काठमाडौं÷‘काभ्रेका लागि केही गरौं’ भनि २०६९ सालमा स्थापना भएको काभ्रे सेवा समाजले वर्षेनी आयोजना गर्दै आएको चाडपर्वहरुको शुभकामना आदानप्रदान र काभ्रेली व्यक्तित्वहरुको सम्मान हालै सम्पन्न गरेको छ । समाजका सल्लाहकार समितिका संयोजक एवं लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेशप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न विधामा उल्लेख्यता हासिल गरेका काभ्रेलीहरुलाई सम्मान गरिएको थियो ।
यसरी सम्मानित हुनेहरुमा प्रधानमन्त्रीका प्रशासिनक सल्लाहकार जनार्दन नेपाल, नेपाली सेनाका सहायक रथी हिम्मतबहादुर बिष्ट, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक ई. नवराज प्याकुरेल, यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे, काठमाडौं विश्वविद्यालय, स्कूल अफ मेडिकल साइन्सेजका एसोसियट डीन प्राडा. मनोज हुमागाईं, चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दयाराम दाहाल, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बल र नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिना रहेका छन् ।
समाजका अध्यक्ष नारायण महत क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सम्मानित व्यक्तित्वहरुमध्येबाट जनार्दन नेपाल, शहरी विकास तथा यातायात सचिव रविन्द्रनाथ श्रेष्ठ, नेपाली सेनाका रथी बलदेवराज महत, समाजका महासचिव मधुसुधन गुरागाईंलगायतले चाडपर्वका शुभकामना व्यक्त गर्नु भएको थियो । सोही अवसरमा समाजका सल्लाहकार विश्वनाथ उलकले खोजी गर्नु भएको भगवान नीलकण्ठ(महादेव)को समुद्र मन्थनमा कालकूट विष सेवनपछिको यात्रादेखि कैलाशकूट पर्वतसम्मको यात्राको क्रममा छुटेका नीलकण्ठ पदचिह्न खोजीकार्यको प्रस्तुतिकरण गरिएको थियो ।
