बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सरकारको कामलाई चलायमान बनाउन मन्त्रालय थप्नु परेको दाबी गर्नुभएको छ । मंगलबार धुलिखेलमा नेपाल व्यवसायिक बाख्रापालक महासंघ काभ्रेको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले बागमती प्रदेश सरकारले आठ मन्त्रालयलाई फुटाएर १४ मन्त्रालय बनाएको र विकासको सन्तुलनलाई कायम गराउन मद्त गर्छ भन्ने विश्वास लिएको धारणा व्यक्त गर्नुभयो । सरकारले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय बनाएको छ । त्यस्तै भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाएर कृषि तथा पशुपक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय बनाएको छ भने सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय र सामाजिक विकास मन्त्रालय बनाइएको छ ।
कार्यक्रममा बागमती प्रदेशका सांसद बसुन्धरा हुमागाई, भेटनरी अस्पताल तथा विज्ञ केन्द्र काभ्रेका प्रमुख डा. मोगलप्रसाद शाह, राजकुमार हुमागाई, नेपाल व्यवसायिक बाख्रा पालन महासंघका उपाध्यक्ष गोविन्द सुवेदी, महासचिव अमृत तिवारी, कोषाध्यक्ष दीपक गौतम, सचिव विनिता थामी, प्रदेश कमिटी सहसचिव रामप्रसाद गौतम, मकवानपुर सचिव बद्रि अधिकारी, रामेछापका सचिव नवराज खड्का लगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । यसैबीच मुख्यमन्त्री पाण्डेले मंगलबार नै काभ्रेको मण्डनदेउपुर नगरपालिकामा सञ्चालित ‘मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी आयोजना’को समेत शिलान्यास गर्नुभएको थियो । शिलायान्स कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले सबै क्षेत्रको एकीकृत सहयोग र समन्वय भएमा विकास तिव्र गतिमा हुन सक्ने दावी गर्नुभयो ।
