नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा संस्थापन समूहका इन्द्र बानियाँ विजयी भएका छन् । कांग्रेस मकवानपुर जिल्ला सभापति समेत रहेका उनले संस्थापनइतर समूहका सभापतिका प्रत्यासी जगदीश्वर नरसिंह केसीलाई पराजित गरेका हुन् । दोस्रो चरणको मतदानमा २०३५ मत खसेकोमा बानियाँले १०८५ मत पाए भने केसीले ९२७ मत पाए । नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा संस्थापन पक्षका उद्धव थापा विजयी भएका छन् । थापाले रामचन्द्र पौडेल पक्षका गुरुराज घिमिरेलाई दुई मत अन्तरले हराएका हुन् । थापाले ८४४ र घिमिरेले ८४२ मत पाएका छन् । पदाधिकारीमा एक महामन्त्री बाहेकका अन्य पदहरुमा पनि थापा पक्ष नै विजयी भएको छ । उपसभापतिमा संस्थापन पक्षका रमेशजंग रायमाझी ८९१ मतसहित र टंकप्रसाद राई ८४७ मतसहित विजयी भएका छन् । संस्थापन इतरका उम्मेदवार गोविन्द प्रसाद ढुंगानाले (केदार)ले ७६५ र विश्वनाथ रिजाल (त्रिलोचन)ले ६६९ मत पाए । महामन्त्रीमा संस्थापन पक्षका भूपेन्द्र राई ८२४ र संस्थापन इतरका उमेश थापा ८२३ मत सहित विजयी भएका छन् । महामन्त्रीका अन्य उम्मेदवार पदम सुन्दर पालुङ्गवाले ८०७ र दिपन कुमार श्रेष्ठले ७६४ मत पाएका छन् । सहमहामन्त्रीमा खड्ग फागो लोकप्रिय मतसहित विजयी भए । उनले १०२६ मत पाएका छन् । यसैगरी विनोदकुमार बस्नेत पनि ७४७ मतसहित सहमहामन्त्रीमा विजयी भए । सहमहामन्त्रीको महिला कोटामा प्रमिला गच्छदार ८३७ मतसहित विजयी भएकी छन् । सहमहामन्त्रीका अन्य उम्मेदवारहरुमा सीता कार्कीले ७३३, रोहित कुमार शाहले ६६५, विरकाजी राईले ६४७ र शुभन्द्र राईले ८४ मत पाए । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतर समूहका अमरसिंह पुन मगर विजयी भएका छन् । पुनले संस्थापन पक्षका भरतकुमार शाहलाई ८५ मतको अन्तरले पराजित गरेका हुन् । सभापतिमा विजयी पुनले ८५२ मत पाउँदा शाहले ७६७ मत पाए । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर निर्वाचित भएका छन् । कुल १ हजार २६ जना प्रतिनिधिमध्ये १ हजार ३ जनाले मतदान गरेका थिए, जसमध्ये बलायरले ६ सय ८८ मत ल्याउँदा नारायणदत्त मिश्रले २ सय ८० मत मात्र पाएका छन् । बलायर संस्थापन समूहका उम्मेदवार हुन् । पदाधिकारीमा पनि उनकै प्यानल विजयी भएको छ । उपसभापतिमा जनकराज चौधरी ६१० र लोकराज अवस्थी ५२३ मतका साथ विजयी भएका छन् । महामन्त्रीमा मेघराज खड्का ६४८ र नरनारायण शाह ६३५ मत पाएर निर्वाचित भए । यसैगरी सह महामन्त्रीमा चिन्तामणि भट्ट ५२९, गोपालदत्त भट्ट ५३३ र अम्बिकाकुमारी चलाउने ६८६ मतका साथ निर्वाचित भएका छन् । यसैबीच नेपाली कांग्रेसको प्रदेश नं २ को नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्योलमा छ । हालसम्म केन्द्रिय निर्वाचन समितिबाट सबै प्रतिनिधिको नामावली प्रदेश निर्वाचन समिति समक्ष प्राप्त नहुँदा निर्वाचन प्रक्रिया अन्योलमा परेको हो । प्रदेश नं २ का आठवटै जिल्लामा ३२ प्रदेश निर्वाचन क्षेत्र छन् । नेपाली कांग्रेस प्रदेश २ का निर्वाचन अधिकृत प्रल्हद गौतमका अनुसार प्रदेशका सात निर्वाचन क्षेत्रमा प्रदेश अधिवेशन हुन नसकेकाले प्रतिनिधिको नामावली प्राप्त हुन सकेको छैन ।
