प्रजातन्त्र स्थापना हुनुभन्दा पहिला नै स्थापना भएको विद्यालयको भारत सरकारले पुनःनिर्माण गरेर सहयोग गरेकोमा पूर्व मन्त्री गोकुल बास्कोटाले भारत सरकारलाई धन्यवाद ज्ञापन गर्नु भएको छ । बनेपाको आजाद माध्यमिक विद्यालयको परिसरमा भुकम्पबाट क्षतिग्रस्त भएका काभ्रेपलाञ्चोक जिल्लाका ६ वटा सामुदायिक विद्यालयको भवन पुनःनिर्माण गरेर हस्तान्तरण गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बास्कोटाले भौतिक पूर्वाधार सम्पन्न भएपछि अब शैक्षिक सुधारका लागि सबै मिलेर लाग्नुपर्ने बताउनुभयो । बनेपा नगरपालिकाको आजाद माध्यमिक विद्यालय, पनौती नगरपालिकाको शारदा माध्यमिक विद्यालय, चौरी देउराली गाउँपालिकाको खाँडादेवि माध्यमिक विद्यालय, पाँचखाल नगरपालिकाको दुग्धेश्वर माध्यमिक विद्यालय, आजाद माध्यमिक विद्यालय र भगवती माध्यमिक विद्यालयको पुननिर्माण सम्पन्न गरेर विद्यालय व्यवस्थापन समितीमार्फत समुदायलाई बुधबार हस्तान्तरण गरिएको छ ।
काभ्रे निर्वाचन क्षेत्र नं १ का संघीय सांसद गंगाबहादुर दोङ, पूर्व उद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादे, भारतीय विदेश विभाग सहसचिव अनुराग श्रीवास्तव, बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिं वादे, राष्ट्रिय पुनः निर्माण प्रधिकरणका निर्देशक रामशरण सापकोटा, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य ध्रुवप्रसाद शर्मा लगायतको उपस्थितीमा समुदायलाई भवन हस्तान्तरण गरिएको हो । भारत सरकारको आर्थिक सहयोगममा काभ्रेमा ६ वटा विद्यालयलाई आवश्यक रहेको भवनसँगै शौचालय, कम्पाउण्ड, फर्निचरको लागि २५ करोड भन्दा धेरै लगानी गरिएको बताइएको छ । नेपालका आठ जिल्लामा भूकम्पले क्षति पुर्याएका शैक्षिक संस्थाको पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाए अनुसार यी विद्यालयहरु पुनःनिर्माण गरिएका हुन् । हालसम्म १४ वटा विद्यालयहरुको निर्माण भइसकेको छ भने ५६ वटा विद्यालयमा निर्माण कार्य भइरहेको छ । आजाद माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द तिमल्सिनाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।
