एमसीसी संझौताको विरोध गर्दै नेपाल मजदुर किसान पार्टी काभ्रेले बुधबार जुलुस तथा सभा सम्पन्न गरेको छ । नेमकिपा केन्द्रीय सदस्य रविन्द्र ज्वाख्वको प्रमुख आतिथ्यतामा बनेपा बसपार्कबाट शुरु भएको जुलुस लायकु ,पुरानो बजार, चारदोबाटो हुँदै पुनः बसपार्कमै पुगेर कोण सभामा परिणत भएको थियो । कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी संघ केन्द्रीय संयोजक प्रकाश गुरुङ, पूर्व केन्द्रीय सदस्य मुना तामाङ, नेमकीपा काभ्रे उपाध्यक्ष पुण्यशोभा श्रेष्ठ, जिल्ला सदस्य भोला खरेल लगायतले एमसीसीको विरोध गर्दै यो प्रावधान नेपालको सार्वभौमिकता माथि अमेरिकी हस्तक्षेप हुने दावि गरे । देशघाती एमसीसी सम्झौताको विरोध गर्न सम्पूर्ण नेपाली जनतालाई आग्रह गर्दै उनीहरुले देश बचाउन र स्वामित्व रक्षाका लागि सम्पूर्ण देशभक्त नेपालीहरु एकजुट हुनुपर्ने धारणा व्यक्त गरे । नेमकीपा काभ्रेका अध्यक्ष कृष्ण कुमार बैद्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन बनेपा नगरसमिति सचिव ओमप्रसाद मानन्धरले गर्नुभएको थियो ।
