काभ्रे। कथाकार ध्रुवकृष्ण ताम्राकारको कथा संग्रह ‘मिराज’ एक कार्यक्रम बीच ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कर्माचार्यको प्रमुख आतिथ्यमा ‘मिराज’ कथा संग्रहको बिमोचन भएको छ । प्रमुख अतिथि कर्माचार्यले मन्तव्य दिने क्रममा मिराजभित्र रहेका कथाहरू सामाजिक यथार्थ परक रहेको बताउनु भयो । एक फरक प्रसंगमा आफू काठमाडौंबासी भएपनि पनौती आफूहरुको पुख्र्यौली थलो रहेको उल्लेख गर्दै आफुलाई आयोजक अक्षरमार्गले सम्झेर बारम्बार बोलाउने गरेको भन्दै आभार प्रकट गर्नुभयो । त्यस्तै कथा संग्रहका बारेमा बोल्दै साहित्यकार सूर्यप्रसाद लाकोजूले सर्जक ताम्राकारको कथासंग्रहमा समाजको प्रतिबिम्ब रहेको र कथाहरू जिवन्त रहेको बताउनुभयो । मिराज कथा संग्रहमा ११ वटा कथा संकलित छन् ।
जसमा नियति, चित्कार, नाबाधियको बन्धन, अन्यौल, हराएको मायाँ, झरना, सिन्दुर, माइत, बिछोड लगायतका कथाहरु संग्रहित छन् । पुस्तकलाई ट्रान्स वोर्लड पब्लिकेशनले प्रकाशन गरेको हो । यसअघि कथाकार ताम्राकारको आशुको कथा नामक कथा संग्रह प्रकाशित भैसकेको छ। यस्तै, प्रारम्भ (कविता संग्रह), स्पन्दन (मुक्तक संग्रह), हृदयका उदगार (कविता संग्रह), भावनाका उत्सर्गहरु(गीत संग्रह) प्रकाशित भैसकेका छन् । कार्यक्रममा नेपाली लेखक संघ काभ्रेका अध्यक्ष विजयराम कर्माचार्य, नेवा पत्रकार दवू काभ्रेका अध्यक्ष सिद्धिबहादुर कर्माचार्य, पनौती साहित्य समाजका अध्यक्ष रामसुन्दर देउजा, उद्योग बाणिज्य महासंघ काभ्रेका अध्यक्ष राजेन्द्र पसँक्षे, इन्द्रेश्वर क्याम्पसका अध्यक्ष तुयुकाजी ताम्राकारले ‘मिराज’ कथा संग्रहका सर्जक ध्रुवकृष्ण ताम्राकारलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो ।
