नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले गर्ने निर्णयका आधारमा एमालेले एमसिसिका बारेमा निर्णय गर्ने बताउनु भएको छ । आइतबार अनेरास्ववियु केन्द्रीय कमिटीको महिला विभागले आयोजना गरेको नेतृत्व विकास तथा सशक्तीकरण विषयक तीन दिने आवासीय प्रशिक्षणको समापन गर्न बनेपा आउनु भएका पोखरेलले सञ्चारकर्मी सँगको भेटमा गठबन्धनलाई अगुवाइ गर्ने नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्रीले एमसिसिका बारेमा जवाफ दिनुपर्ने बताउनुभयो । एमालेले कारबाही गरेका सांसदहरु संसदमा रहुञ्जेल संसद् नचल्ने भन्दै उहाँले सभामुख सापकोटा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको कार्यकर्ता बनेर प्रस्तुत भएको टिप्पणी गर्नुभयो । नेकपा एमालेले छिट्टै सामाजिक र परोपकारी समाजसेवी संगठन बनाउने निर्णय गरेको समेत उहाँले जानकारी दिनुभयो । नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उद्घाटन गर्नु भएको प्रशिक्षणमा पोलिटब्युरो सदस्य गोकुल बास्कोटा, भानुभक्त ढकाल, डा. बिन्दा पाण्डे, माधव ढुंगेल, पार्टी जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, अनेरास्ववियु अध्यक्ष सुनिता बराल लगायतले प्रशिक्षण दिएका थिए । देशभरबाट १ सय १५ जना अनेरास्ववियुका महिला नेतृहरू प्रशिक्षणमा सहभागी भएका थिए ।
