जनचेतना युवा समूह धुलिखेल–८ वडालगाउँ, बुडोल सामुदायिक बचत र धुलिखेल वडा नं ८ को संयूक्त आयोजनामा रक्तदान तथा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । शुभ दिपावली छठ पर्व र नेपाल सम्वत ११४२ को अवसरमा शुभकामना आदान प्रदानका साथै रक्तदान कार्यक्रम र देउसी भैलो कार्यक्रम आयोजना गरिएको जनचेतना युवा समुहका सचिव रमेश प्रसाद वडालले बताउनुभयो । धुलिखेल नगरपालिकाका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जुको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष साधुराम वडालको सभापतित्वमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि व्याञ्जुले सामाजिक संघ संस्थाले सामाजिक जागरण ल्याउनुका साथै विकास निर्माण कार्यमा समेत सघाउनु पर्ने धारणा राख्नुभयो ।
स्थानीय सरकारले गैर सरकारी संस्था सँग हातेमालो गर्दै विकास निर्माण कार्यमा उपभोक्ता समिति सरहको मान्यतामा विकास निर्माणमा साझेदारी गरेर कार्य गर्न सकिने कुरा प्रमुख अतिथि व्याञ्जुले राख्नुभयो । वडा अध्यक्ष निराजन जंगम लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । सामुहिक देउसी भैलो कार्यक्रमबाट ३१ हजार ५ सय आर्थिक संकलन भएको छ । भक्तपुर रेडक्रस शाखाको प्राविधिक सहायतामा भएको रक्तदान कार्यक्रममा ४९ जना रक्तदाताले रगत दान गर्नुभएको थियो । संस्थाका मानार्थ सदस्य कृष्ण प्रसाद शर्मा, संस्थाका आजीवन सदस्यहरु मोहन गजुरेल, सागर सापकोटा, नविन वडाल, सन्तोष (रोषन) चौलागाई, नारायण वडाल लगायतले टिसर्ट छपाई र व्यवस्थापन कार्यमा सहयोग पु¥याउनु भएको थियो । यस अघि पनि संस्थाका आजीवन सदस्यहरु, स्थानीय बुद्धिजीवी र सामाजिक सेवाभाव भएका स्थानीयहरुले रक्तदान र समाजिक कार्यमा निरन्तर सहयोग पु¥याउँदै आउनु भएको कुरा संस्थाका सहसचिव नवराज वडालले बताउनुभयो ।
