नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक कात्तिक २८ मा बस्ने भएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थिति रहने कांग्रेसले जनाएको छ। बैठकमा पछिल्लो राजनीतिक अवस्था, १४औँ महाधिवेशन र समसामयिक विषयलगायतका एजेन्डा रहेको बताइएको छ ।
यसैगरी नेकपा (एकीकृत समाजवादी) ले पनि केन्द्रीय कमिटी बैठक बोलाएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा कात्तिक २७ र २८ गतेलाई बैठक तय गरिएको हो । नेकपा एसका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार संगठन विस्तार, सरकारको कामको समीक्षा, प्रदेश सरकारमा पार्टीको सहभागिता र भूमिका, न्यायालयमा देखिएको समस्या लगायतका विषय बैठकका मूख्य एजेण्डा हुनेछन् । यसअघि सचिवालयलगायतले गरेका निर्णयको पनि केन्द्रीय कमिटीमा अनुमोदन हुने बताइएको छ ।
