कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि स्वास्थ्य कार्यालय काभ्रेले खोप अभियानलाई निरन्तरता दिईरहेको छ । कोभिशिल्ड÷एस्ट्राजेनिका, भेरोसेल, जे एण्ड जे, फाइजर, मोडर्ना, बुस्टर खोप अभियानबाट आइतबार सम्ममा काभ्रे जिल्लाका २ लाख ४७ हजार ५७ जना नागरिकले पूर्ण मात्राको खोप लगाएका छन् भने २ लाख १७ हजार ९ सय ३२ जनाले पहिलो मात्रा खोप लगाएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । जसमध्ये ३६ हजार ७ सय २४ जनाले कोभिशिल्डको पहिलो मात्रा, २९ हजार ५ सय ८ जनाले पूर्ण मात्रा लगाएका छन् भने भेरोसेलको पहिलो मात्रा १ लाख ७३ हजार ५ सय २९ जनाले, पूर्ण मात्रा १ लाख ५१ हजार ४ सय ६४ जनाले, ३ हजार ३ जनाले फाइजर खोपको पहिलो मात्रा र २८ सय ४० जनाले पूर्ण मात्राको खोप लगाएको तथ्याङ्क रहेको छ । यसैगरी ४ हजार ६ सय ७६ जनाले मोडर्नाको पहिलो मात्रा लगाए भने २० हजार ९ सय ४५ जनाले जे एण्ड जे खोप लगाएको स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डा. पुरुषोत्तम राज सेढाईले जानकारी दिनुभयो । यस्तै भेरोसेलको बुस्टर डोज ७ हजार ४ सय ५० जनाले लगाए भने कोभिशिल्डको बुस्टर डोज ५ हजार ७ सय ६४ जनाले लगाएको बताइएको छ । मोर्डनार बुस्टर खोप अभावले गर्दा विद्यार्थीहरुले समेत खोप लगाउन पाएका छैनन् ।
आइतबार सम्मको तथ्याङ्क अनुसार हाल सम्म काभ्रे जिल्लामा १७ हजार १ सय ८५ जना कोभिड–१९ बाट संक्रमित भए भने १५ हजार ९ सय ५९ जना निको भई डिस्चार्ज भएका छन् । काभ्रे जिल्लामा हालसम्म १ सय ९५ जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ भने १ हजार ३१ जना सक्रिय संक्रमित रहेका छन् । स्थानिय तह अन्तरगत हाल सम्म सक्रिय संक्रमितको संख्या सबै भन्दा बढि बनेपा नगरपालिकामा ३ सय १० जना, धुलिखेल नगरपालिकामा ३ सय ३ जना, पनौती नगरपालिकामा १ सय ९७ जना, पाँचखाल नगरपालिकामा ८१ जना, नमोबुद्ध नगरपालिकामा ३४ जना, मण्डनदेउपुर नगरपालिकामा २४ जना रहेका छन् । त्यस्तै भुम्लु गाउँपालिकामा कोभिड–१९ का सक्रिय संक्रमित २३ जना, चौरीदेउराली गाउँपालिकामा १७ जना, रोशी गाउँपालिकामा १५ जना, बेथानचोक गाउँपालिकामा १४ जना, महाभारत गाउँपालिकामा ८ जना, तेमाल गाउँपालिकामा ५ जना छन् भने खानीखोला गाउँपालिकामा सक्रिय संक्रमित नरहेको स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।
