IMG-LOGO

सबै पालिका केन्द्रमा मतदाता नामावली संकलन सुरु

 मंगल, मंसिर २१, २०७८  ---

       के तपाईँ मतदाता नामावलीमा आफ्नो नाम लेखाउन चाँहनु हुन्छ ? त्यसो भए आफ्नो पालिकाको केन्द्रमा गएर आफ्नो नाम दर्ता गराउन सक्नुहुन्छ । काभ्रेमा यहि मंसिर १७ गतेबाट फोटो सहितको मतदाता नामावली संकलन सुरु भइसकेको छ । जिल्ला निर्वाचन कार्यालय काभ्रेले धुलिखेलमा राजनीतिक दल, पत्रकार एवं सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी गराएको हो । पुस ८ सम्म दुई चरणमा पालिका केन्द्रमा नामावली संकलन गरिने जिल्ला निर्वाचन अधिकारी उमेश कुमार राईले जानकारी दिनुभयो । पहिलो चरणमा मंसिर १७ गतेदेखी मंसिर २६ गतेसम्म बनेपा नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका तथा खानीखोला गाउँपालिका, बेथानचोक गाउँपालिका र रोशी गाउँपालिकाको केन्द्रमा मतदाता नामावली संकलन हुनेछ । यस्तै दोस्रो चरणमा मंसिर २८ गतेदेखी पुस ८ गतेसम्म मण्डनदेउपुर नगरपालिका, नमोवुद्ध नगरपालिका, चौरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिका, भुम्लु गाउँपालिका र महाभारत गाउँपालिकामा यसअघि छुटेका तथा नयाँ नाम थप्नेहरुको नामावली संकलन हुनेछ । धुलिखेल नगरपालिकामा भने जिल्ला निर्वाचन कार्यालय नजिकै रहेकाले जिल्ला निर्वाचन कार्यालयले नै समेट्ने निर्वाचन अधिकारी राइले बताउनुभयो । काभ्रेमा २ लाख ९५ हजार ५ सय ७२ जना मतदाता रहेका छन् । यसअघि २०७४ सालमा भएको निर्वाचनमा काभ्रेमा २ लाख ७२ हजार २ सय ९२ जना मतदाता थिए ।

       मतदाता नामावली संकलनको काम ६३७ स्थानीय तहका केन्द्रबाट मतदाता नामावली दर्ता गराउन सकिने निर्वाचन आयोगले जानकारी दिएको छ । त्यसबाहेक ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट हाल भइरहेको मतदाता नामावली संकलनको काम निरन्तर रहनेछ । मतदाता नामावली संकलन काम हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म सञ्चालन हुनेछ भने तराई, भित्री मधेस तथा काठमाडौँ उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुनेछ ।

       आगामी निर्वाचनको मिति घोषणा हुनुभन्दा अगावै मतदाता नामावली दर्ताको काम टुंग्याउने आयोगको तयारी छ । १२ माघमा राष्ट्रियसभाको चुनाव गर्ने तयारी छ । १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकको मतदाता नामावलीको विवरण संकलन हुनेछ भने आयोगले तोकेको मितिमा १८ वर्ष उमेर पूरा गरेका नागरिकको नाम मतदाता नामावलीमा समावेश गरिनेछ । विशेष कार्यक्रममा देशभर करिब २ हजार ३ सय कर्मचारी प्रत्यक्ष रूपमा संलग्न हुनेछन् । २० पुसभित्र सबै स्थानीय तहमा मतदाता नामावलीको संकलन कार्य सम्पन्न भइसक्नेछ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्