काभ्रे बनेपा–८ जन्मिएर न्यूयोर्कको ब्रुकलिन कलेजमा कार्यरत भौतिक शास्त्रका प्रा डा मिमलाल नकर्मीले अमेरिकाको प्रतिष्ठित नेशनल साइन्स फाउन्डेसनबाट १ लाख ५९ हजार डलर (करिब १ करोड ८९ लाख रुपियाँ) राशिको पुरस्कार पाउनु भएको छ । एनएसएफ अमेरिकाको सङ्घीय सरकार मातहतको राष्ट्रिय विज्ञान प्रतिष्ठान हो। वैज्ञानिक अनुसन्धानको लागि दिने एनएसएफ अवार्डलाई निकै प्रतिष्ठित मानिन्छ । यो पुरस्कारको राशि डा नकर्मीले अध्ययन अनुशन्धानमा खर्च गर्नु हुनेछ । यो सम्मान सबै बनेपालीको गौरव नभएर काभ्रे र देशकै गौरव हो ।
डा मिमलाल नकर्मीले अमेरिकाको क्यान्सस स्टेट युनिभर्सिटीबाट भौतिकशास्त्रमा पिएचडी गरेर ब्रुकलिन कलेजमा सन् २००७ देखि प्राध्यापन र अनुसन्धान गरिरहनु भएको छ । डा नकर्मीले अमेरिका आउनु अघि करिब ६ वर्ष काठमाडौँ विश्वविद्यालय प्राध्यापन र चैतन्य बहुमुखी क्यापसमा पनि पढाउनु भएको थियो । पुरस्कार पाउँदा कस्तो अनुभूति भएको छ भनेर काभ्रे टाइम्सको प्रश्नमा उहाँले भन्नुभयो – मलाइ यो पुरस्कारले आफ्नो क्षेत्रमा अध्ययन अनुशन्धान गर्न थप प्रेरणा मिलेको छ । मेरो सफलतामा खुशी हुदै बधाई र शुभकामना दिने सबैलाई हार्दिक धन्यवाद ।
