IMG-LOGO

ओमिक्रोन आयो भनेर ‘त्रसित नहोऔँ, जनस्वास्थ्यका मापदण्ड पालना गरौँ’

 मंगल, मंसिर २१, २०७८  ---

       सोमबार नेपालमा पहिलोपटक कोभिड–१९ विरुद्धको ओमिक्रोन भेरियन्ट भेटिएको छ । दक्षिण अफ्रिकी मुलुकबाट मसिंर ३ गते नेपाल भित्रिएका एक विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय अर्का एक नेपालीमा ओमिक्रोन संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमणका हिसाबले ओमिक्रोन भेरियन्ट एक जनाले ३५ जनासम्मलाई सार्नसक्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह बताउँछन् । नेपालमा ओमिक्रोन देखिएसँगै संक्रमणबाट बच्न जनस्वास्थ्यका सबै मापदण्डहरूको पालना गर्न र सरकारको खोप अभियानमा सहभागी हुन सबैलाई अनुरोध गरिएको छ ।

ओमिक्रोन नेपालमा फैलिएका अरू भेरियन्टजस्तै हो ?

       नेपालमा कोभिड–१९ का दुईवटा लहरमा मुख्यतः तीनवटा भेरियन्ट देखिए । त्यसमध्ये सबैभन्दा डेल्टा भेरियन्टले बढी असर गरेको थियो । डेल्टा भेरियन्ट अन्यभन्दा बढी संक्रामक र घातक देखिएको थियो । विश्व स्वास्थ्य संगठनले पनि ओमिक्रोन डेल्टाभन्दा बढी संक्रामक भएकाले समुदायमा छिटो फैलिनसक्ने भन्दै जनस्वास्थ्यका मापदण्ड कडाइका साथ लागु गर्न दक्षिण पूर्वी एसियाली मुलुकहरूलाई समेत सजग गराइरहेको छ ।

‘त्रसित नहोऔँ, जनस्वास्थ्यका मापदण्ड पालना गरौँ’

       ओमिक्रोन भेरियन्ट कोभिड–१९ कै एक उत्परिवर्तित स्वरूप हो । कोभिडका जुनसुकै भेरियन्ट देखिएपनि त्यसबाट जोगिने उपाय मास्कको प्रयोग गर्नु, भिडभाड नगर्नु, पटक पटक हात सफा गरिरहनु नै भएको विज्ञहरू बताउँछन् । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुन ओमिक्रोन पनि जोगिनसक्ने संक्रमण भएकाले पहिलेका दुईवटा लहरमा अपनाइएका उपायहरू नै फलो गर्न सुझाव दिन्छन् । कोभिड–१९ विरुद्धको खोपले पनि सिकिस्त हुनबाट जोगाउने भएकाले सरकारले खोप कार्यक्रमलाई तीव्रता दिनुपर्नेमा डा. पुनको जोड छ । जनस्वास्थ्य अनुसन्धानकर्ता डा. समीरमणी दिक्षितको पनि कोभिडको जनुसुकै भेरियन्ट आएपनि जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नु र खोपको दायरा बढाउनु नै जोगिने उपाय भएको धारणा राख्छन् । “सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुप¥यो, सरकारले बढीभन्दा बढी खोप वितरण गर्नुप¥यो जनुसुकै भेरियन्ट आएपनि त्यसबाट जोगिने उपाय यिनै हुन्,” उनले भने ।

       जोखिम वर्गमा परेका दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई बुस्टर डोज पनि दिएर जोगाउन सकिने डा. दिक्षितको भनाइ छ । सरकारले पूर्ण खोप लगाएका सबैलाई बुस्टर डोज दिने निर्णय गरिसकेको छ । प्राथमिकता क्रम छुट्याएर बुस्टर डोज खोप दिने सूची छिट्टै सार्वजनिक गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बताएका छन् ।

नेपालमा फेरि लकडाउन हुन्छ ?

       पहिलो लहरको कोभिड संक्रमणमा समुदायमा संक्रमण फैलिँदै गर्दा लकडाउन गरेको सरकारले दोस्रो लहरमा भने संक्रमण उच्च भएका बेला मात्रै लकडाउन जारी गरेको थियो । तर अहिलेको हकमा भने तत्काल लकडाउन गर्ने कुनै योजना नरहेको गृह मन्त्रालयले जनाएको छ । “नेपालमा ओमिक्रोनलाई लिएर अहिलेलाई लकडाउन गर्ने कुनै योजना छैन,” आइतबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडाले भने ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्