाइएको ३×३ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्हबाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्यदृश्य सामग्री बजाउन नहुने भन्दै आयोगले सचेत गराएको छ । निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा १८ वर्ष उमेर पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने , संचारमाध्यामको प्रयोगबारे पनि छुट्टै मापदण्ड तोकिएको बताइएको छ । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधी, सञ्चारकर्मी, सुरक्षा प्रमुखहरु, निर्वाचन अधिकृतहरु सहभागि रहेका थिए ।
