IMG-LOGO

भैंसी संरक्षण तथा संवद्र्धनका लागि पाडी वितरण

 मंगल, माघ २५, २०७८      हरिनाथ न्यौपाने

        पनौती नगरपालिकाले भैँसी संरक्षण तथा संवद्र्धन अभियान अन्तर्गत कृषकहरुलाई पाडी वितरण कार्यक्रमको चौथो पटक शुभारम्भ गरेको छ । विगत ३ वर्षदेखि निरन्तर भैँसी संरक्षण तथा संवद्र्धधनका कार्यक्रम गर्दै आएको नगरपालिकाले यो वर्ष पनि पाडी वितरण अभियानको शुभारम्भ गरेको हो । आईतबार नगरपालिका प्राङ्गणमा यो आर्थिक वर्षको पहिलो चरण अन्तरगत नगरपालिकाको वडा नं ४ का कृषकहरुलाई गोलाप्रथाबाट १५ वटा पाडी वितरण गरिएको छ  । जिल्ला समन्वय समिति उपप्रमुख मञ्जु गौतमको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको पाडी वितरण अन्तर्गत यो वर्ष १५० वटा पाडी वितरण गर्ने कार्यक्रम रहेको छ भने गत वर्ष सम्म ८०६ वटा पाडी वितरण गरिसकेको पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखा प्रमुख मणिप्रसाद  सापकोटाले जानकारी दिनुभयो ।

      नगर प्रमुख भिम न्यौपानेले आफ्नै सम्पति सम्झेर मिहेनत गरेमा राम्रो उत्पादन र प्रतिफल पाउने सकिने बताउदै यसबाटै आर्थिक उन्नति हुदै जाने र प्रतिफलको लागि केहि समय धैर्य गर्न पनि उपस्थित कृषकहरु लाई आग्रह गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले नगरको कार्यक्रम जनतामूखी भएको भन्दै यसबाट लाभ लिन कृषकहरुलाई आव्हान गर्नुभयो । नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले स्वागत मन्तव्य राख्नु हुँदै कृषि र पशुपन्छीको क्षेत्रबाट नै पनौतीका नागरिकहरुको आर्थिक उन्नति हुने उल्लेख गर्नुभयो । पनौती नगरपालिकालाई दुग्धजन्य उत्पादनमा अझै सबल बनाउने र विपन्न किसानको आर्थिक स्तर माथि उठाउने उद्देश्यले सुरुवात गरिएको कार्यक्रम अन्तर्गत पनौती क्षेत्रमा ३ वर्ष अगाडिसम्म प्रतिदिन २५ हजार लिटर उत्पादन हुने गरेकोमा हाल प्रतिदिन ४५ हजार लिटर उपभोग गरेर दुध किसानले बेच्ने गरेको बताइएको छ ।

      भैंसीको दुधको उत्पादन बढेपछि पनौती केन्द्रित भएर ५ वटा ठुला प्रशोधन डेरीहरु खुलिसकेका छन् भने दुग्ध चिस्यान केन्द्र ३० वटा पुगिसकेको कृषि तथा पशुपन्छी शाखा प्रमुख मणिप्रसाद  सापकोटाको भनाई छ । यो वर्ष १५० वटा पाडीसंगै लैना गाईं ५९ वटा, बाख्रा १५० वटा, बोयर बोका १० वटा, मासुको लागि पाडा ११० वटा र प्रजननको लागी उन्नत जातको मुर्रा रागो ६ वटा वितरण गर्ने आफुहरुको कार्ययोजना रहेको सापकोटाले बताउनुभयो । भैँसी संरक्षण तथा संवद्र्धधन कार्यक्रम अगाडी पनौतीमा भैंसीको संख्या ४ हजार ७४७ वटा थियो भने अहिले ८ हजार २६८ वटा पुगेको छ । २०७५÷७६ बाट थालनी गरिएको भैंसी सुत्केरी भत्ता वितरण कार्यक्रम अहिलेसम्म पनि जारी रहेको छ । नगर उप–प्रमुख गीता बञ्जाराको सभापतित्वमा सम्पन्न कार्यक्रममा  प्रमुख प्रशासकीय अधिकृत प्रदिप पोडेल, शाखा प्रमुखहरु, कर्मचारी, कृषक, तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्