नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनताको पक्षमा सँगै लड्न प्रस्ताव गर्नुभएको छ । शनिबार अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघको सातौँ राष्ट्रिय सम्मेलनलाई बनेपाको लायकु मञ्चमा सम्बोधन गर्दै उहाँले अहिलेकै अवस्थामा सहकार्य सम्भव नभएको भन्दै जनताको पक्षमा सँगै लड्न प्रस्ताव गर्नुभयो । देश र जनताको बारेमा फैसला लिने बेला दिल्लीका मालिकसँग साँठगाँठ गरेपछि विद्रोह गर्नुपरेको स्मरण गर्दै विप्लवले एनसेलप्रति निकै आक्रामक अभिव्यक्ति दिनुभयो । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले वैज्ञानिक समाजवाद स्थापित गरेरै छाड्ने उद्घोष गर्दै श्रमजीवि मजदुरहरु माथिको हेपाइलाई सहन नसक्ने बताउनुभयो । बनेपा चारदोबाटो हुँदै बाजागाजा सहित लायकु मञ्च प्रवेश गरेका नेपाल कम्युनिष्ट पार्टीका (अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघ) समर्थित युवा, मजदुरहरुले श्रममाथिको विभेद, शासक वर्गले पिडा दिएको भन्दै सो लक्षित नारावाजी गरेका थिए ।
