बनेपा, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को २४ औँ वार्षिक साधारण सभाबाट नवनिर्वाचित टिमलाई मंगलबार एक कार्यक्रम बीच सक्रिय बचत तथा ऋण सहकारी संस्था लि. बनेपा–८ ले बधाई तथा शुभकामना ज्ञापन गरेको छ । सक्रिय साकोस बनेपाका सचिव राजेश्वर श्रेष्ठले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा जिल्ला बचत संघका प्रमुख सल्लाहकार रामहरी केसीले सहकारी संस्थाहरुको विकासले संस्थामा आबद्ध रहेका शेयर सदस्यहरुको बृहत्तर आर्थिक हित हुनु पर्ने, मानव जगतलाई असली राजनीति सिकाउने कार्य सहकारी संस्थाले गरेको उल्लेख गर्नुभयो । जिल्ला बचत संघका नवनिर्वाचित अध्यक्ष जितेन्द्र नकर्मीले सहकारी संस्थाहरुको दिगो विकास, प्रारम्भीक संस्थाहरुलाई आर्थिक सुशासन, पारदर्शीता र आधुनिक प्रविधि मैत्री सेवा अवलम्ब गरेर शेयर सदस्यहरुको जीवनमा हाँसो र खुसी ल्याउन सक्नु पर्ने धारण राख्नुभयो ।
काभ्रे जिल्लामा ७ सय ४५ बचत तथा ऋण सहकारी रहेकोमा जिल्ला बचत संघमा भने २ सय ५३ सहकारी संस्थाहरु आवद्ध रहेका छन् । सक्रिय साकोसका अध्यक्ष सुशिल पोटेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सञ्चालक सदस्य राजेन्द्र कोङ्गले गर्नुभएको थियो । यसै गरी सनलाइट बचत तथा ऋण सहकारी संस्था धुलिखेल–५ले पनि जिल्ला बचत संघ लि. का नवनिर्वाचित टिमलाई बधाई तथा शुभकामना दिएको छ । धुलिखेल वडा नं. ५ का वडा अध्यक्ष गंगासागर रञ्जीतकारको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला बचत संघका अध्यक्ष जीतेन्द्र नकर्मी, प्रमुख सल्लाहकार रामहरी केसी र जिल्ला बचत संघका नवनिर्वाचित टिमलाई प्रमुख अतिथि गंगासागर रञ्जीतकारले माला खादा र मायाको चिनो प्रदान गरेर बधाई तथा शुभकामना दिनु भएको थियो । संंस्थाका अध्यक्ष पूर्णसागर रञ्जीतकारको सभापतित्वमा सम्पन्न भएको थियो ।
