धुलिखेलमा जारी “नेपाल आइस धुलिखेल मेयर कप फुटबल प्रतियोगिता” अन्तर्गत सोमबार भएको पहिलो खेलमा पनौती फुटबल एकेडेमी विजयी भएको छ । गाँगल युथ क्लव पनौतीलाई ५–० ले पछि पार्दै पनौती फुटबल एकेडेमी विजयी भएको हो । पहिलो खेलमा एकेडेमीकै योगेन्द्र तामाङ म्यान अफ दि म्याच घोषित भए । यसैगरी सोमबार नै भएको दोस्रो खेलमा बार्सा नेपाल काठमाण्डौँ विजयी भएको छ । छोर्गन फुटबल क्लब तेमाललाई २–० ले पछि पार्दै बार्सा विजयी भएको हो भने बार्साकै दिपक तामाङ म्यान अफ दि म्याच घोषित भए । प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले नगद १ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र उपलब्ध गराइने प्रतियोगिता संयोजक जयोज नरसिं श्रेष्ठले बताउनु भयो ।
उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र म्यान अफ दि म्याच प्राप्त गर्ने खेलाडीहरूलाई नगद ५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र उपलब्ध गराउने छ । प्रतियोगितामा ए डिभिजन, सी डिभिजन क्लबका समेत गरी काठमाडौँ, भक्तपुर, सिन्धुली र काभ्रे जिल्लाका क्लबहरू सहभागी भएको कार्यक्रम संयोजक जयोज नर्सिङ्ग श्रेष्ठले बताउनुभयो । आइतबार धुलिखेल नगरप्रमुख अशोक व्याञ्जुले समुद्घाटन गर्नु भएको प्रतियोगीता पौष ९ गते समापन गरिने क्लवका अध्यक्ष सुबल चोच्छे श्रेष्ठले जानकारी दिनुभयो ।
