IMG-LOGO

पहिरो जाँदा एकको मृत्यु दुई घाइते

 मंगल, फागुन १७, २०७८  ---

      बनेपा न.पा. वडा नं. १४ आशापुरीको ढुङ्गाखानीमा पहिरो जाँदा एकको घटना स्थलमै मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी हरि खतिवडाका अनुसार आइतबार आशापुरी ढुङ्गा गीटी सप्लायर्समा सुख्खा पहिरो जाँदा रामेछाप जिल्ला दोरम्बा सैलुङ गाउँपालिका वडा नं ४ घर भएका हाल भक्तपुर ठिमीमा बस्ने  ३२ वर्षीय श्याम मगरको मृत्यु भएको हो । निधन भएका मगर प्रदेश ३–०२–००–३ क ५७४८ नम्बरको स्काभेटर चालक रहेको सूचना अधिकारी खतिवडाले जानकारी दिनुभयो । सोही पहिरोमा परी बनेपा वडा नं १४ आशापुरीका स्काभेटर चालक २९ वर्षीय सिद्धिमान तामाङ र स्काभेटर सहचालक खोटाङ जिल्ला खोटाङ गाउँपालिका–२ घर भई  हाल बनेपा न.पा. १४ आशापुरी बस्ने २३ वर्षीय रमेश सार्की घाइते भएका छन् । उनीहरुको टाउको र खुट्टामा चोट लागेको उपचारको लागि ठिमी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

      उक्त पहिरोमा परी स्काभेटर–२, टिपर ३, महेन्द्र निशान २ वटा पुरिएको वडा नं. १४ का अध्यक्ष गौरी राउतले जानकारी दिनुभयो । स्थानीय बासीन्दाका अनुसार ढुङ्गा खानी दर्ता नभएको तर जवरजस्ती विरोध हुँदा हुँदै सूर्यविनायक नगरपालिका वडा नं ८ का वडा अध्यक्ष किरण थापा र बनेपाका रवि श्रेष्ठले ढुङ्गा गिटी सप्लायर्स सञ्चालन गरेको बताइयो । बनेपा न.पा. वडा नं. १४का वडा अध्यक्ष  गौरी राउतका अनुसार एक वर्ष अघि नै उक्त खानी नचलाउन बनेपा नगरपालिकाले पत्र दिए पनि जवरजस्ती खानी सञ्चालन गरेको बताउनुभयो । विगत एक वर्ष देखि नगरपालिकाले कुनै कर नलिएको समेत वडा अध्यक्ष राउतले जानकारी दिनुभयो । आइतबार करिव १ बजे भएको उक्त घटनामा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली, इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक राजन कोइराला र काली जंग गण धुलिखेलका सैनिक जवानहरु उद्धारको लागि दुई घण्टा पछि पुग्नु भएको स्थानीयले बताए ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्