‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित १२ औं राष्ट्रिय जनगणना बिहीबारबाट जारी भएको छ । काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहका १३५ बडामा ६३८ जना गणक, सुपरिवेक्षक खटिएर जनगणना भइरहेको जिल्ला जनगणना कार्यालय काभ्रेका प्रमुख दिपक कोइरालाले जानकारी दिनुभयो । कार्तिक २५ गते देखि मंसिर ९ गते सम्म चल्ने गणनाका लागि १२७ जना सुपरिवेक्षक, ५११ जना गणक खटिएका छन् । विहिबार नै धुलिखेलमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जनगणनामा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै सहि विवरण उपलब्ध गराउन अपिल गर्नुभयो । एक जना गणकले दिनमा कम्तीमा १२ परिवारको लगत लिनुपर्ने हुन्छ भने जनगणनाका क्रममा प्रत्येक परिवारलाई ८० वटा प्रश्न सोधिँनेछ ।
यी प्रश्नलाई पहिलो चरणमा ‘घर तथा घरपरिवार सूचीकरण’ र दोस्रो मूल जनगणनामा ‘मुख्य प्रश्नावली’ र ‘सामुदायिक प्रश्नावली’ गरी तीन किसिमले विभाजन गरिएका छन् । काभ्रेमा ६ वटा स्थानीय तह कार्यालय स्थापना गरेर काम गरिएको छ । पुसदेखि जनगणना तथ्यांक प्रविष्टि गरिने र त्यो पूरा गर्न ६ देखि ८ महिना लाग्ने जिल्ला तंथ्याङ्ग कार्यालय काभ्रेले जनाएको छ । प्रारम्भिक नतिजा जनगणना सम्पन्न भएको तीन महिनाभित्र र सम्पूर्ण नतिजा प्रकाशनका लागि भने दुई वर्ष लाग्ने विभागको भनाइ छ । नेपालमा २०१८ सालदेखि अन्तर्राष्ट्रिय मानक तथा वैज्ञानिक पद्धतिअनुसार प्रत्येक दस वर्षमा जनगणना हुँदै आएको छ । जनगणनामा पहिलो पटक यसपालि काठमाडौं जिल्लाभरि ट्ब्यालेट प्रयोग भएको छ । देशका अन्य भागमा भने कागजी प्रश्नावली प्रयोग भइरहेको छ । विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा ‘ई–सेन्सस’ विधिबाट त्यहाँ कार्यरत कर्मचारी र आश्रित व्यक्तिको विवरण लिने बताइएको छ ।
