नेपाली काँग्रेसको वडा अधिवेशन आउन ३ दिन बाँकी रहेता पनि क्रियाशिल सदस्यताको विवाद अझै अन्यौलमा परेको छ । काभ्रे जिल्लाको १३ वटा स्थानीय तहका १ सय ३५ वडाहरुमा हुने वडा अधिवेशनका लागि आन्तरिक तयारी पुरा भइ सकेको जानकारी नेपाली कांग्रेस काभ्रेका प्रवक्ता महेश पौडेलले दिनुभयो । केन्द्रीय प्रतिनिधिको छनौट, मतदाता नामावली एवं निर्देशिकाको पर्खाइमा जिल्ला शाखा रहेको भन्दै प्रवक्ता पौडेलले पनौती-५, चौरीदेउरालीको-विर्तादेउराली,पाँचखाल-१२ मा देखिएका सामान्य विवादहरुको समाधान १/२ दिन भित्रमै केन्द्रीय तहले गर्ने आश्वासन पाएको पनि उल्लेख गर्नुभयो । यहि भाद्र १८ गते हुनुपर्ने वडा अधिवेशनका लागि काभ्रे जिल्ला तहले भने आफ्नो आन्तरिक कार्य जारी राखेको बताईएको छ । नीतिगत विवाद नभएपनि अन्य समस्याहरु समाधान हुने भन्दै नेपाली कांग्रेस काभ्रेका जिल्ला सचिव दिनेश लामाले भाद्र १८-२२ गते बिचको अनुकुल समयमा वडा अधिवेशन भव्यताका साथ सम्पन्न हुने काभ्रे टाइम्सलाई जानकारी दिनुभयो ।
केन्द्रीय निर्वाचन समितिको छनौट पश्चात जिल्ला शाखाको समन्वयमा वडा अधिवेशन भाद्र २२ गते सम्ममा सम्पन्न हुनेछ । यसैगरी नेपाली कांग्रेसको पालिका अधिबेशन भाद्र २७ गते, प्रदेशसभा क्षेत्रको क्षेत्रीय अधिवेशन असोज १ गते, क्षेत्रीय अधिबेशन असोज ५ गते, जिल्ला अधिबेशन असोज १० गते, सात प्रदेश अधिबेशन कार्तिक १० ,११ र १२ गते, केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गते काठमाडौंमा हुने तय भइसकेको छ । यसअघि भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्को महाधिवेशन मिति तोकेको हो ।
