“माटोको अम्लियकरण रोकौँ, माटोको उत्पादकत्व बढाऔँ” भन्ने नाराका साथ बिश्व माटो दिवस २०७८ पनौतीमा बृहत माटो जाँच शिविरको आयोजना गरी सम्पन्न भएको छ । तीन दिन सम्म चलेको माटो जाँचका क्रममा पनौती क्षेत्रको खेतियोग्य जमिनमा धेरै मात्रामा अम्लीयपनाको समस्या देखिएको माटो तथा मल परिक्षण प्रयोगशाला हेटौडाका प्रमुख वरिष्ठ माटो विज्ञ डाक्टर जनार्दन खड्काले बताउनुभयो । पनौती नगरपालिकाको प्रांगणमा आयोजित बृहत माटो जाँच शिविर तथा कृषि चुन वितरण कार्यक्रममा पनौतीका १२ वटै वडाका विभिन्न क्षेत्रका ४ सय ३ माटोको नमुना परिक्षणमा जमिनमा धेरै मात्रामा अम्लीयपनाको समस्या देखिएको, नेपालमा खेतियोग्य जमिनको ५० प्रतिशत भन्दा बढी माटोमा अम्लीय समस्या रहेको, बागमती प्रदेशमा ७० प्रतिशतसम्म माटोमा अम्लीय समस्या रहेको खड्काले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि पनौतीका नगर प्रमुख भिम न्यौपानेले पनौती नगरलाई समृद्द बनाउन कृषि र पशुपालनमा उन्नत तवरले बिकास गरेर मात्र सम्भव भएको उल्लेख गर्दै नगरपालिकाको आर्थिक सहयोगमा माटो परिक्षण र कृषि चुन वितरण गरिएको र आगामी दिनमा पनि कृषि र पशुपालनका हरेका कार्यक्रममा नगरपालिकाले कृषकसंग हातमा हात मिलाउदै अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कृषि ज्ञान केन्द्रका तर्फबाट तेज प्रसाद दवाडीले माटोको अम्लीयकरण रोक्न सकियो भने पनि कृषि उत्पादनमा दोब्बर वृद्धि हुने धारणा व्यक्त गर्नुभयो ।
संकलित नमुना विश्लेषण गर्न उपकरणहरू जडित घुम्ती प्रयोशालाबाट माटोको पी.एच प्रांगारिक पदार्थ, नाईट्रोजन, फस्फरस र पोटासको परिक्षण गरिएको थियो । माटो दिवसको अवसरमा माटो तथा मल परिक्षण प्रयोशाला हेटौडाको तर्फबाट १० मेट्रिक टन र पनौती नगरपालिकाबाट १० मेट्रिक टन गरी २० मेट्रिक टन कृषि चुन र केहि कृषि तत्वहरु निःशुल्क वितरण गरिएको थियो । कृषि तथा पशु बिकाश समितिका संयोजक एवं पनौती नगर वडा नं १ का वडाअध्यक्ष गुणनाथ सापकोटाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्ले, बरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारी, नगरपालिकाका कृषि तथा पशुपंक्षी शाखा प्रमुख मणिप्रसाद सापकोटा, विभिन्न वडाका वडा अध्यक्षहरु, माटो परिक्षण संलग्न प्राविधिकहरु, किसान तथा पत्रकारहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन कृषि तथा पशुपंक्षी शाखाका प्राविधिक अधिकृत लिलानाथ सापकोटाले गर्नुभएको थियो । माटो परीक्षणमा उत्साहजनक सहभागिता जनाएका कृषकहरुले परीक्षण पश्चात प्राविधिकहरुले दिएको सल्लाह अनुसार नै खेती गर्ने बताएका छन् ।
