भकुण्डेबेशी-नमोबुद्ध नगरपालिका ४ मा रहेको मेथिनकोट अस्पतालमा सुविधासम्पन्न आकस्मिक कक्ष निर्माण गरिएको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएको र उनीहरुलाई सहजरुपमा सेवा पुर्याउने उद्देश्यले आकस्मिक कक्ष निर्माण गरिएको हो । आकस्मिक कक्षको बिहीबार आयोजित एक कार्यक्रमका बीच नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घाटन गरेका छन् । बागमति प्रदेश सरकारको आर्थिक सहयोगमा भ्याटबाहेक १२ लाख २२ हजार ३ सय ९५ रुपैयाँमा आकस्मिक कक्ष निर्माण गरिएको हो ।
कार्यक्रममा नगर प्रमुख तिमल्सिनाले तत्कालिन समयमा मेथिनकोट अस्पताललाई क्षेत्र नंवर १ को क्षेत्रीय अस्पतालको रुपमा स्थापना गरिएको स्मरण गर्दै अहिले प्रदेशस्तरीय अस्पताल बनाउन सफल भएको बताए । निकट भविष्यमा नै १ सय शैयाको अस्पतालको रुपमा विकसित गर्न काम सुरु भइसकेको उनले बताए । अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको काम अन्तिम चरणमा पुगेको तिमल्सिनाले बताए । कार्यक्रममा मेथिनकोट अस्पतालका अध्यक्ष कृष्ण खनालले चाँडै अस्पतालमा बर्थिङ सेन्टरसमेत छुट्टै स्थापनाको काम हुने बताए । कार्यक्रममा नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, नमोबुद्ध ४ का वडा अध्यक्ष उद्धवप्रसाद काफ्ले, वडा नं. ७ का वडा अध्यक्ष धर्मसिं लामा, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सागर जर्घामगर लगायतको उपस्थिति रहेको थियो ।
