नेपाली काँग्रेस पनौती नगर कार्यसमिति र बनेपा नगर कार्यसमितिमा नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई बधाई, शुभकामना तथा पद हस्तान्तरण कार्यक्रममा सम्पन्न भएको छ । असोज ९ गते भएको पनौती नगर समितिको अधिवेशनले पुनः रामशरण भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको थियो भने बनेपा नगर कार्यसमितिमा महेश कर्मचार्य निर्वाचित भएका छन । दुबै कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले तत्कालै स्थानीय तहको निर्वाचन आएकोले फुर्सद गरेर बस्ने अवस्था नरहेको बताउनुभयो । नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई बधाई, शुभकामना दिदै केन्द्रीय सदस्य हुमागाईले नेपाली काँग्रेस नगर समितिमा निर्वाचित कार्यसमितिलाई स्थानीय निर्वाचनमा केन्द्रीत हुन निर्देशन दिदैँ पार्टीका सबैलाई समेटेर अगाडि बढ्न अनुरोध गर्नुभएको थियो । प्रजातन्त्रवादीको विजय नहुँदा विकास निर्माणमा पछि परेको भन्दै हुमागाईले काभ्रेका १३ पालिकामा चारतारे झण्डा फहराई चुनावी माहोलमा उत्रीन निर्देशन दिनुभयो । कार्यक्रममा पूर्व उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादे, जिल्ला उपसभापति अच्युत प्रसाद पौडेल, गोविन्द बहादुर थापा, जिल्ला सचिव दिनेश लामा, विदुर बञ्जारा, सहसचिव ईश्वरी ओझा, नव निर्वाचित क्षेत्रिय प्रतिनिधिहरु, वडासभापतिहरु, भातृ एवं शुभेक्छुक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
