काभ्रे। नेपाल मजदुर किसान पार्टी पाँचखाल नगर समितिको आयोजनामा देशघाती एमसीसी सम्झौताविरुद्ध पाँचखाल तामाघाटमा शनिबार जुलुस प्रदर्शन गरेको छ । जुलुस बजार परिक्रमा पश्चात समाज कल्यान चोकमा पुगेर जनसभामा परिणत भएको थियो ।सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले एमसीसी आर्थिक सहयोग हो भने किन नेपाली टेलिभिजन च्यानललगायत विभिन्न च्यानलहरुबाट विज्ञापन प्रसारण गर्नु प¥यो, अमेरिकी चेली फातिमा सुमारले किन प्रचण्ड, ओली, नेपाल, देउवालगायतका नेताहरुको घर घरमा पुगेर किन दबाब दिनु पर्ने भनि प्रश्न गर्नुभयो ।
यो देशमा डलर कमाएर विज्ञापन दिने एक थरी छन् भने अर्को त्यही डलर खाएर यो देशमा एमसीसीको विरोध हुनु भनेको दुर्भाग्यपूर्ण भनि हिँड्ने देशद्रोहीहरुपनि भएको सांसद गोसाईले बताउनुभयो ।नेमकिपा काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले एमसीसी सम्झौता देशघाती भएको आजका युवा विद्यार्थीहरुले प्रष्टसँग बुझिसकेको मात्र नभई प्रम देउवा, ज्ञानेन्द्रबहाद्ुर कार्की लगायत एमसीसीका मतियारहरुलाई बुझाउन पनि सक्षम भईसकेको बताउनुभयो ।
सभामा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय संयोजक प्रकाश गुरुङ, सुरेश परियार, मुना तामाङ, नेमकिपा पाँचखाल नगर समितिका अध्यक्ष धनबहादुर तामाङले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता खारेज गर ! अमेरिकी साम्राज्यवाद मूर्दावाद ! एमसीसीका मतियारहरु होसियार ! अमेरिकी सैन्य गठबन्धन चाहिँदैन ! जलविद्युत माफियाहरु होसियार ! एसियालाई युद्धभूमि बनाउन दिँदैनौँ ! जयसिंहको हत्यारालाई कारबाही गर ! भारतीय विस्तारवाद मूर्दावाद ! वैदेशिक हस्तक्षेप बन्द गर ! सम्पूर्ण देशभक्त जनता एक होऔँ ! नेपाल मजदुर किसान पार्टी जिन्दावाद ! लगायतका नाराहरु लगाएका थिए ।
