IMG-LOGO

राष्ट्रपति भण्डारीद्वारा पुननिर्मित प्राचीन कालिका मन्दिर उद्घाटन

 मंगल, चैत २२, २०७८  --

      कानपुर (नमोबुद्ध)–राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारको विकास गर्ने क्रममा वातावरण संरक्षणमा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ ।       २०७२ सालको भुकम्पका कारण क्षतिग्रस्त नमोबुद्ध नगरपालिका वडा नं. ५ स्थित प्राचीन कालिका मन्दिर समुद्घाटन कार्यक्रमलाई आज संवोधन गर्दै भण्डारीले विकास सम्वन्धी नीति, कार्यक्रम र योजना तर्जुमा गर्दा वातावरण संरक्षणको विषयलाई उच्च प्राथमिकतामा राख्ने सुदृढ संकल्प गर्न पनि जनप्रतिनिधि तथा सम्वद्ध सबैलाई विशेष आह्वान गर्नुभयो । ‘स्थानीय तहमा भौतिक निर्माण एवं पूर्वाधार निर्माण गर्दा प्रकृतिको संरक्षण गरी वातावरण जोगाउने कार्यलाई विशेष महत्व दिनुपर्छ,’ राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘हरियाली प्रवद्र्धन गर्ने, पानीका मुल बचाउने जैविक विविधताको रक्षा गर्ने गरेमा मात्र यस सुन्दर धर्तीलाई भावी पुस्ताका लागि सुरक्षित बनाउन सक्दछौं ।’ भन्नुभयो ।

      ऐतिहासिक सम्पदाको संरक्षण र सम्वद्र्धनका लागि नमोबुद्ध नगरपालिकाले देखाएको अग्रसरताको प्रशंसा गर्दैै भण्डारीले राष्ट्रपति भण्डारीले भूकम्पले भत्काएका सम्पदाहरु अझ बलियो र स्थायीरुपमा पुननिर्माण हुँदा ऐतिहासिक धरोहरको संरक्षण गर्ने राष्ट्रिय आत्मविश्वास पनि अझै बलियो भएको बताउनुभयो । स्थानीय तहमा जनताद्वारा छानिएका जनप्रतिनिधिबाट विकासका काम सञ्चालन भई जनताका दैनिक आवश्यकताको प्रत्यक्ष संवोधन हुनु नै लोकतन्त्रलाई संस्थागत गर्ने सबैभन्दा ठूलो माध्यम भएको भण्डारीको तर्क थियो ।

      नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा गुणस्तरीय शिक्षा, बालबालिकाका लागि दिवा खाजा, पर्यटन तथा कृषि क्षेत्रको उन्नयनमा निरन्तर काम गरिरहेको थाहा पाउँदा खुशी लागेको पनि भण्डारीले बताउनुभयो । नमोबुद्ध नगरपालिकामा पर्यटन क्षेत्रको विकासका लागि भइरहेको कार्यको सराहना गर्दै भण्डारीले मुलुककै राजधानी काठमाडौं र अझै नजिकको धुलिखेललाई गन्तव्य बनाउने पर्यटकको केही संख्यालाई नमोबुद्धमा भित्र्याउन सके मात्रै पनि स्थानीय समुदायको जीवनस्तर माथि उठाउन ठूलो मद्दत पुग्ने बताउनुभयो । दाप्चा र नमोबुद्ध क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्न भइरहेको पहलले यो क्षेत्रको पर्यटनमा थप फलदायी बन्ने विश्वास व्यक्त गर्दै भण्डारीले भन्नुभयो, ‘यसका लागि भइरहेको आवश्यक पूर्वाधार निर्माणमा शसक्त लाग्नु पर्ने बताउनुभयो ।    

      कार्यक्रममा नमोबुद्ध नगरपालिका प्रमुख टी.पी. शर्मा तिमल्सिनाले प्राचीन कालिका मन्दिर पुननिर्माणका लागि सहयोग गर्ने पुरातत्व विभागसहित सबैमा धन्यवाद व्यक्त गर्दै ऐतिहासिक धरोहरको संरक्षण र सम्वद्र्धनको कार्यमा हौसला बढाउन उपस्थित हुनुभएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीप्रति आभार प्रकट गर्नुभयो । कृषि व्यापार र पर्यटन हाम्रो सशक्त अभियान मुल नारासहित अघि बढिरहेको नमोबुद्ध नगरपालिकाले यस क्षेत्रका धार्मिक एवं सांस्कृतिक महत्वको क्षेत्रको संरक्षण र सम्वद्र्धन  गरेको बताउनुभयो ।

      कार्यक्रममा राष्ट्रपति भण्डारीलाई नमोबुद्ध नगरपालिका र सम्पूर्ण नगरबासीको तर्फबाट अभिनन्दन गरिएको थियो । यस्तै कालिका मन्दिर पुननिर्माणमा महत्वपूर्ण भूमिका खोल्ने पुरातत्व विभागलाई राष्ट्रपति भण्डारीले सम्मान गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले पुननिर्मित कालिका मन्दिरको समुद्घाटन सँगै पूजाअर्चनासमेत गर्नुभएको थियो । विक्रम संवत १८३८ मा निर्माण भएको उक्त मन्दिर २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएको थियो । मन्दिर पुननिर्माण पुरातत्व विभाग, राष्ट्रिय पुननिर्माण प्राधिकरण, शहरी विकास तथा भवन निर्माण विभाग र नमोबुद्ध नगरपालिकाको सहकार्यमा सम्पन्न गरिएको हो । मन्दिर पुननिर्माणका लागि पुरातत्व विभागबाट १ करोड ४० लाख, पुननिर्माण प्राधिकरण र शहरी विकास तथा भवन निर्माण विभागबाट संयुक्तरुपमा ६० लाख र नमोबुद्ध नगरपालिकाबाट ४ लाख रुपैयाँ खर्च भएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्