जिल्ला सहकारी संघ लि. काभ्रेको ४० औं वार्षिक साधारण सभा तथा ५४ औं स्थापना दिवस शनिबार बनेपामा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष एवं अन्तराष्ट्रिय सहकारी महासंघका सदस्य ओमदेवी मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वार्षिक नीति, योजना तथा कार्यक्रम अध्यक्ष दिलिप शर्माले, वार्षिक प्रगति प्रतिवेदन सचिव निरञ्जन विष्टले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष राजन शाक्यले, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा तथा सुपरिवेक्षण समितिका संयोजक शम्भुलाल श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । जिल्लाका सहकारी संस्थाका प्रतिनिधीहरु सहभागी भएको साधारण सभामा दुग्ध विकास वोर्ड कार्यकारी उपाध्यक्ष टिकावल्लभ सापकोटा, राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर लामा, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि केसी, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, बागमति प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटा, केन्द्रीय तरकारी विउ उत्पादक सहकारी संघका अध्यक्ष एवं सल्लाहकार विनोद पराजुली, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष विधान जोशी, जिल्ला दुग्ध उत्पादक संघका अध्यक्ष नारायण वडाल, कोअपरेटिभ म्यानेजर्स क्लवका अध्यक्ष विवेकराज ठकुरी, जिल्ला सहकारी संघ लि. का कार्यसमिति सदस्यहरु लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कोपरेटिभ म्यानेजर्स क्लबका सञ्चालक समिति, बागमति प्रदेश बचत तथा ऋण सहकारी संघमा काभ्रेबाट नेतृत्व गर्ने पदाधिकारी, बागमती प्रदेश सहकारी संघमा जिल्लाबाट नेतृत्व गर्ने पदाधिकारी र नेपाल पत्रकार महासंघ काभ्रे शाखाबाट निर्वाचित सम्पूर्ण पदाधिकारीहरु, संरक्षित पूँजी फिर्ता कोषबाट उत्कृष्ट हुने ६ वटा संस्थाहरुलाई सम्मान गरिएको थियो ।
जिल्लामा रहेका मजदुरहरुलाई समेटि श्रमिक सहकारीहरुको प्रवद्र्धन गर्ने, संघको जग्गामा १ वर्ष भित्र सुविधा सम्पन्न भवन निर्माण गरिसक्ने,सहकारीमा महिला तथा युवा सहभागितालाई जोड दिइने लक्ष्य लिएको संघले चालु आ.व.मा १ करोड १२ लाख ३७ हजार बचत(नाफा) गर्ने लक्ष्य लिएको छ । जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष अमन पोटे श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभयो भने सचिव निरञ्जन विष्टले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
