धुलिखेल, जिल्ला प्रशासन कार्यालय काभ्रे धुलिखेलबाट आइतबार देखि ई–पासपोर्ट सेवा शुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले एक कार्यक्रमका बीच ई–पासपोर्ट सेवा प्रदानको उद्घाटन गर्नुभयो । कार्यालयबाट एमआरपी मेशिन रिडएबल पासपोर्ट सेवा दिदैँ आएकोमा अब ई–पासपोर्ट (विद्युतीय राहदानीबाट) सेवा प्रवाह हुने जिप्रका काभ्रेका सहायक प्रजिअ अमर दिप सुनारले जानकारी दिनुभयो । विद्युतीय राहदानी लिनका लागि सरकारले जारी गरेको राष्ट्रिय परिचय पत्रको नम्बर अनिवार्य चाहिने हुन्छ ।
परिचय पत्रमा जुन विवरणहरु प्रयोग भएको हुन्छ त्यसको प्रमाणीकरण ई–पासपोर्टमा हुन्छ । ई–पासपोर्ट प्रयोग गरिदाँ सम्बन्धीत व्यक्ति बाहेक अरु कुनै तरीकाले पासपोर्ट लिन नसक्ने, नक्कली कार्य नहुने र एमआरपीको तुलनामा ई–पासपोर्ट बढी विश्वसनीय हुनुका साथै सुरक्षित हुने कुरा सहायक प्रजिअ सुनारले बताउनुभयो । सरकारले राहदानी विभाग काठमाण्डौबाट गत मंसिर १ गते देखि ई–पासपोर्ट वितरण शुरु गरेको थियो ।
