काभ्रे –साहित्यकार सूर्यप्रसाद लाकोजूको नयाँ कृति मकरको कथा र स्टोरी अफ मकरको परिचर्चा कार्यक्रम वरिष्ठ साहित्यकार मोहन दुवालको प्रमुख आतिथ्यमा हालै सम्पन्न भएको छ । लामो समयदेखि नेपाली भाषा र साहित्यमा सक्रिय रहँदै आएका लाकोजूले बालबालिकाहरूलाई पुराना आख्यान, संस्कृति आदिको जानकारी दिने हेतुले सो पुस्तक प्रकाशन गरेको साहित्यकार सूर्य लाकोजूले बताए । नेपाली र अंग्रेजी भाषामा प्रकाशित सो पुस्तक पनौतीमा यो वर्ष लाग्ने १२ वर्षे मकरमेलाको सन्दर्भ मिलाएर प्रकाशन भएको छ । पुस्तकमा कथाको विषय बस्तु अनुसारको चित्र राखिएका छन । प्रकाश रंजितको चित्र रहेको उक्त पुस्तक आकर्षक देखिन्छ ।
कार्यक्रममा पुस्तकमाथि चर्चा गर्दै साहित्यकार द्वय गिता रेग्मी र रामसुन्दर देउजाले पुस्तक बालोपयोगी रहेको बताए । दुई दर्जनभन्दा बढी कृतिका सर्जक लाकोजूले नेपाली साहित्यका मुक्तक, कविता, निबन्ध, हाइकु, नियात्रा, अनुसन्धान, अनुवाद कथा जस्ता विधामा कलम चलाउँदै आएका छन् । लाकोजू लामो समयदेखि साहित्यिक पत्रकारितामा समेत कृयाशिल रहँदै आएका छन ।
