कानुन, न्याय तथा संघीय मामीला मन्त्री दिलेन्द्र प्रसाद बडूले बार र बेन्चबीचको विवाद तत्कालै समाधान हुनुपर्ने बताउनु भएको छ । शनिबार काभ्रेको बेथान्चोक गाउँपालिका वडा नम्बर ३ को वडा भवन र स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै मन्त्री बडूले संसद सुचारु हुन नसकेको अवस्थामा प्रमुख प्रतिपक्षी दलहरु सहयोगी बन्नुपर्ने उल्लेख गर्नुभयो । न्याय क्षेत्रमा अझै पनि संघियताको आभाष नभएको भन्दै उहाँले छिटो छरितो मितव्ययी न्याय प्रणाली बनाउन आवश्यक रहेको धारणा राख्नुभयो । संविधान अनुसार कानुन निर्माण हुन नसकेको कारण सरकारले निजामती विधेयक फिर्ता लिएर अध्यादेश ल्याउन लागेको बताउदै प्रदेश र संघीय कानुन निर्माण नभएकोले स्थानीय कानुन निर्माण हुन कठिन भएको उहाँको भनाई छ ।
कार्यक्रममा पूर्व उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले झुटा विकासको सपना कांग्रेसले नबाड्ने र बोलेका सम्पूर्ण विकासका कामहरु क्रमश पुरा गर्दै गइरहेको बताउनुभयो । नेपाली कांग्रेस काभ्रेका सभापति मधु आचार्यले कम्युनिष्ट सरकारले हावादारी सडकको शिलान्यास गरि जनतामा भ्रम फैलाएको आरोप लगाउनु भयो । विकासको नाममा अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह गर्दै उहाँले स्वर्गको टुक्रा समान वेथानचोकको विकासका लागि कांग्रेस सदैव लागिपर्ने बताउँनुभयो । वेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले स्थानीय निर्वाचनमा आफुहरुले बोलेका ८० प्रतिशत काम पुरा भएको दावि गर्नुहुँदै गाउँपालिकाको समग्र विकासमा एकजुट हुन अपिल गर्नुभयो । वडा नं ३ का अध्यक्ष दिल बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा कार्यालय निर्माणमा सहयोग पु¥याउनु हुने जग्गा दाता, व्यवस्थापन र सल्लाहकारहरूलाई सम्मान गरिएको थियो ।
गाउँपालिका उपाध्यक्ष सरिता लामिछानेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, सञ्चारकर्मी, कलाकार लगायत स्थानीयबासिहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रदेश, जिल्ला समन्वय समिति, गाउँपालिका र वडा कार्यालयको बजेट मार्फत २ रोपनी जग्गामा वडा कार्यालय र स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको छ ।
