IMG-LOGO

नमोबुद्ध नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम

 मंगल, फागुन १७, २०७८  ---

      भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकाले अघिल्लो आर्थिक बर्षमा सम्पादन गरेका कार्यहरुबारे सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।

      आर्थिक बर्ष २०७७÷७८ मा नगरपालिकाबाट गरिएको सेवा प्रबाह र विकास निर्माणका कार्यबारे नगरपालिकाका विभिन्न ठाउँमा सार्वजनिक सुनुवाई गरिएको हो । सोमबार र मंगलबार गरी चार ठाउँमा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ । सोमबार वडा नं. १, ९, १० र ११ को सार्वजनिक सुनुवाई वडा नं. १० को कार्यालयमा सम्पन्न भएको थियो । यस्तै सोमबार नै वडा नं. ६, ७ र ८ को सार्वजनिक सुनुवाई नगरपालिका सभा हलमा सम्पन्न भएको थियो ।

      आज मंगलबार वडा नं. ३ र ४ को सार्वजनिक सुनुवाई वडा नं. ३ को दाहालचौर र वडा नं. ५ को सार्वजनिक सुनुवाई कानपुरमा सम्पन्न भएको छ । वडा नं. १० मा भएको सार्वजनिक सुनुवाईमा दाप्चा क्षेत्र पुनरुत्थान, खानेपानी समस्या लगायतका विषयमा, नगरपालिका हलमा भएको सार्वजनिक सुनुवाईको क्रममा नगरबासीहरुले क्रसर उद्योगको धुलोका कारण परेको समस्या, सडकको स्तरोन्नति नहुँदा भएका समस्या लगायतका विषयमा जवाफ मागेका थिए । यस्तै दाहालचौरमा भएको सार्वजनिक सुनुवाईमा बाटो कालोपत्रेमा भएको ढिलाई लगायतका विषयमा नगरबासीले प्रश्न गरेका थिए भने कानपुरमा भएको सार्वजनिक सुनुवाईमा शिक्षक दरवन्दी मिलान, आधारभुत स्वास्थ्य केन्द्र सञ्चालन लगायतका विषयमा नगरबासीले प्रश्न गरेका थिए ।

      सार्वजनिक सुनुवाई कार्यक्रममा नगरबासीले उठाएको प्रश्नको जवाफ नगर प्रमुख टी.पी शर्मा तिमल्सिना, उपप्रमुख रामदेवी तामाङ र प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले दिएका थिए । नगर प्रमुख तिमल्सिनाले आफूहरु कार्यकालको अन्तिम समयमा आइपुगेको र पछिल्लो पाँच बर्षको अवधिमा जनअपेक्षाअनुसार सक्दो काम गरेको बताए । चुनावी प्रतिवद्धताअनुसार वातावरणमैत्री नगर निर्माण, सबै वडा कार्यालयको भवन निर्माण, स्वास्थ्य संस्थाका भवन निर्माण गरिएको तिमल्सिनाले बताए । सुशासन, आवश्यक कानुनहरुको निर्माण लगायतका विषयमा नमोबुद्ध नगरपालिका अग्रपंक्तिमा रहेको उनले बताए ।

      चारवटै सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले अघिल्लो आर्थिक बर्षमा सम्पन्न गरेका कामको प्रगति विवरण प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजीकरण कम्प्युटर अपरेटर श्याम खनालले गरेका थिए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्